भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित

मा प्रकाशित


काठमाडौँ ।
भारतको हरियाणा राज्यको नारनौलमा नेपाली साहित्यकार सम्मानित भएका छन् । यही २२ अक्टोबर, २०१७ (५ कार्तिक, २०७४) मनुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा इन्डो नेपाल विशिष्ट प्रतिभा सम्मान समारोहमा नेपाली साहित्यकार सम्मानित भएका हुन् ।

वीरपालसिंह चौहानको अध्यक्षतामा सम्पन्न भएको यस सम्मान समारोहको प्रमुख अतिथि भारत सरकार, लोकसभाका सदस्य चौधरी धर्मवीर सिंह रहनुभएको थियो भने अतिथिमा गोविन्द भारद्वाज, डा. दलेर सिंह, डा. हामिद अख्तर, डा. डी. पी. वत्स, डा. अमित गुप्ताका साथै ट्रस्टका प्रमुख डा. रामनिवास मानव रहनु भएको थियो । सो सम्मान समारोहमा विभिन्न वक्ताले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

समारोहमा नेपालबाट आमन्त्रित साहित्यकार डा.पुष्करराज भट्ट, वीरबहादुर चन्द, हरिशप्रसाद जोशी एवम् लक्ष्मीप्रसाद भट्टलाई डा. मनुमुक्त स्मृति सम्मान प्रदान गरिएको थियो । सो समारोहमा भारतका १९ प्रान्तका एवम् नेपालका ६० जना विभिन्न क्षेत्रका विशिष्ट प्रतिभालाई सम्मान गरिएको थियो ।

डा. रामनिवास मानवले आफ्ना दिवंगत पुत्र डा.मनुमुक्त मानवको सम्झनामा यो सम्मान स्थापना गर्नुभएको हो । इस्वी सम्वत २३ नवम्बर १९८३ मा जन्मेका डा. मनुमुक्त मानव भारत सरकारको आइपिएस अफिसर (हिमाञ्चल कैडर) रहेका थिए । उनको इस्वी सम्वत २८ अग्रस्त, २०१४ का दिन हैदराबादमा निधन भएको थियो ।

उनका पिता, हिन्दीका विशिष्ट विद्वान डा. रामनिवास मानवले आफ्ना पुत्रको सम्झनामा विभिन्न पुरस्कारको स्थापना, सभाकक्षको निर्माण एवम् पुस्तकालय सञ्चालन गर्नुभएको छ । यसको साथै विभिन्न सामाजिक कार्यमा समेत उहाँको संलग्नता रहेको छ । डा. रामनिवास मानवले हिन्दी साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । उहाँको साहित्य लेखनका बारेमा १९ जनाले विद्यावारिधि एवम् ५० जनाले एमफिल अनुसन्धान समेत सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!