भन्किएका मान्छेहरु

मा प्रकाशित


झिँगा त भन्किन्छन् नै । त्यो उनिहरुको प्रकृतिनै हो यदि हामीले सरसफाईमा ध्यान दिएनौं भने । कित फोहरमा झिँगा भन्कीन्छन कित गुलियोमा । त्यसैले फोहरलाई सफा गरौं अनि गुलियोलाई सुरक्षित गरौं ताकी झिँगाहरु नभन्कियुन । तर मान्छेमा मान्छे भन्किएको देख्दा पो अचम्म लाग्छ । कसलाई सफा गर्ने कसलाई सुरक्षित गर्ने भ्याउ पाउनै गाह्रो । हुन त कसैले भन्लानकी ती भन्किएका होईनन् ती त शक्तिको परिक्रमा गरिरहेका हुन । हुन पनि हो, सबैले बलेकै आगो ताप्छन तर आगो ताप्नु र भन्किनुमा फरक छ ।

प्रशंग हो शेर वहादुर देउवा प्रधानमन्त्री वनेको क्ष्यणको । उनी प्रधानमन्त्री हुने पक्कापक्की भई सके पछि सदनमा आफुलाई वरिष्ठ नेता हुँ भन्नेहरु पनि उनै माथी नजर टेकाउँदै उनैको ओरीपरी चक्कर काटिरहेका देखिन्थे अथवा शक्तिको परिक्रमा गरि रहेका थिए । उनी संगै बसेका रामचन्द्र माथी कसैको नजर परिरहेको थिएन किनकी उनि शक्तिको केन्द्रमा थिएनन् । विचरा रामचन्द्र आफैँ म पनि छु है भन्ने देखाउने प्रयत्नमा अमिलो मुस्कान छाडि रहेका थिए र आफैं अगाडि वढेर हात मिलाई रहेका थिए । तर गुलियो मुस्कानका साथ बसेका देउवालाई हात मिलाउनु हम्मे हम्मे थियो । अमिलोमा कहाँ झिँगा भन्किन्छन र ? त्यसैले चाहे प्रयाप्त होस या नहोस तर गुलियो तिरै भन्किन खोजि रहेका देखिन्थे थुप्रै हस्तीका अनुहारहरु ।

जब उनी प्रधानमन्त्रीमा विजय भए तब उनलाई खातक माला लगाउनेहरुको प्रतिस्पर्धानै देखियो र त्यो भन्दा पनि ठूलो प्रतिस्पर्धा त उनी संग फोटो खिचाउनेको देखियो । कतिले त पहिलेनै फोटो खिच्नेहरुको सेटिङ्घ गरेरै गएका थिए । त्यो त सदन भवन भित्रको कुरा थियो । जब उनी बाहिर आए तव कार्यकर्ता र स्वधोषित हर्ताकर्ताहरुको भीडले उनलाई धेरा हाल्यो । जसले उनी संगै भएर फोटो खिच्न भ्याए उनिहरु के के न पाए भनेर दंग भए तर बिचारा जसले फोटो खिच्न सम्म पाएनन् उनिहरु सव थोक गुमाए जसरी खिन्न भए ।

खगोयक्ष पन्त
खगोयक्ष पन्त

मैले यि सवै घटना टेलिभिजनको प्रत्यक्ष प्रशारणबाट हेरि रहेको थिए । सुरक्षाकर्मीलाई भीड हटाउन धौ धौ परि रहेको थियो तर पनि भीडलाई हटाउन सकि रहेका थिएनन । सेल्फी लिनेहरुको र फोटो खिच्नेहरुको भीडमा पत्रकारहरुको पनि वाक्लो उपस्थिति थियो । जव देउवा प्रधानमन्त्री भएर बाहिर आए तब पत्रकारहरुले अनेकौं प्रश्नहरु तेर्साए । भीड भडाकाकै बिचमा देउवाले केही प्रश्नको छोटो उत्तर दिए भने कयौं प्रश्नहरु निरुत्तरित रहे तर उत्तर खोज्ने दौडमा पत्रकार थाकेका थिएनन् र उनकै पछि पछि धक्कामुक्का गर्दै दौडि रहेका देखिन्थे । सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा गाडिमा बसाएर हल्का महसुस गरे पछि प्रत्यक्ष प्रशारणको कार्यक्रम समाप्त भयो ।

देउवा मात्रै हैन चाहे जो सुकै प्रधानमन्त्री किन नहोस चलि आएको चलन उही हो । प्रचण्ड हुँदा पनि उही देखियो अनि ओली हुँदा पनि उही देखियो । तर मेरो मनमा एउटा प्रश्न लेखियो । किन सबै कुरा सभ्यता पुर्वक नभएको होला ? पत्रकार सम्मेलनका लागि उपयुक्त स्थान हुनु पर्ने त्यहाँ सवै पत्रकारहरु सालिन भएर वस्नु पर्ने अनि समयले भ्याए सम्म सबैले एक एक गरेर प्रश्न राख्नु पर्ने अनि प्रधानमन्त्रीले पनि सोचेर सम्झेर जवाफ दिनु पर्ने तर त्यस्तो किन भएन ? हुँईकिँदै हतार हतारमा प्रश्न सोध्ने र उही चालामा प्रधानमन्त्रीले जवाफ दिँदै हिँड्नु पर्ने यो परम्परा अलि जमेन जस्तो लाग्यो । कार्यकर्ताको भीडमा ठेलमठेल धक्कामुक्काको विचमा पत्रकारले के खोजेका हुन त्यो पाए त ? र अर्को कुरा ति प्रधानमन्त्रीका पछाडि तछाडमछाड गरी रहेका को हुन ? हो तिनीहरु नेता पनि हुन सान्सद पनि हुन कार्यकता पनि हुन आफन्त पनि हुन त्यो थाहा भएकै कुरो हो तर किन र के का लागि हुल्ली रहेका हुन त्यो वुझिएन ।

जव दोश्रो दिन सामाजिक संजालहरुमा देउवालाई दाहिने राखेर खिचिएका फोटाहरु र सेल्फीहरु प्रसस्त देखिन थाले तव लाग्योकी के के न गरे जस्तो गर्दै ति हुल्ली रहेकाहरुको मुख्य मक्सद त फेसबुकमा प्रम संग उभिएको फोटो राख्नु पो रहेछ । बडो ठूलो काम गरेछन भनौं भने पनि लाजै लाग्ने, केनै पो गरेछन र ? बुझ्न सकिएन तर उनिहरु गर्व गरि रहेका छन भन्ने उनिहरुकै स्टाटसले बुझाई रहन्थ्यो । एउटा त के राम्रो काम देखियो भने नव निर्वाचित प्रमलाई शुभकामना दिएको देखियो । कसैलाई शुभ कामना दिनु ठिक कुरो हो, त्यो सभ्यता पनि हो तर त्यसका लागि मरिहत्ते गरेर आफु सहित देखिने फोटो खिच्नु वा सेल्फी लिनु पर्ने हतारोलाई सुखद वनाउन खोज्दा खोज्दै कहिले दुखद पनि हुन सक्छ । अँझ सुरक्षकर्मीका लागि भन्ने हो भने त यो सदावाहार दुखनै हो किनकी सयौंका बिचबाट एक जनालाई सुरक्षित गरी सक्नु अथवा मेरै हो भन्नेहरुका विचबाट कसैलाई छुट्याई सक्नु चानचुने कुरा पक्कै हैन तर कहिले यस्तो भीडमा हुन सक्ने आक्रमणवाट ज्यान गुमानु पर्ने वा अंगभंग हुनु पर्ने अवस्था आइलाग्न सक्छ । त्यसैले त्यसमा नअपनाएको सजगतालाई अबको समयमा अपनाउने प्रयत्न होस ।

अब भन्किनेका कुरा गरौं ति मान्छे होईनन झिँगानै रहेछन । मान्छे जातका झिँगा अथवा अप्राकृतिक झिँगा जसलाई झोले भन्दा सही हुन्छ । किनकी यदि सांकेतिक रुपमा भन्नु पर्दा ति कहिले दिसामा गएर पनि बस्दा रहेछन अनि कहिले चास्नी पनि चुस्दा रहेछन । चाक देखि चास्नी सम्मको यिनीहरुको यात्रा अनवरत चलिरहँदो रहेछ । यिनीहरु पनि विभिन्न जातका हुँदा रहेछन ति मध्ये कर्मचारी जातका झोलेहरु स्थाई प्रकृतिका हुँदा रहेछन भने यस वाहेक अरु कोही पत्रकार जातका हुँदा रहेछन, कोही कार्यकर्ता जातका हुँदा रहेछन भने कोही नेताकै जातका पनि हुँदा रहेछन । यति मात्रै नभएर कोही आफन्त र सहयोगी जातका पनि हुँदा रहेछन भने कोही स्वघोषित हर्ताकर्ता जातका पनि हुँदा रहेछन । माथीनै भनियोकी शेर बहादुर प्रम हुँदाका बखत संसद भवन भित्र प्राय जसो अमिलो मुस्कानको प्रवाह नगरी गुलियो मुस्कान तर्फ भन्की रहेका थिए भनेर, ति अरु नभएर केवल झोले नेता थिए र जसको प्रभावले सदनमा पनि प्रयाप्त संक्रमण फैलाई रहेको थियो ।

यिनीहरुको चाक देखि चास्नी सम्म भन्भनाउँदा लाग्ने संक्रमण प्राकृतिक झिँगाले सार्ने रोग भन्दा कयौं गुना बढी घातक हुन्छ । यिनीहरुले जिम्मेवार व्यक्तिको सोच्ने शक्ति र समय नष्ट गर्दछन र अनावश्यक सोचलाई उस भित्र पैदा गराई दिन्छन । यिनीहरुले नचाहिँदो मर्यादा अथवा लोभ लालसा देखाई दिन्छन र उसलाई अहंकारी र लालची वनाई दिन्छन अनि सिस्टमलाईनै हातमा लिन मज्वुर पार्दछन । अनि त्यही मज्वुरीमा उत्पन्न भएको अहंकार र लालचलाई वोकेर अन्यत्र अन्यत्र जाहाँ जाहाँ घाउन्छन त्यहाँ त्यहाँबाट स्वार्थ प्राप्त गरी रहन्छन ।

झिँगाले दिसा बोकेर लगे जस्तै यिनीहरु गलत प्रबृतिका मान्छेका स्वार्थ बोकेर जाादा रहेछन र चास्नी हो भन्दै चखाउँदा रहेछन । आफु प्रम संग उभिएको फोटो देखाएरै नाजायज फाईदा लिँदा रहेछन । म तेरो काम गरी दिन्छु । यि हेर त म प्रमको कति नजिकको मान्छे हु भने पछि लाटागाँडा सोझासिधाहरु नगद भेटी देखि स्वादिस्ट व्यन्जन र सोमरसको बिल तिर्नमा हतारिँदा रहेछन ।

यि झिँगाहरु यसरीनै सिस्टमलाई मारेर आफु बाँची रहेका रहेछन । झिँगाहरु दिसामा भन्किएका हुन्छन भने झोलेहरु नेताका घर घरमा भन्किएका हुन्छन । उज्यालो हुन नपाउन्दै नेताका घर अगाडि भुन्भुनाउँदै पुगेका देखिन्छन, राति अवेर सम्म पनि भन्किरहेका देखिन्छन, नेताका अड्डा अड्डामा पनि भन् िरहेका हुन्छन र जसको परिणाम राज्यको जन दायित्व प्रवाहको सिस्टम अवरुद्ध भई रहेको हुन्छ ।

यदि तपाई कुनै नेताको घर अगाडि उज्यालो हुन नपाउँदै भीडभाड देख्नु हुन्छ भने सम्झिनोसकी त्यहाँ झोलेको संक्रमण बढीनै रहेछ । आँखिर सबै कुरा सिस्टमले भई रहेको हुन्छ भने यिनीहरु भन्किनुको एउटै अर्थ हुन्छकी सिस्टम भन्दा बाहिरबाट केही गर्ने प्रयत्न हुँदैछ । यस वाहेक अरुनै केही होकी भन्ने सम्झिन थाल्नु भो भने तपाई उल्लु सावित हुनु हुनेछ । हुन पनि के यिनीहरु नेतालाई सल्लाह दिन आएका हुन र ? सुझाव दिन आएका हुन र ? होईनन, केवल स्वर्थका पोका ल्याएर आएका हुन जुन पुरा गर्न सिस्टमबाट सम्भव छैन त्यसैले सिस्टम अवरोध गर्न आएका हुन भनेर बुझ्न सकिन्छ ।

जुन देश गरीव र विपन्न छ त्यहाँ नेताका ओरीपरी झोलेहरु बढी भन्किएका देखिन्छन । यसलाई अर्को दृष्टीले हेर्ने हो भने, जहाँ नेताका ओरीपरी बढी झोलेहरु भन्केका हुन्छन त्यो देश गरीव, कम्जोर र भ्रष्ट हुन्छ । हुन पनि विश्वका सम्वृद्ध देशहरु जस्तै अमेरिका जापान, बेलायत जस्ता देशहरुमा नेताका ओरीपरी यस्ता झोलेहरुको प्रभाव कम देखिन्छ त्यसैले ति विकसीत र सम्वृद्ध छन ।

काँग्रेसमा दाई दाई भन्दै भन्किने झिँगाहरु हुन या एमाले माओवादीमा कम्रेड कम्रेड भन्दै भन्किने झिँगाहरु हुन अथवा अन्य जो सुकै पनि हुन यि सबै एउटै जातका हुन र यिनीहरुले फैलाउने महामारी पनि एउटै प्रकारको हुन्छ । यिनीहरु संग कुनै विचार हुँदैन कुनै योजना हुँदैन कुनै विषेशयज्ञता हुँदैन र त्यो भन्दा पनि ठूलो कुरा यिनीहरु संग नैतिकता र मानवता पनि हुँदैन तर यिनीहरुनै त्यहाँ भन्किएका हुन्छन जहाँबाट राज्यको कानुन संचालन हुन्छ अनि विकास र योजना निर्माणका कार्यक्रमहरु संचालन हुन्छन ।

यिनीहरुको काम अन्ध भक्त बनेर आफ्ना नेताहरुको गुणगानमा भुन्भुनाउनु, विरोधीको ईज्जत नरहने गरी गालि वेज्जतीमा भुनभुनाउनु, झोला बोकी दिनु, जुत्ता खोलि दिनु मात्रै हुन्छ तर आजकल त प्रविधिमा समेत भन्किन थालेका छन यि झोलेहरु । अपाच्य हुने शब्दहरुको प्रयोग यिनैबाट भई रहेको हुन्छ । कसैको गुणगानमा भुन्भुनाउँदा त्यो पनि पाच्य हुँदैन र कसैको बिरोधमा भुन्भुनाउँदा त्यो पनि पाच्य हुँदैन । सामान्य पाठकलाई समेत लाज लाग्ने अवस्था सृजना भई रहेको हुन्छ अथवा फेसबुक लगायत सामाजिक संजालको वाल गन्धा गर्नु पनि यिनीहरुको काम वा सो सरहनै छ ।

सामान्यतया हामीलाई लागि रहेको हुन्छकी उ किन यसो गरिरहेको छ तर हामीलाई यो थाहा हुँदैनकी उ झोले हो भनेर र उ त्यसो गरे बापत आफ्नो स्वार्थ बटुली रहेको छ भनेर । जसरी झिँगाको स्वार्थ तव पुरा हुन्छ जव फोहर बड्दछ त्यसरीनै झोलेको स्वार्थ तव पुरा हुन्छ जव सिस्टम मर्दछ । यिनीहरुको जीन्दगी कसैलाई देवता वनाएर उसको भजन गर्नमा बित्दछ जसको परिणाम उही हुन्छकी नेताहरुमा अहंकारको रोग फैलिन्छ जनतामा आक्रोसको रोग फैलिन्छ र बास्तविक कार्यकर्ताहरुमा निरासाको रोग फैलिन्छ । यही बिचमा यिनीहरुको जीवन चलि रहेको हुन्छ ।

यिनीहरु आफुलाई अमुक पार्टीको कार्यकर्ता भन्छन तर वास्तवमा यि झोले मात्र हुन कार्यकर्ता हैनन् । झोले कुनै निश्चित यही हो भन्ने हुँदैन झोले एक प्रवृति हो । यो प्रवृति नेता हुँ भन्ने देखि कार्यकर्ता हुँ भन्ने सम्मका सबै मध्ये कसै कसैमा देखिने लक्षण हो । तर दुर्भाग्य के भई रहेको छ भने यस प्रवृतिको व्यापकता महामारीको रुपमा फैलिरहेको छ । यदि सवै झोले हुँदै जाने हो भने परिश्रमिला हातहरुको अभावमा विकास र सम्वृद्धिको गति न्युन हुँदै जाने छ । कानुनको दुरपयोग हुनेछ र वजेटको वितरण असमान र पक्षपातपुर्ण हुनेछ ।
झोलेहरुको लक्षण के पनि हो भने उनिहरु कुनै मिहिनेत र उत्पादनमूलक कार्य गर्न चाहादैनन् । उनिहरु त केवल बसी बसी कसैको भजन गाए वापत अथवा कसैलाई गालि बेज्जति गरी दिए वापत कमिसन मात्र खान चाहान्छन । यस बाहेक विकासका लागि गएको बजेटबाट कमिसन, सरुवा गराए वापत कमिसन, नौकरी लगाई दिने प्रलोभन बापत कमिसन, गैर कानुनी कार्य गरे वापत कमिसन खाई रहेका हुन्छन ।

रोगी मानसिकताका नेताहरुको परिणाम झोले मौलाउने वातावरण बनेको छ । चास्नीको लोभ देखाएर चाक भित्र घुसाई दिने झोले प्रवृतिको शिकार बनेका नेताहरु कालान्तरमा गएर बडेमानको झिँगा बाहेक केही रहँदैन । त्यसैले नेताको सुद्धता मापन गर्ने हो भने जहाँ यिनीहरु कम भन्किएका हुन्छन त्यो नेता अरु भन्दा आचरणमा सुद्ध रहेछ भनेर बुझ्न सकिन्छ ।

सिस्टममा बसेर जिम्मेवारी निभाई रहेका कर्मचारी, शिक्षक तथा पत्रकारहरु समेत जुन देशमा झोले बनेर भन्किरहेका छन त्यहाँको हालत के होला ? झोले भए पो खोले खान पाईन्छ भन्ने मानसिकताको विकासले भ्रष्टाचारलाई मौलाउने वातावरण वनाई दिएको छ । दुईचार भ्रष्टाचारीलाई अख्तियारले समातेर के हुन्छ र ? जवकी हजारौं झोलेहरु उत्पन्न हुने सामाजिक वातावरण यथावत रहन्छ भने । त्यसैले भ्रष्टाचार नातावाद कृपावाद तस्करी जस्ता प्रवृतिहरुको नियन्त्रण गर्ने हो भने सर्वप्रथम झोलेहरुको उन्मुलन गरी सक्नु नित्तान्त आवश्यक छ । जसरी झाडापखाला लगायत अनेकौं महामारी नियन्त्रण गर्नको लागि झिँगाको उन्मुलन आवश्यक छ ।

फोहरमा भन्कीएका झिँगा उल्मुलन गरेर रोगमुक्त समाज बनाउने प्रयत्न जस्तै सिस्टममा भन्किएका झोले उल्मुलन गरेर भ्रष्टमुक्त राज्य बनाउनु सबैको कर्तव्य हो । हामी झिँगालाई जति ध्रेण गर्छौ त्यो भन्दा पनि बढी घ्रेण झोलाई गर्न आवश्यक छ किनकी झिँगाले सारेका रोगहरुबाट मर्नेहरुलाई संख्यामा गणना गर्न सक्छौं तर झोलेले सारेका रोगहरुबाट मर्नेलाई संख्यामा गणनानै गर्न सकिदैन, राज्यनै मरिरहेको हुन्छ ।

तर सावधान । झिँगा जस्तै भुनभुनाउने एउटा अर्को किरा पनि छ जसलाई माहुरी भनिन्छ । जो मिहिनेत र परिश्रमको उपमानै हो जसलाई झिँगा संग तुलना गर्दा विपरित अवस्था झल्किन्छ । त्यसैले झिँगा हुनकी माहुरी हुन छुट्याउन आवश्यक छ किनकी माहुरी पनि भुन्भुनाईनै रहन्छ । हामी देख्छौं विद्धानका उपदेश सुन्न वा केही ज्ञान लिन वा प्रविधि र व्यवहारको भोक मेट्न पनि कहीँ कतै कसैका ओरीपरी थुप्रै मान्छेहरुको भीड देखीन्छ तर ति झिँगा होईनन् माहुरी हुन अथवा झोले हैनन पौरखी हुन । माहुरी फुल देखि चास्नी सम्म मात्रै सिमित रहन्छ तर झिँगा फुलमा हुँदैन मात्र दिसामा हुन्छ । दिसा र चास्नीमा उसले भुन्भुनाउँदा चास्नीलाई पनि दिसा बनाई दिन्छ । त्यसैले समयमै सावधानी अपनाउँ र झोले उन्मुलनको अभियाननै चलाउँ ।

तर यिनीहरुको उन्मुलन गर्न यस अर्थमा मुस्किल छकी यिनीहरुलाई परिश्रम गरी खाने पृष्ठ दिए पनि त्यसमा यिनीहरु रमाउननै सक्दैनन किनकी त्यो यिनीहरुको प्रकृतिनै हैन जसरी सुंगुरलाई सुगन्धित र सफा कोठामा छट्पटाहाट हुन्छ त्यसरीनै यिनीहरुलाई परिश्रम र जीममेवारीले छट्पटाहाट हुन्छ त्यसैले यिनीहरुको व्यवस्थापन सम्भव छैन केवल उन्मुलन मात्रै एक विकल्प हो । सशक्त कानुनको प्रयोग र सामाजिक रुपान्तरणले यिनीहरुको उल्मुलन हुन सक्छ र जसमा वास्तविक नेता कार्यकर्ताहरुको भुमिका अहम् हुन सक्छ । अरु पनि केही उपाय होलान र यदि कसैलाई थाहा भए सामाजिक सचेतनाका लागि शेयर गरी दिनु होला ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: