Facebook Twitter Google+ Google+
DHO

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

medicineAdvertise Here

बैतडी ।

जिल्लाको सिगास गाउँपालिका २ का कृष्ण कामी आफ्नो १९ वर्षीय बिरामी छोरो लिएर गाँजरी स्वास्थ्यचौकी पुगे तर स्वास्थ्यचौकीमा सिटामोलसमेत नहुँदा रित्तै फर्कनु पर्‍यो । नजिक मेडिकलसमेत नहुँदा कृष्णले छोरोको उपचारका लागि डडेलधुरा धाउनु पर्‍यो । उनले भने, ‘छोरोलाई ज्वरो आएपछि स्वास्थ्यचौकीमा पुर्‍याएँ तर औषधि नभएपछि खाली हात फर्किनुपर्‍यो ।’ यो समाचार भगीरथ अवस्थीले आजको अन्नपूर्णमा लेखेका छन् ।

कृष्णजस्तै लाल चुनार र मानमती ऐर पनि ज्वरोको औषधिसमेत नभएपछि स्वास्थ्यचौकी पुगेर रित्तो हात फर्किए । स्वास्थ्यचौकीमा औषधि नहुँदा बिरामीहरूलाई बिनाऔषधि फर्काउनुपरेको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले बताए । उनले भने, ‘स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव छ । बिरामीहरू गाली गरेर फर्कछन् । स्वास्थ्यचौकीको भवन मात्रै ठूलो छ । खोई औषधि ? भन्छन् ।’

गाँजरी स्वास्थ्यचौकीजस्तै जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि समयमै औषधि खरिद नहुँदा अभाव भएको हो । औषधि खरिद गरेका स्थानीय तहहरूमा पनि एक महिनाका लागि मात्रै औषधि पुग्ने अवस्था रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए ।

उनले भने, ‘अहिले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव छ । चार लाख रुपैयाँको औषधि किनेर वितरण गर्ने तयारी गरेका छौं तर त्यो औषधि एक डेढ महिनामै सकिन्छ । त्यसपछि के गर्ने भन्ने विषयमा निकै अन्योल छ ।’ सिगास गाउँपालिकाका सबैजसो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको स्वास्थ्य संयोजक महेश भट्टले बताए । उनले भने, ‘औषधि खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौं तर थोरै रकम भएकाले औषधि पार्याप्त मात्रा पूर्ति गर्न सकिने अवस्था छैन ।’

जिल्लाका पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरू स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले औषधि खरिद गर्न बाँकी छ । यी स्थानीय तहले औषधि खरिदका लागि बल्ल प्रक्रिया सुरु गरेका छन् । औषधि खरिद गरेका स्थानीय तहमध्ये पुरचौडी, मेलौली र पञ्चेश्वरले वितरण गर्न बाँकी छ ।

औषधि खरिद गर्न रकम अपुग भएको र कर्मचारीसमेत नहुँदा प्रक्रिया ढिलो भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तर्कराज भट्टले बताए । उनले भने, ‘औषधि खरिद प्रक्रिया सुरुवात नहुँदै कार्यकारी अधिकृतको सरुवा भयो । नयाँ कार्यकारी अधिकृत आएका छन् । अब औषधि खरिद प्रक्रिया सुरु हुन्छ । औषधि खरिदका लागि दुई लाख असी हजार रुपैयाँ मात्रै बजेट छ । ६ वटा स्वास्थ्य संस्थामा एक महिनाका लागि पनि औषधि पुग्दैन ।’

स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव छ । बिरामीहरू गाली गरेर फर्कछन् । स्वास्थ्यचौकीको भवन मात्रै ठूलो छ । खोई औषधि ? भन्छन् ।
जनकसिंह धामी, इन्चार्ज गाँजरी स्वास्थ्यचौकी

डिलासैनी गाउँपालिकामा पनि औषधि अभाव रहेको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त कबदारले बताए । उनले भने, ‘सरकारले स्वास्थ्यचौकीमार्फत ३६ प्रकार औषधि निःशुल्क दिने भनेको छ तर अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा अभाव छ । औषधि खरिद प्रक्रिया सुरु भएको छ । तिहारअघि केही अभाव कम गर्न सकिन्छ ।’

सरकारले स्थानीय तहमै औषधि खरिद गर्न रकम पठाएको भए पनि निकै थोरै रकम भएकाले खरिद गरिने औषधि एक महिनाभन्दा बढी नपुग्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए । उनले भने, ‘सरकारले स्थानीय तहमा औषधि खरिदका लागि पठाएको रकमले नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका लागि एक महिना पनि धान्दैन । पछि के गर्ने भन्ने अन्योलमा छौं । अहिले पनि सबै स्वास्थ्य संस्थामा औषधि अभाव छ ।’

जिल्लाका स्वास्थ्य संस्थामा साउनमा जिल्ला स्वास्थ्य कार्यालयले केही औषधि पठाएकाले अहिलेसम्म जेनतेन चलिरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य सहसंयोजक भट्टले बताए । उनले भने, ‘अहिले सिटामोलसमेत अभाव छ । बिरामी स्वास्थ्य संस्थामा आउँदा बिनाऔषधि फर्काउनु परेको छ ।’

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी
  • एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण
  • सत्ता कब्जा गर्दैनौं : दाहाल
  • छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया
  • यस्ता छन् २५ वर्षयताका घोषणापत्र
  • भोट बदर हुने चिन्ता
  • नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?
  • यी हुन् कांग्रेसका समानुिपातिक उम्मेदवार