बालविवाहविरुद्ध यसरी जुटे बैतडीका किशोरी



बैतडी ।

बालविवाहविरुद्ध बैतडी जिल्लाका किशोरी एकजुट भएका छन् ।  किशोरीहरुको दुईदिने जिल्ला सम्मेलनले बालविवाह हटाउन ठोस रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा बिहीबार र शुक्रबार चलेको जिल्लास्तरीय सम्मेलनले बाल विवाहविरुद्ध एक भएर लाग्ने निर्णय गरेको हो।

सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासिनी गाउँपालिका तथा पाटन, मेलौली र दशरथचन्द नगरपालिका किशोरी सम्मेलनमा सहभागी थिए।  बालविवाहविरुद्ध एकैपटक सबैले हातेमालो गरेकाले नागरिकस्तरमै बालविवाह समाजिक अपराध हो भन्ने चेतनाको विकास भएको दशरथचन्द नगर बाल सञ्जालकी अध्यक्ष निशा भट्टले बताइन्।

‘अहिले सबैले बालविवाह न्यूनीकरणका लागि काम गरे, अहिले बालविवाहलाई समाजले बहिष्कार गर्नसक्ने भएको छ’, उनले भनिन् ।  जिल्ला किशोरी सञ्जाल गठन सम्मेलनले जिल्लाका सरोकावालासँग अन्तरक्रिया, किशोरी बृत समूहले गरेका कार्यहरुको आदानप्रदान, भावी रणनीति तय गरेको छ । साथै जिल्ला किशोरी सञ्जाल गठन गरिएको छ।

सीता भट्टको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठनगरिएको हो । बालविवाह न्यूनीकरण अभियानलाई गति दिन सञ्जालले काम गर्नेछ । सम्मेलनमा किशोरीका समस्या समाधानका लागि सरोकारवाला निकायलाई दबाब दिएको र सामाजिक कुरीति तथा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि किशोरीको भूमिकाबारे छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । – थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)