बैतडीमा प्राविधिक शिक्षाका लागि रामलीला महोत्सव

मा प्रकाशित


बैतडी ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा १ गुरुखोलास्थित मणिलेक माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि रामलीला महोत्सव आयोजना गरिएको छ। प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको र यसमा ग्रामीण क्षेत्रका बालबालिकाको पनि पहुँच पुर्याउनका लागि रामलीला महोत्सवको आयोजना गरिएको महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिका संयोजक वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले बताए।

रामलीला महोत्सवमा सहभागी भएकाले दिएको दानबाट संकलित रकम विद्यालयलाई प्रदान गरिने वडा अध्यक्ष भट्टले बताए। ‘रामचन्द्र भगवानको जीवनगाथामा आधारित लीला प्रर्दशन गरिरहेका छौं। यसले समाजलाई सत्यको बाटोमा हिडाउन प्रेरित गर्नुका साथै सत्कर्मका लागि प्रेरित गर्दछ,’ उनले भने, ‘प्राविधिक शिक्षालय स्थापना पनि सत्कर्मको काम नै भएकाले हामीले धार्मिकलीला मार्फत यो अभियान चलाएका हौं।’

यही असोज १५ गतेदेखि सञ्चालन भइरहेको रामलीला महोत्सवमा अहिलेसम्म ७ लाख बढी दान संकलन भइसकेको आयोजकले जनाएको छ। ‘रामलीला महोत्सवमा सहभागी हुने दर्शनार्थीले आफूखुशी दान गरिरहेका छन्। यसले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि सहज हुनेछ,’ विद्यालयका प्राचार्य त्रिभुवनसिंह रावलले भने, ‘हामी लगत्तै यसपछि प्राविधिक शिक्षा सञ्चालनको प्रक्रियामा जान्छौं। दलित,गरीब समुदायका नागरिकलाई गाउँकै विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाउने वातावरणको सिर्जना गर्दछौं।’

असोज २९ गतेसम्म हुने रामलीला महोत्सवमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको रामलीला महोत्सवका वक्ता पदमराज भट्टले बताए। रामलीला नाटकले पारिवारिक समझादारी कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भट्टले बताए। उनले भने ‘रामलीला नाटकमा छोराले बुवाको आज्ञा पालनाको शिक्षा, दार्जुले भाइको आज्ञापालनको शिक्षा र जीवनको मार्यादाका बारेमा सिकाएको छ। यी चीजको अनुकरण गर्न सके हाम्रो समाजमा हुने विभिन्न खालका अपराधमा पनि कमी आउनेछ।’

दशरथचन्द नगरपालिकाको वडा१ मा २८ बर्षपछि रामलीला महोत्सवको आयोजना भएकाले अवलोकन गर्ने दर्शनार्थीको घुइँचो लागेको हो। यो समाचार भगीरथ अवस्थीले आजको अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!