दिवस, चटौत र चन्द बने ‘त्रिमूर्ति’ विजेता

मा प्रकाशित


काठमाडौँ, १९ साउन । त्रिमूर्ति निकेतनले ‘प्रभास–गीता महाकाव्य’का रचनाकार आरडीप्रभास चटौत, प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथै ती पुरस्कारका राशि जनही रु पचास हजार रहनेछन् । नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पु¥याएबापत चटौतलाई ‘लेखनाथ काव्य पुरस्कार’ समर्पण गरिने भएको छ । त्यस्तै नाटक र चलचित्रका क्षेत्रमा पूर्ण रुपमा समर्पित भई नेपालमा नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन उद्यत भुवन चन्दलाई ‘बालकृष्ण सम पुरस्कार’ तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएबापत दिवसलाई ‘देवकोटा काव्य पुरस्कार’ समर्पण गरिने भएको त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रहँदै २०६५ र २०६६ सालमा सम्पन्न देवकोटा शताब्दी महोत्सव तथा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन, २०७१ सालमा सम्पन्न विश्व नारी नेपाली साहित्य सम्मेलन र २०७१ देखि ०७४ सालसम्म सम्पन्न सत्यमोहन जोशी शताब्दी महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदानका लागि यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक समर्पण गर्ने निर्णय भएको छ
ताम्रपत्रसहित पुरस्कार र पदकको राशि जनही रु पच्चीस हजार रहनेछ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते ती पुरस्कार काठमाडौंँमा समर्पण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: