Facebook Twitter Google+ Google+
DHO

लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट

Advertise Here

डा. पुष्करराज भट्ट सुदूर पश्चिमको बैतडी जिल्लाको दशरथचन्द–४, कुमालीमा वि.सं. २०३२ असार ४ गते राधिकादेवी भट्ट एवम् गोपालदत्त भट्टका सुपुत्रका रुपमा जन्मनुभएको हो । नेपाली लघुकथामा प्रथम विद्यावारिधि गर्ने भट्टका लघुकथाको सिर्जनासँग सम्बन्धित कृतिमा कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२), एक थोपा सागरको (२०६४, नेपाली एवम् डोट्याली दुवै भाषामा) रहेका छन् । यसबाहेक यिनले नवप्रज्ञापन पत्रिकाको लघुकथा विशेषांकको सम्पादन (२०७३) एवम् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७४) को सम्पादनसमेत गरेको पाइन्छ । यी सम्पादित कृति नेपाली लघुकथाको अध्ययनका सन्दर्भमा उपयोगी कृति हुन् । नेपाली लघुकथासँग सम्बन्धित पुरस्कार स्थापना गर्ने प्रथम व्यक्तिका रुपमा समेत भट्टलाई चिनिन्छ । यसै सन्दर्भमा आफ्ना हजुरबुवा हजुरआमाको नाममा लघुकथाको नाममा पद्मा रामचन्द्र लघुकथा सम्मान स्थापना गरेको पाइन्छ । यो सम्मानका लागि रु. एक लाखको अक्षयकोष स्थापना गरिएको र यो वि.स. २०७१ सालदेखि निरन्तर वितरण भइरहेको छ । यसभन्दा पनि भट्टको मूल पक्ष नेपाली लघुकथाको अध्ययन–अनुसन्धान हो । नेपाली लघुकथामा सर्वप्रथम एम.फिल् तहमा उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य (२०७०) को अनुसन्धान पछि नेपाली लघुकथामा युगचेतना (२०७३) शीर्षकमा विद्यावारिधि सम्पन्न गरेर नेपाली लघुकथाको प्रथम विद्यावारिधि गरेर नयाँ इतिहास कायम गर्नुभएका भट्टसँग यस सीधारेखा अनलाइन पत्रिकाका प्रधान-सम्पादक घनश्यामसागर पन्तले गरेको कुराकानी प्रस्तुत गरिएको छ : 

१. नेपाली लघुकथामा प्रथम विद्यावारिधि गर्नु भएकोमा सर्वप्रथमतः यहाँलाई बधाई छ । 
– धन्यवाद पन्तजी । मलाई सीधारेखामा आफ्ना विचार राख्ने मौका दिनुभएकोमा तपाँई र सीधारेखा परिवारप्रति आभार प्रकट गर्दछु ।

२. तपाईँको अनुभवमा विद्यावारिधिको काम सम्पन्न गर्न कत्तिको गाह्रो अथवा सजिलो हुँदो रहेछ ? 
– संसारमा कुनै पनि काम मानिसको लागि असजिलो हुँदैन । मानिसको इच्छाशक्तिका अघि संसारका कुनै पनि काम असहज हुँदैनन् । मेरो जीवनमा अनेकन सङ्घर्षका दिन आए, अनेकन असफलता आए तर पनि मैले हार खाइनँ । मैले कुनै पनि काम गर्दा अरुले नगरेको नौलो काम गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । यसै सन्दर्भमा म आफू नेपाली लघुकथामा कलम चलाएको र सो विधामा कसैले पनि उच्चस्तरको अनुसन्धान नगरेको सन्दर्भमा मैले एम.फिल. तह (दर्शनाचार्य) देखि नै लघुकथालाई आफ्नो अनुसन्धानको विषयका रुपमा छनौट गरेँ । पहिलेदेखि लघुकथामा काम गरेको हुँदा मलाई सामग्री संकलनमा असहजता भएन यद्यपि अनुसन्धानका क्रममा धनगढीको बसाइ रहेको र कार्यक्षेत्र पनि धनगढी रहेकोले धेरै पटक धनगढी–काठमाडौं आउनुजानु पर्ने भएकोले केही असहजता भने भएको हो तर पनि मैले न्युनतम अवधिमै विद्यावारिधि शोध अनुसन्धान पुरा गरेँ । निरन्तर मेहनत गरेर लाग्ने हो भने विद्यावारिधि गर्न असहज हुन्छ भन्ने मलाई लाग्दैन । मानिसमा ज्ञानको भोक कति छ भन्ने कुराले उसलाई विषयवस्तुप्रति जिज्ञासु बनाउँछ । जिज्ञासाले नै नयाँ ज्ञानको खोजीमा लगाउँछ । नयाँ ज्ञानको खोजीले मानिसलाई अध्ययन अनुसन्धानका मार्गमा सहजता ल्याउँदै जान्छ ।

३. विद्यावारिधिको लागि लघुकथा विधा नै रोज्नुको कारण के हो ? 
– मैले लघुकथामा सर्वप्रथम कलम चलाएँ । यस विधामा तीन वटा कृति पनि प्रकाशित गरेको छु । मेरो लेखन इतिहासमा सबैभन्दा बढी काम लघुकथामा गरेको छु । नेपाली लघुकथामा उच्च स्तरको अनुसन्धान नभएको र लघुकथालाई नेपाली साहित्यका क्षेत्रमा हेला गर्ने प्रवृत्ति रहेको देखेर केही गर्नुपर्छ भन्ने विचार मनमा आयो । यसै सन्दर्भमा मेरा गुरुहरुबाट पनि लघुकथामा काम गर्दा राम्रो हुने सुझाव पाइयो । लघुकथा समाज सम्बद्ध मित्रको अनुरोधले पनि यसमा काम गर्यो ।

४. तपाईँ लामो समयसम्म लघुकथा लेखन तथा अनुसन्धानमा संलग्न रहनुभयो, विद्यावारिधि पनि लघुकथा विधामै गर्नु भएको छ । नेपाली साहित्यमा लघुकथा लेखनको अवस्था र यसको स्थान कहाँ देख्नुहुन्छ ? 
– नेपाली लघुकथा लेखन विकासका चरणमा छ र नेपाली साहित्यका क्षेत्रमा स्थापित हुने चरणमा छ । नेपाली लघुकथा लेखनमा गम्भीरताको विकास अझै हुन सकेको छैन । नेपाली लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ । अब लघुकथालाई स्थापित गर्न लेखनका क्षेत्रमा केही राम्रा काम हुनुपर्ने देखिएको छ । लेखन राम्रो भयो भने अनुसन्धान पनि राम्रो हुन्छ, त्यसैले लेखक वर्गले आवश्यक ध्यान दिनु आवश्यक छ । नेपाली लघुकथाको अनुसन्धानका क्षेत्रमा पनि केही सुरुवात भएका छन् । यो मात्र प्रर्याप्त छैन । यसलाई अझ राम्ररी अघि लैजान यस क्षेत्रका अध्येताले लाग्नुपर्ने देखिन्छ । यस सम्बन्धमा म पनि लागरिहेको छु । मैले नेपाली लघुकथाको इतिहास, परम्परा एवम् प्रवृत्तिका बारेमा केही पुस्तक प्रकाशित गर्ने विचार बनाएको छु ।

Pushkar bhatt

५. लघुकथा लेखन तथा अनुसन्धानमा कसरी आकर्षित हुनुभयो, बताइदिनुस् न ! 
– मेरो साहित्य क्षेत्रमा प्रवेश कवितामार्फत् भयो । त्यसपछि कथा, निबन्धतिर लागेँ । मेरो पहिलो पुस्तक भने लघुकथामा प्रकाशित भयो । लघुकथामा कम समयमा धेरै दृष्टिकोण वा विचार प्रस्तुत गर्न सकिने भएकोले पनि मलाई यसतर्फ आकर्षित गर्यो । नेपाली लेखन कम भएको सन्दर्भमा यस विधामा काम गर्दा म अघि आउन सक्छु भन्ने पनि मलाई लाग्यो । यसरी नेपाली लघुकथामा तीन कृति प्रकाशित भए । म स्नातकोत्तर पढ्न काठमाडौं आएपछि लेखनका साथै अनुसन्धानतर्फ पनि आकर्षित भएँ । मैले स्नातकोत्तर तहमा पारिजातको बारेमा अनुसन्धान गरेँ । एम.फिल् अध्ययनका क्रममा शोधप्रबन्ध लेख्ने बेलामा लघुकथामा अध्ययन गरेँ । उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य विषयमा मैले २०७० जेठमा सो अनुसन्धान पुरा गरेँ । यस अवधिमा नेपाली लघुकथाका प्रकाशित पुस्तक जति सबै संकलन गरेँ । यो संकलनसँगै मैले विद्यावारिधि दर्ता गरेँ । वि.स. २०७० माघमा प्रारम्भ भएको विद्यावारिधि २०७३ साल फाल्गुन १९ गते अन्तिम अन्तर्वार्तासँगै पुरा भयो । नेपाली लघुकथामा उच्च तहको अनुसन्धान नभएको सन्दर्भमा यो कार्य आवश्यक छ भन्ने बोध भएर मैले यो अनुसन्धान गरेको हुँ ।

६. लघुकथाको विकासका लागि भएका/भइरहेका प्रयासहरू पर्याप्त छन् या छैनन् । पर्याप्त छैनन् भने हुन नसक्नुका कारणहरू के के हुन सक्छन् ? 
– नेपाली लघुकथाका बारेमा भएका प्रयास प्रर्याप्त छैनन् । नेपाली लघुकथा लेखनको तुलनामा समालोचना एवम् अनुसन्धान कमजोर छ । यसलाई अझ अघि बढाउनुपर्छ । नेपाली लेखनका क्षेत्रमा स्थापित स्रष्टाका साथै नवप्रतिभाले पनि लघुकथालाई माया गर्नुपर्छ । नेपाली लघुकथाको भविष्य उज्यालो भएको मैले ठानेको छु । विभिन्न सञ्चारमाध्यम एवम् अखबारी पत्रपत्रिकाले पनि यसलाई महत्त्व दिनुपर्ने देखिन्छ । नेपाली लघुकथामा कम काम हुनु एवम् लघुकथालाई गरिएका प्रयास कम हुनाका कारण यस्तो हुनुपर्छ भन्ने मलाई लाग्दछ :
(क) लघुकथा लेखनमा भर्खरका नयाँ प्रतिभा आउनु र लेखनमा परिष्कारको अभाव रहनु ।
(ख) स्थापित स्रष्टामा लघुकथाप्रति उपेक्षाभाव रहनु तथा लघुकथाको मानकता प्रति बेवास्ता रहनु ।
(ग) विद्युतीय सञ्चारमाध्यम एवम् अखबारी पत्रपत्रिकामा लघुकथालाई खासै महत्व नदिनु।
(घ) स्थापित मानिएका समालोचकले लघुकथालाई हेला देखाउनु ।
(ङ) लघुकथा लेखन गम्भीर लेखन भएकोले सबैले यसमा हात हाल्न डराउनुु ।
वर्तमानमा आएर नेपाली लघुकथा कमजोर छैन । लेखन एवम् समालोचनाका काम भइरहेका छन् । यी कार्यको निरन्तरताले नेपाली लघुकथालाई सबल बनाउने विश्वास राखेको छु ।

७. वर्तमान नेपाली आख्यानको अवस्था र स्वरूपलाई कुन रूपमा नियालिरहनु भएको छ ? 
– नेपाली आख्यानमा निरन्तर नयाँ सिर्जना आइरहेका छन् । यो राम्रो कुरा हो । बजारमा प्रचारमा आएका सबै कृति उत्कृष्ट हुँदैनन् । यसै सन्दर्भमा नेपाली आख्यानमा लघुकथाको बारेमा कम चर्चा हुने गरेको भएपनि यो कमजोर छैन । बजारमा प्रकाशकले उपन्यास र उपन्यासकारलाई अनि कवि र कवितालाई मात्र उचालेका छन् । मिडियाले यिनैलाई पोसेका छन् । नेपाली साहित्य उपन्यास र कविताले मात्रै अघि आउँदैनन् । यसका लागि सबै विधाको विकास हुनुपर्छ । जहाँसम्म लघुकथाको स्वरुप छ, यसका बारेमा धेरैमा भ्रम रहेको पाएको छु । लघुकथालाई कसरी बुझ्ने सन्दर्भमा समस्या छन् ? यी समस्याको समाधान आवश्यक छ । कथालाई छोटो पारेर लघुकथा लेखेर छाप्ने गरेको समेत पाइन्छ । लघुकथाको प्रमुख अभिलक्षण सुक्ष्मता हो तर यो मात्र यसको परिचायक होइन । लघुकथामा प्रारम्भमा घटनाको प्रारम्भ, मध्यमा विकास एवम् अन्त्यमा आकस्मिक प्रभावकारी अन्त्य हुनुपर्दछ । लघुकथा रचनामा अन्त्य कसरी भयो भन्ने कुराले अर्थ राख्दछ । यसमा व्यङ्ग्य एवम् विद्रोहको चेतनाका साथसाथै चामत्कारिक अन्त्य पनि आवश्यक छ ।

८. साहित्यका क्षेत्रमा हुने विभिन्न आन्दोलन तथा अभियानले केकस्तो महत्त्व राख्छन् ? लघुकथा विधामा यस्ता आन्दोलनले केकेस्ता प्रभाव पारेको छ ? 
– साहित्यका क्षेत्रमा निरन्तर आन्दोलन आइरहन्छ । कतिपय आन्दोलनले सकारात्मक विकास गराउँछ भने कतिपयले नकारात्मकता बोकेको हुन्छ । नेपाली साहित्यका क्षेत्रमा पनि विभिन्न आन्दोलन तथा अभियान चलेको सन्दर्भमा यिनको प्रभाव लेखनमा पर्छ । यो प्रभावबाट लघुकथा पनि बचेर रहने कुरा त भएन । समयसँगै आएका सकारात्मक प्रभावलाई लिदाँ राम्रो नै गर्दछ ।

९. तपाईंले नेपाली लघुकथामा विद्यावारिधि गर्नुभएकाले पनि यो प्रश्न आवश्यक ठानियो । नेपाली साहित्यमा लघुकथा शीर्षकमा विभिन्न किसिमका रचनाहरु देखिन्छन् । कतिपय सर्जकले यसको संरचना तथा भाव पक्षलाई ध्यान नदिएर सामान्य रचनाहरुलाई लघुकथा शीर्षक दिएर प्रकाशन गरेको पाइन्छ । तपाईँले यसलाई कसरी हेरिरहनु भएको छ ? यसको संरचना र भाव सौन्दर्य पक्ष केकस्तो हुनुपर्छ ? संक्षिप्तमा प्रकाश पारिदिनुस् न !
– लघुकथा मात्र होइन, सबै विधामा राम्रा–नराम्रा रचना आइरहन्छन् । सिकारु अवस्थामा सामान्य रचना आएकोमा अन्यथा मान्नु हुँदैन । सिकारु लेखकलाई रचना राम्रो बनाउन सुझाव, सल्लाह दिन सकिन्छ तर नेपाली साहित्यका क्षेत्रमा लेखकहरुका नराम्रा अवगुण पनि रहेका छन् । कुनै लेखक कुनै एक विधामा स्थापित भएकै कारण उसका लघुकथामा प्रकाशित रचना पनि स्तरीय छन् भनेर भन्न सकिँदैन । यस किसिमका कतिपय लेखक आफ्ना रचना कमजोर भएपनि नचाहिँदो ढिपी गर्ने र यसको सिद्धान्त र स्वरुपका बारेमा नचाहिने जिद्धी गर्ने गरेको समेत पाइन्छ । उहाँहरुलाई शालीनतापूर्वक यस बारेमा जानकारी दिने र नमानेको खण्डमा यसबारेमा समीक्षा, समालोचनाका माध्यमबाट सकारात्मक आलोचना गर्ने पद्धतिको विकास गर्नुपर्ने हुन्छ । यसले नेपाली लघुकथाको विकास नै गर्दछ ।

१०. तपाईं सुदूरपश्चिम क्षेत्रबाटै आउनुभएको र त्यहाँको भाषा साहित्य, संस्कृति तथा सङ्गीतका क्षेत्रमा पनि संलग्न रहनुभएको छ । सुदूरपश्चिम भाषा, लोक साहित्य/संस्कृतिका दृष्टिले अत्यन्तै सम्पन्न क्षेत्रका रूपमा रहेको छ । त्यस क्षेत्रको आफ्नै भाषिक, साँस्कृतिक तथा ऐतिहासिक पहिचान छ । यी सबै पहिचानका पक्षहरुलाई नेपाली भाषा साहित्य र संस्कृतिको मूल प्रवाहमा कसरी जोड्न सकिएला ?
– सुदूर पश्चिम मेरो जन्मभूमि अनि कर्मभूमि दुवै हो । मैले मेरो जीवनको लामो समय यस क्षेत्रमा रहेर काम गरेँ । अहिले म काठमाडौं आएपनि मैले आफ्नो भूमिको बारेमा नै काम गरिरहेको छु । २०७३ फागुनदेखि सञ्चालनमा आएको गोरखापत्रमा डोटेली भाषाका पेजको संयोजन गरिरहेको छु । नेपाली संगीत नाटकको अन्वेषणका सन्दर्भमा प्रदेश नम्बर सातको अनुसन्धान भर्खरै सकेको छु । यस बाहेक पनि यस क्षेत्रका प्रतिभालाई कसरी माथि उठाउने सन्दर्भमा मेरा प्रयास जारी नै छन् । सुदूर पश्चिम भाषा, साहित्य, कला तथा संस्कृतिका दृष्टिले सम्पन्न छ । यसका आफ्नै मौलिक विशेषता रहेका छन् । यिनलाई उजागर गर्न यस क्षेत्रका स्रष्टाले लागिपर्नु आवश्यक छ । हालको प्रदेश नम्बर सात अर्थात् सुदूर पश्चिमका आवाजलाई मूल धारमा ल्याउन निम्न कार्य हुनु आवश्यक देखिन्छ :
(क) यस क्षेत्रका सर्जकले स्तरीय लेखनका साथै त्यसको प्रचारप्रसारमा तीव्रता दिनुपर्ने ।
(ख) देशका नाम चलेका पत्रपत्रिका एवम् विद्युतीय सञ्चारमाध्ययमा आफ्नो र आफ्नो क्षेत्रसँग सम्बन्धित रचनालाई व्यापकताका साथ प्रस्तुत गर्नुपर्ने ।
(ग) स्थानीय स्तरमा गरिने कार्यक्रमको व्यापक प्रचारप्रसार गर्ने, कार्यक्रमलाई स्तरीय बनाउन जोड गर्ने ।
(घ) विधागत विशिष्टताका आधारमा आफ्नो लेखनलाई परिमार्जित र परिष्कृत बनाउने ।
(ङ) साहित्यिक रचनाको अध्ययन, अनुसन्धानका साथै मौलिक संस्कृतिको प्रचारमा जोड दिनुपर्छ ।

pushkar

११. भविष्यका योजना के बनाउनु भएको छ ?
– धेरै लामो अवधिको त खासै योजना छैन तर पनि तत्कालका भने केही योजना छन् ।
(क) लघुकथासम्बन्धी सिर्जना एवम् समालोचनासँग सम्बन्धित कृति प्रकाशन ।
(ख) आफू संलग्न संस्थामा क्रियाशिलतालाई निरन्तरता दिने ।
(ग) आफ्ना पहिले पत्रपत्रिकामा प्रकाशित रचनाको संकलन एवम् लघुकथा बाहेक अन्य विधामा पनि रचना प्रकाशन एवम् अनुसन्धानमा लाग्ने ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • उदयदेव महाराजः भक्तिका पथ प्रर्दशक
  • भन्किएका मान्छेहरु
  • नीति र नियति : कानुनको दुर्गति
  • कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ
  • मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ
  • ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ?
  • लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट
  • ‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी