सुरु भयो बडादसैं : आज घटस्थापना

मा प्रकाशित


काठमाडौं, यसपालिको बडादसैं आजबाट सुरु भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको हो । घटस्थापनासँगै आजैदेखि नवरात्रसमेत सुरु भएको छ ।

घरघरमा लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ।

घटस्थापनाका दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत रहेको छ । घटस्थापनाको अघिल्लो दिन बुधवार सोह्र श्राद्ध सकिएपछि बिहीवारदेखि नवरात्र सुरु भएको हो।

दसैंलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ। दसैंमा शक्तिस्वरूपा दुर्गा भवानीका नौ रूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिन्छ।

घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन प्रसादको रुपमा टिकासँगै ग्रहण गरिन्छ। जमरा राखिएको स्थानमा दैनिक पुजा तथा स्तोत्र पाठ गरिन्छ। सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीको दिन भने जमरा राखिएको घर वा स्थानमा बलि दिने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: