Facebook Twitter Google+ Google+
DHO

कविता : ढिस्कोको खोजी

15032308_647750765398426_7101425199469636307_nAdvertise Here
  • सिर्जना सुवेदी

भिजेका काठहरूको चाङमाथि
तिनढुङ्गे चुलोमा
बसालिएको थियो
एउटा सानो भाँडो
आगो थिएन चुलोमा
धुँवामात्रैले कुइरिमण्डल भएको थियो
जलमग्न मेरो घर र आँगन
माइको फुफुको सासले निकालेको त्यही धुँवाले
अधकल्चिएर पाकेको भात
बाबुले पौडिएर घरभित्रबाट
तैरिरहेको नुनको डिब्बा
सकिनसकी समातेर बाहिर ल्याएपछि
एकै छिपामा राखेर
नुन र भात खाएको पनि
अस्ती राति नै हो ,
हो, त्यही अस्ती रातिबाट आजसम्म
त्यही भात र नुनको सम्झनामा
भोकलाई सान्त्वना दिँदै
गर्दैछौँ अनन्त याात्रा
एक ढिस्कोको खोजीमा ।

रातभरिको चर्को पानी अझै नथामिएपछि
चाङ पारेर राखिएका काठहरू पनि
डुब्दैडुब्दै गयो बिस्तारै ।
बाबु सकिनसकी घाँस ल्याउने छैँटीमा
मलाई टाउकामाथि बोकेर
एक हातले माइको हात समात्दै
ढिस्कोको खोजीमा
गर्दै थिए अनन्त यात्रा
जलमग्न दुनियाँमा
केवल एक ढिस्को भेट्ने आशमा ।

परपरसम्म तैरिएका काठका टुक्रा
पीपलका अग्लाअग्ला गाछी
घरको छानोको इँकडा
बाबुजस्तै छैँटीमा बच्चा र
एक हातले मौगी समातेका मानिसबाहेक
केही पर्दैन दृश्यमा
केवल धमिलो र दुर्गन्धित पानी
जताततै फैलिएको छ यहाँ ,
खै कतै ढिस्को देखिएकै छैन ।

ऐया ! को आवाज कानभित्र पस्यो
गोमनले टोकेछ बाबुको खुट्टामा
तल्लो ओठसम्म पानीले डुबेर हिँड्दै गर्दा ।
पानीको वेग र
गोमनको विषले गलाएको शरीरले
कतिन्जेल धान्न सक्ला र
आफ्नी टोकरीको राधा र
हातकी देवकीको बोझ ?

मामा पीपलको गाछीको टुप्पोमा
तीन दिनदेखि ज्यान जोगाएर बसेका छन्
चाचा भाँसिएको जमिनसँगै विलीन भएछन्
मौसामौसी घरसँगै बग्दै यात्रा गर्दै छने रे
छैँटीकी राधा र हातकी देवकीलाई
ढिस्कोसम्म पुर्या‍उने जिम्मा
कसलाई छाडेर धर्मराउन
मेरा बाबुका खुट्टा ?

यिनका पीडा र चिन्ता
लुकाएर पटक्कै लुक्दैन
तर पनि
सबै पीडा सबैलाई दुख्छ
मधेश किन कसैलाई दुख्दैन ??

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी