‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी

मा प्रकाशित


कृष्ण बोहरा यात्री

16938523_433728096966752_8899225697933535529_n

समाजको संरचना मनोविज्ञान तथा विकासको बाटो तय गर्नमा त्यो देशको राजनीतिक दर्शन के कस्तो छ र त्यसलाई प्रयोग गर्ने प्रयोगकर्ताहरुले कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरामा निर्भर रहन्छ । मानव सभ्यताको विकासको लामो चरणमा संसारका विभिन्न देशहरुमा ठूला-ठूला क्रान्तिहरु भए । ती क्रान्तिहरुले कतिपय देशको अस्तित्व नै समाप्त भयो भने कतिपय देश आफ्नो अस्तित्व पुनर्स्थापित गर्न सफल भए । फरक-फरक विचार वाद र राजनीतिक प्रणालीलाई अवलम्वन गर्दै मानव सभ्यताको निरन्तर यात्रा आजको समयसम्म आइपुगको छ ।

संसारका विभिन्न देशहरुमा अवलम्बन गरिएका शासन व्यवस्था र ती व्यवस्थाको प्रयोगलाई हेर्दा धनी देशहरुमा पद्धतिको अवलम्बन गरेको पाइन्छ । त्यहाँ एउटा सिस्टम निरन्तर चलेको पाइन्छ । तर गरिब भनिएका र विभिन्न कारणले गरिब बनाइएका देशहरुको राजनीतिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक संरचना आत्मस्वाभिमानपूर्ण देखिदैन । बाहिरी रुपमा हेर्दा ती जेजस्ता देखिए पनि आन्तरिक रुपमा ती देशको सत्ताको सञ्चालन राजनीतिक र आर्थिक रुपमा सम्पन्न भएका मुलुकको अधिनमा नै रहेको हुन्छ ।

संसारमा कमै यस्ता देश छन् जस्ले आफ्नो क्षमतालाई राम्ररी बुझेका छन् र आफ्नै तवरले संसारमा अस्तित्व कायम गर्न सफल भएका छन् । थोरै देशहरु क्रान्ति र युद्धद्वारा सफलताको स्वाद चाख्न सफल भएका छन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल एक यस्तो देश हो जहाँ बेला बेलामा क्रान्ति भए, आन्दोलन भए । र नेपालका शासकको भाषामा भन्दा नेपालीहरु वीरको रुपमा संसारभरि परिचित हुन सफल भए ।
अब प्रश्न उठ्छ नेपालमा भएका ठूला-ठूला आन्दोलन र क्रान्तिले जनताको आधारभूत जीवन पद्धतिमा के र कस्तो किसिमको प्रभाव पार्न सक्यो त ?

इतिहासमा क्रान्तिहरु किन र केको लागि गरियो ? नेपाली राजनीतिको मियो को ? किन सधैँभरि नेपालको राजनीति अस्थिरताको भुमरीमा रुमल्लिरहन्छ ?

नेपालमा गणतन्त्र आउनु पूर्वको व्यवस्थापकीय संरचना र अहिलेको संरचनामा तात्विक भिन्नता के छ ? हिजो लाहुर जाने परम्परा थियो । लाहुरे हुने परम्परा थियो । आज खाडी र विश्वका अन्य मुलुकमा पुगेर आफ्नो सुनिश्चित भविष्य खोज्ने परम्परा छ । हिजोको राज्यसत्ताले निर्माण गरेको शासन व्यवस्थाको बागडोर आजको राज्यसत्ताले समातेकै हो त ? यदि होइन भने हिजोका दिनमा अस्तित्वमा रहेका राज्यव्यवस्थाका हिमायतीसँगको कार्यगत एकताको अन्तिम चुरो के हुन सक्ला ? एक पटक सत्ताको स्वाद चाखी सकेपछि पटक-पटक सत्ताको स्वाद चाख्ने अभिलाषा राख्दै गर्दा युद्धको उद्येश्य पुरा गर्ने दिशातिर वर्तमान कार्यकारी प्रमुखको ध्यान जान सक्यो कि सकेन ?

आतंककारीको संज्ञा दिएर रेडकर्नर नोटिस जारि गर्दै किलो सेरा टु अप्रेसन चालु गर्ने विचारसँग हिजो त्यसैका विरुद्ध युद्ध लडेको विचारकको कमाण्डर कसरी एकाकार हुन सक्छ ?

संसदीय व्यवस्थाको सबैभन्दा सुन्दर र कुरुप चेहरा यही हुनुपर्छ । समजवादी व्यवस्थाको नारा लगाएर लडिएको युद्धको अन्तिम गन्तव्य संसदीय व्यवस्थाको गणितीय जोडघटाउ हो भन्ने कुराको आँकलन गर्न नेपाली जनतालाई लामो समय प्रतिक्षा गर्नु पर्‍यो ।

भूमण्डलीकरणको बढ्दो प्रभाव र आमने सामनेका दुबै ठूला छिमेकीले विश्वमा आफ्नो पकड जमाउँदै गरेको वर्तमान समयमा दार्शनिक र वैचारिक स्खलन नेपाली राजनीतिका नेतृत्व वर्गमा बढ्नुमा अब कुनै पनि विचारधारा नेपाली राजनीतिमा रहेन भन्नु नै हो ।

हजारौं वर्षको साँस्कृतिक व्यवस्था र राजनीतिक व्यवस्थाको ह्याङओभर नछुट्नुको पछाडि पूर्वीय समाजले निर्माण गरेका आफ्नै किसिमका जातीय र वर्गीय चेतनाका अवशेष नै हुन भनेर भन्न सकिन्छ । नेपालको आर्थिक र शैक्षिक नीति नेपाली समाजको संरचनालाई ध्यानमा राखेर निर्माण गरिएको छ त ? दक्षिणको धार्मिक अतिवाद हावी हुँदै गएको वर्तमान अवस्था र पश्चिमाहरुको राजनीतिक नेतृत्वलाई विभिन्न तवरले आफ्नो हातमा लिएर आफ्नो धर्म तथा सँस्कृतिको प्रचार गर्दै जाने वातावरणले यो देशले कस्तो किसिमको बाटो तय गर्न सक्छ होला ?

पुरानै व्यवस्थाले स्थापना गरेका मान्यता, पद्धति र विचारलाई अवलम्बन गर्दै थोरै मात्रामा तोडमोड गरी अवलम्बन गरिएको संसदीय व्यवस्थाले नेपाली जनताको उज्यालो भविष्यको सपनालाई कतिसम्म हित गर्छ त्यो त हेर्न बाँकि नै छ तर अहिलेकै सन्दर्भमा नेपाली जनतामा जागेको चुनावसम्बन्धीको भोक साँच्चै रौनकमय देखिन्छ ।

साँझ घरमा खानको लागि एक छाक रोटी नहुने घरदेखि आलिशान हवेलीका सम्भ्रान्त वर्गको बीचमा पनि चुनावी वहस तीव्र गतिमा चलेको छ । स्थानीय स्तरमा हुँदै गरेको चुनावले आफ्नो अनुकूलको योग्य पात्र छान्न जनताले सक्लान् नसक्लान् त्यो चुनावको परिणाम र त्यसपछिका विजेताले गर्ने कार्यमा नै भर पर्नेछ तर वैचारिक र दार्शनिक यात्रा नेपाली राजनीतिमा लगभग लगभग अन्तिम अवस्थामा पुगेको हो कि भन्ने तथ्यको निर्क्यौल वर्तमान अवस्थाको राजनीतिक माहोल देख्दा गर्न सकिन्छ।

टाउको मूल्य तोक्ने र तोकिमाग्नेको सहयात्रासँगै नेपाली राजनीतिले फरक मोड लिएको छ भने वैज्ञानिक दृष्टिकोणबाट राजनीतिक, आर्थिक अवस्थालाई अवलम्बन गर्ने दार्शनिक मार्क्स र अमूर्त शक्तिमा विश्वास गर्ने तथा त्यसै अनुरुप आफ्ना पाइलाहरु चाल्ने शक्तिका बीचको तालमेलको ताण्डव आगामी चुनावमा बढो रौनकपूर्ण ढङगले मञ्चित हुने देखिन्छ ।

भविष्यको चिन्ता, चिन्तन र चासो नराखेरै शक्तिको वरिपरि आफूलाई उभ्याउने दाउपेच सामन्ती राजसंस्थामा जीवित थियो । राणाहरुमा त्यसको अभ्यास अझ तीव्र गतिमा भयो । वहुदलीय व्यवस्थामा पनि यस्तै प्रवृत्ति दाहोरियो र यी सबै प्रवृत्तिको जरो उखेल्ने भनेर नेपाली कम्युनिष्टको एउटा घटकले युद्ध आह्वान गर्‍यो र लामो समय युद्ध पनि गर्यो । हात्ती आयो हात्ती आयो फुस्स भनेझैं हल्ला त बढी नै भयो गणतन्त्रको तर गणतन्त्र स्थापनाको लामो समयसम्म पनि पुरानै प्रवृत्ति नेपाली राजनीतिमा हावी हुँदै गयो । जबसम्म राजनीतिक व्यवस्थामा अस्थिरता उत्पन्न हुँदै जान्छ तबसम्म आर्थिक, शैक्षिक तथा साँस्कृतिक रुपमा देश दलदलमा भासिरहेको हुनेछ । र यो बहुदलीय व्यवस्थाको सुन्दर अनुहार हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: