Facebook Twitter Google+ Google+
DHO

नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न

Advertise Here

दीपसागर पन्त/सीधारेखा 

काठमाडौँ, ७ भदौ ।

अहिले नेपाली साहित्यमा विधाकेन्द्रित संघसंस्थाले आफ्ना गतिविधि बढाउँदै लगेका छन् । यस प्रकारका कार्यक्रमले विधागत उन्नयनका साथै सम्बन्धित विधाका स्रष्टाको सिर्जना एवम् अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्राप्त भएको छ । यसै सन्दर्भमा लघुकथा समाज अहिले सर्वाधिक क्रियाशील संस्थामध्ये पर्दछ । यस संस्थाले लघुकथामा केन्द्रित रहेर विभिन्न गतिविधि अघि बढाउँदै लगेको छ । लघुकथा समाजले पाण्डलिपिमाथि परिचर्चा, कृति विमोचन, रचना वाचन, स्रष्टा सम्मान, पत्रिका प्रकाशन, कृति प्रकाशन, कृतिमाथि विमर्शलगायतका कार्यक्रम गर्दै आएको छ ।

समाजले आफ्नो नवौं स्थापना दिवस भव्य रूपमा मनाएको छ । यही भदौ ४, ५ र ६ गते त्रिदिवसीय नवौँ लघुकथा दिवस मनाउने क्रममा समाजले पहिलो दिन भदौ ४ गते अनामनगरमा लघुकथा सर्जक सीताराम नेपालको लघुकथा संग्रह ‘रातो डायरी’ को विमोचन गर्दै दिवसको प्रथम दिवसीय कार्यक्रम सुरुवात गरेको थियो । दोस्रो दिन भदौ ५ गते सोमबार धनमान लघुकथा सम्मान अर्पण, लघुकथा मञ्चनका साथै नेपाली लघुकथा पत्रिकाको समेत विमोचन गरिएको थियो । त्यसैगरी तेश्रो दिन पद्मा–रामचन्द्र लघुकथा सम्मान अर्पण, आजका लघुकथा कृति विमोचन र १० जना लघुकथाकारका लघुकथा वाचन गर्दै त्रिदिवसीय कार्यक्रम गरेर यस वर्षको लघुकथा दिवसको समापन गरिएको थियो ।

पहिलो दिन : पुस्तक विमोचन

नवौँ लघुकथा दिवसको पहिलो दिन भदौ ४ गते आइतबार एक कार्यक्रमको आयोजन गरी लघुकथाकार सीताराम नेपालको लघुकथा संग्रह ’रातो डायरी’ सार्वजनिक गरियो । विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक मोहनराज शर्माले कृतिमाथि आफ्ना विचार राख्दै लघुकथाको सैद्धान्तिक पक्षबारे चर्चा गरे । उनले लघुकथा आख्यानको न्यूनतम् रूप भएको र यसमा कम्तीमा २ वटा घटना हुनुपर्ने धारणा राखे । साथै उनले सानो लेख्दैमा त्यो लघुकथा नहुने भन्दै यसले पाठकको मनमा बिजुलीझैँ झिलिक्क पार्न सक्नु पर्ने अभिमत प्रकट गरे ।

नाट्यकर्मी अशेष मल्लले सिद्धान्तले सिर्जनालाई छोप्दा सिर्जना हराउने बताउँदै लघुकथामा भाव र शिल्प प्रचुर मात्रामा हुनुपर्ने धारणा राखे । उनले के हो भन्ने भन्दा पनि कसरी भन्ने भन्ने कुरा लघुकथामा महत्त्वपूर्ण हुने बताए । प्रा.डा. कपिल लामिछानेले विमोचित कृतिमाथि समीक्षा गर्दै केही लघुकथामा थोरै शब्दमा धेरै कुरा भन्न सक्ने तागत रहेको विचार राख्नाका साथै उनले समकालीन लघुकथाकारहरुलाई सङ्ख्या भन्दा गुणलाई जोडदिन आग्रह गरे । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कृतिकार सीताराम नेपाल, डा. पुष्करराज भट्ट र सुमन सौरभले आ–आफ्ना विचार राखेका थिए । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा जम्मा ५२ वटा लघुकथा रहेका छन् । १२० पृष्ठको आयाममा फैलिएको यस कृतिको मूल्य रु. २२५/– रहेको छ ।

दोश्रो दिन : पुरस्कार वितरण, पत्रिका विमोचन एवम् लघुकथा मञ्चन

नवौँ लघुकथा दिवसको दोश्रो दिन पुरस्कार अर्पण, पत्रिका विमोचन एवम् लघुकथा मञ्चन कार्यक्रमको आयोजना गरियो । यस कार्यक्रममा नेपाली लघुकथाका क्षेत्रमा चालिसको दशकदेखि क्रियाशील स्रष्टा प्रा.डा. कपिल लामिछानेलाई ‘धनमान लघुकथा पुरस्कार’ प्रदान गरियो । धनमान श्रेष्ठ संस्थापक रहेको यो सम्मान समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टा लामिछानेलाई सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि रु. १० हजार १ रहेको छ । यसैगरी लघुकथाका क्षेत्रमा योगदान पुर्या‍एको भन्दै समाजले रामकृष्ण कर्मचार्यलाई पनि सोही कार्यक्रममा सम्मान गरेको थियो । वि.सं. २०५६ सालमा कर्माचार्य शिबोचुको आयोजनामा प्रथम अधिराज्यव्यापी लघुकथा प्रतियोगिताको आयोजनाका माध्यमबाट नेपाली लघुकथाको विकासमा महत्त्वपूर्ण योगदान दिएकोमा उनलाई सम्मानित गरिएको थियो । सोही कार्यक्रममा समाजले हरेक वर्ष प्रकाशन गर्दै आएको ‘नेपाली लघुकथा’ नामक वार्षिक पत्रिकाको पाँचौ अंक पनि विमोचन गरिएको थियो । यस पत्रिकाको सम्पादक श्रीओम श्रेष्ठ रोदन एवम् कार्यकारी सम्पादक डा. पुष्करराज भट्ट रहेका छन् ।

सर्वनाम थिएटरमा आयोजित यस कार्यक्रमको सुरुमा प्रा.डा. कपिल लामिछानेको ‘लोकतान्त्रिक बहस’ शीर्षकको लघुकथा मञ्चन पनि गरिएको थियो । यस लघुकथालाई नाट्य रूपमा राज शाहले निर्देशन गरेका थिए भने सर्वनामका कलाकारहरुले भाग लिएका थिए ।

प्रमुख अतिथि उप्रेतीले सम्मानित स्रष्टाको योगदानको चर्चा गर्दै लघुकथा समाजले लघुकथाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उनले आफैँ स्रोत र साधन जुटाएर लघुकथाकारहरुलाई सम्मान गर्ने, कृति प्रकाशन गर्ने, विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने काम समाजले गरिरहेकोमा खुशी प्रकट गरेका थिए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव तुलसीहरि कोइराला एवम् धन्यवाद ज्ञापन सर्वनामका प्रमुख वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गरेका थिए ।

तेश्रो दिन : सम्मान अर्पण तथा लघुकथा वाचन 

नवौं लघुकथा दिवसको तेस्रो दिन पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण, लघुकथा वाचन एवम् मन्तव्यका साथ सम्पन्न भयो । यस वर्ष पद्मा रामचन्द्र लघुकथा सम्मानबाट वरिष्ठ लघुकथा सर्जक किशोर पहाडीलाई शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले प्रदान गरेका थिए । यस सम्मानको स्थापना वि.सं. २०७१ मा गरिएको थियो । लघुकथा सर्जक तथा अन्वेषक डा. पुष्करराज भट्टले एक लाख पाँच रुपैयाँको अक्षयकोष आफ्ना हजुरआमा स्व. पदमादेवी भट्ट एवम् हजुरबा स्व. रामचन्द्र भट्टको स्मृतिमा स्थापना गरेका थिए । नेपाली लघुकथामा अक्षयकोष राखेर स्थापना गरिएको यो पहिलो सम्मान हो । यस कार्यक्रममा सम्मानित स्रष्टा किशोर पहाडीले आफूले लघुकथा लेख्दा लघुकथा लेख्ने सर्जकको संख्या अत्यन्त कम रहेको र हाल आएर नेपाली लघुकथामा व्यापक विकास भएको विचार व्यक्त गरेका थिए । उनले आफूले तीसको दशकदेखि लघुकथा लेख्दै आएको र आज आएर सम्मानित हुनपुगेकोमा प्रसन्नता प्रकट गरेका थिए । पहाडीले नेपाली साहित्यमा लघुकथा समाज एक मानक संस्था भएको र यसले अझ व्यापकता लिनुपर्ने बताएका थिए ।

यस कार्यक्रममा मुक्तिनाथ घिमिरे, माया ठकुरी, मञ्जु काँचुली, गंगा कमाचार्य पौडेल, देवा अधिकारी, अशेष मल्ल, नारायण तिवारी, डा. षडानन्द पौडेल, दिव्य गिरी, प्रा.डा. कपिल लामिछाने गरेर १० जना सर्जकले आफ्ना लघुकथा रचना वाचन गरेका थिए । कार्यक्रमका बोल्दै समीक्षक डा. लक्ष्मणप्रसाद गौतमले लघुकथा समाजले लघुकथाको प्रवर्द्धनमा अत्यन्तै महत्त्वपूर्ण योगदान दिएको धारणा राखेका थिए । उनले त्यसै दिन विमोचित कृति ‘आजका लघुकथा’माथि विचार व्यक्त गर्दै यसमा समावेश १३ जनाका कृतिले आजको समाज, आजको युग र आजको भोगाइलाई प्रतिनिधित्व गरेको अभिमत प्रकट गरेका थिए । यी रचनामा भोक्ता आफैले स्रष्टाहरुले जुन जुन रुपमा पढे, परिवेशको अनुभूति र भोगाइहरु लघुकथामा त्यसै अनुरुप प्रकटित भएको उनको धारणा थियो ।

सोही दिन विमोचन गरिएको आजका लघुकथा कृतिमा ध्रुब मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, गोपाल अश्क, सुमन सौरभ, कृष्ण बजगाइँ, तुल्सीहरि कोइराला, डा. पुष्करराज भट्ट, कृष्ण शाह यात्री, श्रीबाबु कार्की, डम्बर रसिक भारती, सिन्धु गौतम, सुष्मा मानन्धर र श्रीराम राईका पाँचपाँच लघुकथा रहेका छन् ।

भदौ ६ गतेकै कार्यक्रममा नेपाली लघुकथामा प्रथम विद्यावारिधि सम्पन्न गरेका डा. पुष्करराज भट्टलाई लघुकथा समाजले नेपाली लघुकथाको सैद्धान्तिकीरण एवम् प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएकोमा सम्मानपत्र एवम् दोसल्लासहित प्रमुख अतिथिको हातबाट सम्मानित गरेको थियो । यो सम्मान पूर्व जानकारीविनै आकस्मिक रूपमा प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सोही दिन शताब्दी वाङ्मय पुरुष उपाधिबाट सम्मानित वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उक्त सम्मान प्रदान गरेका थिए । उनले कार्यक्रममा लघुकथा समाजले गरेका कार्यको प्रशंसा गर्नुका साथै नेपाली लघुकथामा भएको विकासप्रति खुसी प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ईश्वर जोशीको कविता : बाध्यता
  • १३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
  • लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन
  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित