Facebook Twitter Google+ Google+
DHO

शैक्षिक सामग्री विद्यार्थीको आकर्षण

सिगास प्रावि छिडाका विद्यार्थीहरु शैक्षिक सामग्री सहित पढ्दैAdvertise Here

भगीरथ अवस्थी,
बैतडी, १३ बैशाख ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ नागार्जुनका कक्षा ३ का करिश्मा पन्त आजभोली विद्यालय जान निकै हतार गर्नुहुन्छ । शुरुमा स्कुल जान नमान्ने करिश्मा विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था भएपछि विद्यालय जान उहाँ हौसिन थाल्नु भएको हो । गाउँकै नानीगाड आधारभूत विद्यालयमा जिल्ला शिक्षा कार्यालयले विश्व खाद्य कार्यक्रम, विश्व शिक्षा र सामाजिक चेतना तथा विकास संघ साडाको सहयोगमा शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यालयमा आउने विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक देव बहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामीसंग आधारभूत तहका विद्यार्थीहरुलाई पढाउनका लागि प्रशस्त शैक्षिक सामग्रीहरु छन् । भाषा बिषय र गणित बिषय पढाउनका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध भएका छन् । विद्यार्थीहरु ती सामग्रीको प्रयोग गरेर पढ्न निकै रुचि राख्ने गर्दछन् ।’

कक्षा २ छात्र प्रेम दयाल पनि आजभोली विद्यालयमा पुग्न निकै हतार गर्ने गरेको उहाँका बुवा जयराम दयालले बताउनुभयो । उहाँले भन्नुभयो ‘शुरु शुरुमा विद्यालय पठाउन निकै गाह्रो हुन्थ्यो । गएको एक बर्षदेखि विद्यालयमा शैक्षिक सामग्री आएपछि उ स्कुल जान निकै खुशी हुन्छ ।’
विद्यालयकी शिक्षिका मञ्जु पन्तका अनुसार विद्यालयमा शैक्षिक सामग्री उपलब्ध भएपछि बालबालिकाहरु रमाएर पढ्ने गर्दछन् । उहाँले भन्नुभयो ‘शैक्षिक सामग्री प्रयोग गरेर पढाउँदा विद्यार्थीहरु पनि चाँडै सिक्ने गर्दछन् ।’

विद्यालयमा शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा समेत सुधार आएको प्रधानाध्यापक देव बहादुर चन्दले बताउनुभयो । उहाँ भन्नुभयो ‘शैक्षिक सामग्री नहुँदा शैक्षिक उपलब्धि कम थियो । शैक्षिक सामग्री सहित पढाउन थालेपछि शैक्षिक उपलब्धिमा पनि सुधार भएको छ ।’

नानीगाड आधारभूत विद्यालयमा मात्र नभएर जिल्लाका १९७ ओटा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो । जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले आधारभूत तहमा पहिलाको तुलनामा जिल्लाभरी विद्यालय आउनेको संख्या पनि बढेको छ । विद्यार्थीको सिकाइ उपलब्धि पनि बढेको छ ।’

जिल्लामा आधारभूत तहमा अहिले पनि ३ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई पनि विद्यालयमा भित्र्याउनका लागि प्रारम्भिक तह पढाई कार्यक्रमले सहयोग पुर्याएको जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालय बाहिर रहेका ३ प्रतिशत बालबालिकाहरुलाई विद्यालयभित्र ल्याउनका लागि हामीले शैक्षिक सामग्री वितरण, भर्ना अभियान लगायतका कार्यहरुलाई जोड दिएका छौं ।’

विद्यार्थीहरुले सुनेर भन्दा देखेर बढी सिक्ने गरेको श्रोतव्यक्ति अमर ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्लाका विभिन्न ठाउँका आधारभूत विद्यालयमा शैक्षिक सामग्री आएपछि शिक्षकहरुलाई भाषा बिषय र गणित बिषय पढाउन सजिलो भएको छ । पहिलेको तुलानामा शैक्षिक उपलब्धिमा पनि धेरै प्रगति भएको छ ।’

जिल्लाका आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुभन्दा पहिला कक्षा १ मा नेपाली बिषयको औसत सिकाइ उपलब्धि ५७ प्रतिशत रहेकोमा यो बर्ष ६५ प्रतिशत पुगेको छ । यस्तै गणित बिषयमा ५१ प्रतिशत रहेकोमा यो बर्ष ६१ प्रतिशत पुगेको शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था विश्व शिक्षाका कार्यक्रम अधिकृत पदमसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘कक्षा २ मा नेपाली बिषयमा ५६ प्रतिशत सिकाइ उपलब्धि रहेकोमा अहिले ६८ प्रतिशत पुगेको छ भने गणितमा पनि ५० बाट ६३ प्रतिशत पुगेको छ । यस्तै कक्षा ३ मा पनि नेपाली बिषयमा सिकाइ उपलब्धि बढेर ५७ बाट ६४ पुगेको छ भने गणितमा ५२ बाट ५७ प्रतिशत पुगेको छ ।’

आधारभूत तहमा शैक्षिक सामग्री वितरण गरेपछि सिकाइ उपलब्धिमा आएको बढोत्तरी र विद्यार्थीहरुको रुचि बढेकाले जिल्लाभरीका आधारभूतका विद्यालयमा शैक्षिक सामग्री वितरणका लागि पहल गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै
  • बिद्यालय भवन निर्माणमा अनियमितता भएको खुलासा
  • धनगढीमा शैक्षिक मेलाको तयारी पुरा
  • मल्लाढीकमा १८ महिने भेटेरीनरी जेटिएको पढाई हुने
  • एसईईको नतिजा सार्वजनिक
  • परीक्षाको मुखमा पनि भीमदत्त क्याम्पसमा अध्ययन-अध्यापन ठप्प
  • कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन हुने
  • खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन तालिम सम्पन्न