प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा



काठमाडौं, ६ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् ।

शुक्रबार बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका हुन् । उनले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भने – ‘प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।’

निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उनले बताए । प्रधानमन्त्री देउवाले काँग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँ ग्रेसको जिम्मेवारी रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा पछिल्लो समयमा ज्ञान र क्षमताभन्दा राजनीतिक भागबन्डाको संस्कृति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शासकलाई समालोचनात्मक सत्य र यथार्थ सुझाव दिन बौद्धिक समाजको आवश्यकता पर्ने बताए ।

काँग्रेस नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसले सदैव मुलुकका हरेक संकट समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले नै जनताले पनि काँग्रेसलाई विश्वास गर्दै आएको बताउँदै पछिल्लो निर्वाचनमा उक्त विश्वास कम हुँदै गएको प्रति पार्टी नेतृत्वको ध्यानाकर्षण गराईन् ।

काँग्रेस नेता लक्ष्मण घिमिरेले बिपीले प्रतिपादन गरेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त ओझेलमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वका क्रियाकलापका कारण राजनीतिक नेता र नेतृत्वप्रति जनतामा विश्वासको संकट बढेको बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु विशेशांक ‘चिन्तन’ विमोचन गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)