DHO

नियात्रा : टीकाजस्तै टीकापुर

tika
  • निर्मोही व्यास 

17201379_1319061488132876_1075763735015116633_n

“निधारको त्यो रातो टीका… छाप बनी बस्यो यो दिलैमा…”

“आहा ! मेरो दिलमा पनि छापै बनेर बस्यो टीका !” फरक कति भने गीतकार म.वी.वि.शाहको दिलमा उनकी प्रेयसीको निधारको टीका छाप भएर बसेको थियो र मेरो दिलमा छाप बनेर बस्ने टीका चाहिँ थियो नेपाल आमाको निधारको सुन्दर टीका कैलाली जिल्लाको मनोरम नगरी ‘टीकापुर’ ।

साँच्चै टीकाजस्तै लाग्यो मलाई टीकापुर !

मलाई टीकापुर डुलाइदिने त्यो गुनिलोे मिति थियो — २०५७ साल माघ २८ गते ।

टीकापुरको मोहनीमुहार सर्सर्ती एक झलक त हिजो लम्कीदेखि सत्ती जाँदा बसबाटै देखिसकेकै थिएँ । पूर्वपश्चिम राजमार्गको लम्कीचोकदेखि दक्षिणतर्फ राजीपुर, अमौरी, अमौरा, पठरैया, तोरैयापुर, दुर्गौली, भगतपुर आदि गाउँ हुँदै भारतको तिकोनियाँबजारसम्म लम्बिएको महत्त्वपूर्ण सडकको झन्डै माझखण्डमा अवस्थित कैलाली जिल्लाकै एक अति महत्त्वपूर्ण जनपद भएर पनि अझसम्म यातायातको राम्रो व्यवस्था र सडकको गतिलो अवस्था नभएको तर व्यवस्थित रूपमा निर्माण गरिएको नागरसंरचनाका साथै त्यहाँको प्रकृति र जीवनले मोहनी नै लगाएको थियो निर्मोहीलाई । र त टीकापुरलाई नै कैलालीको प्रतिनिधिका रूपमा लिएर निर्मोहीले फुर्फुरिँदै बसभित्रैबाट गीति–संबोधन गरेको थियो कैलालीलाई—

“निर्मोहीलाई मोहनी लायौ ए मेरी कैलाली !
तिमीलाई भेट्न कलैयादेखि आएँ म हाम फाली”

टीकापुरको सर्वाङ्ग दर्शनको उखर्माउलो धोको मेट्न त्यसै दिन फेरि त्यहाँ पुग्ने मेरो सोचाइलाई श्रेष्ठ प्रिया ‘पत्थर’ को “टीकापुर डुल्ने कार्यक्रम चाहिँ भोलिलाई राखौँ दाजु ! भोलि त्यहाँ एउटा साहित्यिक संस्थाद्वारा कार्यक्रम गरिँदै पनि छ, त्यसो हुनाले आज चाहिँ बरु राजापुरतिरै जाऔँ” भन्ने भनाइले भोलिपल्टका लागि थाती राखेर त्यस दिनको यात्राको मेलोलाई बर्दियाको राजापुरतिर डोर्या‍एको थियो ।

अँ त, २८ गते बिहानको भोजनपछि प्रिया र म सत्तीबजारबाट प्रस्थान गरी मोटर चढेर एघार बजे झर्यौँ नगरविस्तार योजनामा परेर विकासको बाटोमा धमाधम अघि बढिराखेको टीकापुरबजारमा ।

अस्ति दिउँसो १ बजे देखि हिजो बिहान ९ बजेसम्मको वीरगन्ज—सत्तीबजार दिवा, रात्रि र प्रभातकालीन समेत गरी अखण्ड रूपको २० घण्टे बसयात्रा, अनि फेरि बसबाट ओर्लेर हातमुख जोर्नासाथ लगत्तै हिजो दिउँसो १० बजेदेखि बेलुकी ६ बजेसम्म सत्ती—राजापुरको सेरोफेरोका अणु–अणु चहार्न लखरलखर लखर्किँदै–भौँतारिँदै गरिएको पदयात्रा, अनि त्यसमाथि हिजोको बास प्रियानिवास ‘साहित्य वाटिका’ मा रातभरि र आज बिहानभरि पनि आउँले कटक्क पेट काटेर तारन्तार अनगन्तीपल्ट गर्नुपरेको शौचालयतर्फको थप म्याराथुन यात्रा समेतले गर्दा ‘नचला न झिँगा’ भएको जिउ लिएर आज अहिले फेरि टीकापुरको भ्रमणमा निस्केको थिएँ म औषधीको दोब्बर मात्राको चक्कीलाई सुलुत्त पेटमा पठाएर । बल्लबल्ल ४८ वर्षको उमेरमा पहिलोपल्ट यता आउन जुरेको साइतलाई ‘पेट दुख्यो’ भन्दैमा कसरी उपेक्षा गर्न सक्थेँ त म ?

टीकापुरको माटोमा पाइला पर्नासाथ हिजो बसबाट झुलुक्क देखिएको एउटा अमिलो दृश्यमा नै आज पनि सर्वप्रथम ठोक्किए मेरा आँखा ।

बाटाको पूर्वी छेउको फराकिलो चउरमा कतै झुरुम्म र कतै लमतन्न परेका थिए घोचाघोची गाडेर तयार पारिएका पातलो प्लास्टिकका छानावाल र चौतर्फ उदाङ्ग परेका थुपै्र ओतहरू वा ‘ओत’ नाउँ पाएका ‘पाल’ भनिने ओतका भ्रमहरू ! तीभित्र प्रायः काला, अर्धनग्न स्वरूप र लिखुरे जिउडालका विभिन्न रूपरङ्ग र उमेरका अनेक नारीपुरुष मानव–आकृतिहरू हलचल र कल्याङमल्याङ गर्दै थिए । माघ महिनाको सिमसिमे पानीले निथ्रुक्कै भिजेका थिए ती । तिनका हाँडाचिन्डा र थाङ्नाथराको प्रदर्शनी नै लागेको थियो । वर्णनातीत पीडाको ज्यूँदो प्रदर्शनी ! ओतैपिच्छे खुला आकाशमुनि चुलाहरू धुवाँइएका थिए चिसा झिक्राझिक्री बटुलेर र तिनमाथि भाँडाहरू बसालेर तन्मयतासाथ आगो–पानीको आराधनामा जुटेका थिए ममतामयी अन्नपूर्णाहरू ।

यो मर्मान्तक दृश्य थियो पुस्तौँदेखिको दासत्वको साङ्लो चुँडालेर पशुयोनिबाट भर्खरै उन्मुक्ति पाई मान्छे हुनाको प्रथम हर्षानुभूति सँगाल्न पाएका आदिवासी थारू जातिका असङ्ख्य दीनहीन मुक्त कमैया परिवारहरूको । कठै ! त्यस दृश्यको क्षणिक दर्शनले हिजो अग्घोरसित रन्थनिएको थिएँ म र आज झन् बढी रन्थनिएँ । तिनले शताब्दीऔँ लामो त्यस दुर्दान्त यातना–शृङ्खलाबाट सदासदाका लागि उन्मुक्ति पाएकामा अपार खुसीसँगसँगै तिनको अव्यवस्थित वर्तमानको असह्य पीडा र अज्ञात भविष्यको दुश्चिन्ताले सन्तप्त भयो मेरो मन । मानवीय र राष्ट्रिय स्नेह–संवेदनाले अन्तव्र्याप्त मेरो सुकुमार मन । त्यस्तै मित्रहरूबाट प्राप्त अर्को मर्मान्तक जानकारीले झन् छियाछिया र लेथ्नुलेथ्नु भयो मेरो मुटुकलेजो नै !

हरे ! यो चउर त टीकापुरको विमानस्थल पो हो रे । जनयुद्धका नाउँमा केही समयअघि यहाँको टावर ध्वस्त पारिएर विमान–सञ्चालनमा अवरोध पुर्‍याइएपछि यस्तो बेवारिसे अवस्थामा मिल्किन पुगेको हो रे यो । कसैले पनि यस्तो विध्वंसका निम्ति ज्यान हत्केलामा राखेर देखाउने फुर्ती र जाँगरको सानो अंश पनि सिर्जनामा लगाएको देख्न पाए सन्तोष र गर्वले कति फराकिलो हुने थियो सबैको छाती ! अरूका स्नेह, सद्भाव, सीप र सामथ्र्यबाट सिर्जिएका सिर्जनाहरूलाई ध्वस्त पार्ने कुकृत्यतर्फ कसैले पनि यस्तो फुर्ती र जाँगर नदेखाए मात्र पनि त देश र जनताको हकमा ठूलो योगदान हुने थियो नि ! तर त्यो कुरा त हामीजस्ता निरीह जनताका निम्ति मनको लड्डू घिउसित खाएसरह नै त हो । यसरी नै बन्ने होला कि त ‘नयाँ नेपाल’ ? खै कुन्नि ! ध्वस्त पार्नेहरू नै जानून् ।

अँ, त्यसपछि ‘मोती साहित्य समाज’ को पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक गोष्ठीमा सम्मिलित हुन वीरेन्द्र विद्यामन्दिर नाउँको उच्च माध्यमिक विद्यालयको नजिकै अवस्थित ज्ञानकुञ्ज पुस्तकालयको आँगनमा लगिएँँ म र तालुमा आलु फलाउँदै प्रमुख अतिथिको आसनमा बसालिएँ म ।

कार्यक्रमको प्रारम्भ प्रेम थापा र श्याम रावल नाउँका दुई जना कला र गलाका सुन्दर दोभान स्थानीय नवयुवा गायक कलाकारहरूको डेउडागायनबाट भयो साह्रै मीठो स्वर र लयमा । र निश्चल के.सी. नाउँका बीसवर्षे स्रष्टाको ‘अन्तर्ध्र्वनि’ शीर्षक ५१ वटा मुक्तकहरूको सङ्ग्रह लोकार्पित भयो । बसिबियाँलो गर्दै मैले त्यहीँ नै आद्योपान्त पढिसिद्ध्याएँ त्यो पुस्तक । त्यसभित्रका धेरैजसो रचना साह्रै सुन्दर लागे मलाई । निर्धारित कार्यक्रमअनुसार त्यसपछि लक्ष्मी ओड, दीपक धिताल, निश्चल के.सी.आदि थुप्रै थानीय स्रष्टाहरूले आ–आफ्ना ओजिला कविता, गजल, मुक्तक र गीति–रचनाहरू सुनाए । प्रस्तुत रचनाहरूमध्ये मुक्तकको सङ्ख्या बढी थियो र गुणात्मकताका दृष्टिले पनि अन्यका तुलनामा मुक्तक नै अघि लाग्यो मलाई । त्यस्तै स्थानीय वीरेन्द्र विद्यामन्दिर उच्च मा.वि.का शिक्षक चतुर्भुज ‘निर्मल’ गौतमले र त्यसै विद्यालयका प्रधानाध्यापक धनञ्जय तिमल्सेनाले अनुष्टुप् छन्दको मीठो कविता सुनाउनुभयो भने मनिकापुर मा.वि.का छात्र रमेश धितालले मीठो स्वरमा नेपाली गीत गाए । कैलालीका यी स्रष्टाहरूमध्ये कतिपयका रचनासित म केहीअघिदेखि नै परिचित थिएँ, आज स्रष्टाहरूसित पनि प्रत्यक्ष रूपमा परिचित हुन पाउँदा निकै खुसी लाग्यो । कल्कलाउँदो उमेरका स्थानीय अनेक नारी–पुरुष स्रष्टाहरूका ज्यूँदा रचनाहरू सुन्न पाउँदा कवि माधव घिमिरेको —

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल’

भन्ने अमर काव्याभिव्यक्तिको मीठो सम्झनाले एकचोटि फेरि अभिभूत तुल्यायो मलाई ।

झन्डै तीनघण्टै चल्यो कार्यक्रम । त्यहाँ अनेक स्रष्टाहरूबाट पुस्तक र पत्र–पत्रिका सप्रेम उपहार प्राप्त गरेँ मैले र चियापानपछि बिदा भयौँ हामी । कैलाली जिल्लाको साहित्यिक कार्यक्रममा मेरो पहिलो सहभागिता हुनाका साथै रेडियो र टेलिभिजनबाट बाहेक प्रत्यक्ष रूपमा कसैको मुखबाट गाइएको डेउडा वा देउडा गायन सुन्ने–हेर्ने पनि यो नितान्त पहिलो अवसर नै भएकोले टीकापुरको यो साहित्यिक उत्सव मेरो निम्ति अत्यन्त महत्त्वपूर्ण भयो ।

अबको पालो थियो ‘बृहत् टीकापुर उद्यान’ भ्रमणको । त्यसैले त्यहाँबाट कैलाली–नारायणपुरका सम थापा र चितौने लक्ष्मण गौतम नाउँका होनहार पत्रकार–साहित्यकार भाइहरूसित उनीहरूका दुईवटा मोटरसाइकलमा ‘टु इन वन’ का दरले सवार भएर टीकापुरनगरको विहङ्गावलोकन गर्दै ‘बृहत् टीकापुर उद्यान’ हेर्न गयौँ प्रिया र म ।

क्षेत्रफलका दृष्टिले नेपालको सबैभन्दा ठूलो उद्यान भनिने त्यस उद्यानको प्रवेशद्वारबाट छिरेपछि बाटाको दुवैतर्फ कवि भीमनिधि तिवारीको अनुष्टुप् छन्दको एकश्लोके कवितात्मक अभिव्यक्तिलाई दुई भागमा बाँडेर अङ्कित गरिएका टिनका प्लेटहरू देखिए । तीमध्ये पूर्वतिर यस्तो पङ्क्ति थियो —
“कला सौन्दर्यको आत्मा, देशको अभिमान हो”
र पश्चिमतिर थियो —
“कला एकान्तको साथी, कला स्वर्गीय दान हो”

आहा ! कति मीठो कला–गान ! प्रवेशद्वारमै गद्गद भयो मेरो मन तिवारीका ती अभिव्यक्ति देखे–पढेर ।

उद्यानभित्र अघि बढ्दै जाँदा एकातिर ईँटको जग र काठका फलेकको बार भएको र खरले छाएको ‘महेन्द्र आरोग्य गृह’ देखियो । देहावसानको ठीक चार वर्षअघि २०२४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आएका बेला हृदयाघात भएपछि यही ठाउँमा आएर २८ दिन बसी स्वास्थ्यलाभ गरेका थिए रे राजा महेन्द्रले । प्रवेशद्वारको केही अगाडिपट्टि ‘महेन्द्र उद्यान’ भित्र रहेछ कलात्मक ‘महेन्द्र–स्तम्भ’ र त्यसमा महेन्द्रको “नेपाल ! मेरो तिमीलाई उपहार भो यो जिन्दगी” भन्ने कविता पूरै उत्कीर्ण रहेछ । महेन्द्र उद्यानको ठीक सामुन्ने रहेछ माछा आकारको ‘रत्न उद्यान’ र माछापोखरी पनि ।

रत्न उद्यानदेखि बाहिरपट्टि नजिकै कर्णालीको दौलतपुरघाटपारिको जङ्गलमा दुई–तीन समूहको वनभोज र नाच–गानको रमझम चल्दै रहेछ । सामुन्ने तिनका केही जीपगाडी पनि उभिएका थिए । त्यो देखे–सुनेर खपिनसक्नु गरी उखर्माउलिएका मेरा कान र आँखाले मन र गोडासित सुटुक्क साउती गरे— कसो मित्रहरू ! जाने होइन त बनभात र नाचगानको रमाइलोमा रङ्मगिन ? उनीहरू झन् के कम ? अघिदेखि नै ‘के निहुँ पाऊँ कनिका बुक्याऊँ’ भइरहेका उनीहरूले त झन् अब दाम्लै चुँडालेर बुर्लुक्क उफ्री हाम फाल्न कम्मरै कसे । बाफ रे…! कम्ती हम्मे परेन मलाई यी चारै थरीलाई तह लगाउन ! हरे…! थुम्थुम्याउँदैको सास्ती ।

महेन्द्र आरोग्य गृहको पूर्वोत्तरमा रहेछ ‘वीरेन्द्र विश्राम वाटिका’ । यसको दायाँबायाँ लहरै शिखरशैलीमा लगाइएका तन्नेरी ‘अशोक’ वृक्षहरूका साथै सामुन्ने रङ्गीचङ्गी विभिन्न फूल र बोटबिरुवाहरूले सिँगारिएको ‘ऐश्वर्य उद्यान’ पनि रहेछ । त्यस्तै वीरेन्द्र विश्राम वाटिकाको अर्कोतिर सामुन्ने लहरै रहेछन् पानीका फोहराहरू । हाम्रा रौसे सहयात्री भाइहरूले ठाउँठाउँमा हाम्रो टोलीको सामूहिक फोटो खिँचे । कञ्चन कर्णालीनदीको पश्चिमी भँगालाको पश्चिमी काखमा अवस्थित वनकुञ्जकै रूपमा मोहनीलाग्दो रहेछ यो उद्यान । अघिल्लो दिन प्रियासित राजापुर जाँदा मैले अलि तल्तिरको घाटबाट छाप्लाङ्छुप्लुङ गरेर रमाउँँदै तरेको थिएँ कर्णालीको त्यस भँगालोलाई । अहिले उद्यान–भ्रमणका क्रममा चाहिँ त्यो अवसर जुर्न सकेन मेरो मन जति लालायित भइराखे पनि ।

tikapur
राजा महेन्द्रले २०२४ सालमा स्वास्थ्यलाभ गरेको खरको छाप्रोवाल ठाउँलाई केन्दविन्दु तुल्याएर ०२८ सालमा यस उद्यानको स्थापना गरिएको रहेछ । त्यसभन्दा अघि यो ठाउँ गाईबस्तु चराउने डाँडा थियो रे । यस उद्यानको पूरा क्षेत्रफल ८४ बिगहा रहेछ । त्यसअन्तर्गत उद्यान चाहिँ ९ बिगहामा फैलिएको रहेछ र त्यसभित्रको फूलबारी मात्र पनि ४ बिगहा क्षेत्रफलमा विस्तारित रहेछ । जसमा अरू फूलहरूबाहेक गुलाफ फूलका मात्र ५२ प्रजाति रहेछन् । उद्यानको स्थापनामा तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंहको ठूलो भूमिका रहेछ । उद्यानसम्बन्धी यी पूरै जानकारी हामीलाई भ्रमणका क्रममा संयोगवश त्यहीँ भेटिएका उद्यानकै ठेकेदार टीकापुर निवासी टेकबहादुर खँड्काले दिए ।

अस्ति घरबाट हिँड्दा यता कैलालीतिर बसेर गएका मेरा एक–दुई कलैयाली मित्रले आफूलाई भनेको कुरा झल्झली सम्झिरहेको थिएँ म — “व्यासजी, तपाईँ कैलाली जान लागेको हो भने टीकापुर जान नबिर्सनुहोला है ! असाध्यै राम्रो ठाउँ छ । त्यहाँको उद्यान त झन् मोहनी नै लगाउने खालको छ । टीकापुर र त्यहाँको उद्यानमा नजाने हो भने बरु कैलाली नै नगए हुन्छ ।” ।
आहा ! आज अहिले यति बेला म कैलालीको त्यही मनोरम थली टीकापुरमा थिएँ र टीकापुरको पनि मुटुकैरूपमा रहेको त्यही मनमोहक उद्यान छाप्छाप्ती चहारेर आफैँमा भरिपूर्ण भइरहेको थिएँ ।
अँ, मैले घुमीघुमी खूब चहारेँ त्यस उद्यानका एक–एक अणु–अणु कतै केही बाँकी नै नराखेर । यहाँ फेरि कहिल्यै आउन पाइने हो–होइन ! त्यसैले हेरिहाल् बाबु ! डुलिहाल् बाबु ! समयको पर्याप्तता र समान रुचिका सहयात्रीहरू भएपछि अनि त्यसमाथि पनि अझ उनीहरूले नै तँलाई यो ठाउँ डुलाउनै–देखाउनै भनेर ल्याएकाले केको पीर ?

यस ‘बृहत् टीकापुर उद्यान’ को भ्रमणका क्रममा यहाँ अहिले ‘महेन्द्र आरोग्य गृह’, ‘महेन्द्र उद्यान’ र ‘महेन्द्र स्तम्भ’ लाई देख्ता अनायास मेरा आँखामा राजा महेन्द्रसित सम्बन्धित आफ्ना पुराना स्मृति–प्रसङ्ग झल्झलाकार भएर आए ।

हजूर, २०१६ सालको वैशाखमा ललितपुर जिल्लामा रहेको विकट पहाडी गाउँ माल्टा गएको थिएँ म । त्यो मेरो मावली गाउँ हो । मलाई त्यहाँ बर्तमन गर्नका लागि लगिएको थियो घर कलैया,बाराबाट । त्यस ताका जम्माजम्मी साढे छ वर्षको थिएँ म । बर्तमन गरेको चार–पाँच दिनपछि जेठको २ वा ३ गतेका दिन बिहानको खानपिन सकेर आमा, म र मामा–माइजूलगायत गाउँका अनेक बूढाबूढी, तन्नेरी–तरुनी र केटाकेटीसहितको हाम्रो ठूलो टोली माल्टाबाट बाग्मतीको किनारैकिनारको बाटो लागेर उकाली–ओराली गर्दै र चण्डेश्वरीथान, पाङ्ग्रे, फाप्लाङ, आदि गाउँठाउँ नाघ्दै केही घण्टा लगाएर बगुवाबेसी भन्ने ठाउँमा गएको थियो । बाग्मतीको बगरमा ओर्लेर त्यहाँ छरिएका ढुङ्गा–ढुङ्गामा ढेडुको हुल बसेझैँ टाक्राकटुक्रुक बस्न पुगेका थियौँ हामी हजारौँ अरू गाउँले नरनारी र बालबालिकाहरूसँगै मिसिएर । वारिकिनारलाई ललितपुर जिल्लामा र पारिकिनारलाई मकवानपुर जिल्लामा बाँडेर दुई विशाल डाँडाको बीचमा कल्कलाउँदै बगेको कञ्चन बाग्मतीको वारिपारिका फराकिला दुवै बगर भरिभराउ थिए त्यस दिन । वारि बगरमा हामी असङ्ख्यअसङ्ख्य जनता थियौँ भने पारि मकवानपुरतर्पmको बगरमा कान्तिराजपथको उत्तरी छेउमा खोलाको पानीनजिकै ठूल्ठूला ढुङ्गैढुङ्गा जोडेर अग्लो र फराकिलो मञ्च तयार पारिएको थियो । त्यसको अलिक पर्तिर भोज–भतेरको तयारी हुँदै थियो । त्यसतर्पm चाहिँ जनसाधारणलाई ‘प्रवेश निषेध’ थियो । कारण ? कारण के भने त्यहाँ त्यस दिन राजा महेन्द्रको सवारी हुँदै थियो । र, उनकै दर्शनका लागि हामी झुत्ती खेलेर पुगेका र पुर्‍याइएका थियौँ ।

स्थानीय असङ्ख्य गाउँले नरनारीका नानाबली गफ सुन्दै निकै बेर बिताएपछि आकाशमा हेलिकप्टर मडारिँदै झुल्कियो र कानै खाने कोलाहलसहित पारिपट्टि डिलमाथिको चउरमा टुक्रुक्क बस्यो । हेर्दा हेर्दै त्यसको घ्याम्पे भुँडीबाट फुतुफुतु केही मान्छेहरू निस्के र वारिपारि बसेका हजारौँ जनसामान्यका जोरदार ताली र “श्री ५ महाराजधिराजको…जय…!” भन्ने तुमुल ध्वनिसँगै त्यस सजिसजाउ ढुङ्गे मञ्चमा उक्लेर लहरै राखिएका कुर्सीहरूमा विराजमान भए महाराज र अरू आगन्तुकहरू । अघिसम्मको जनकोलाहल अब जनशून्यजस्तै शान्त भयो । हाम्रो अघिल्तिर बसेका दुई–तीन महिला बिस्तारै पोखिन थाले आपसमा । एउटीले पारितिर चोरऔँला सोझ्याउँदै भनिन् — “माराज त ती बिच्चमा बसेका टोपी र चस्मा लाउने भइहाले, धिराज चाहिँ कुन रेछन् नि हँ ?” अर्कीले बुज्रुक्याइँ छाँटिन्— “लौ कस्तो नचिनेकी त मोरी ! तिः क्या चस्मा लाएर देब्रेतिर बसेका सिरी पाँच माराज र उनीसँगै दाहिनेपट्टि बसेका उस्तै अनुहारका चाहिँ सिरी पाँच धिराज ।” त्यसपछि उनीहरूले र छेउछाउका अरू धेरैले पनि “लौ आज साक्षात् बिस्नु भगवान्को दर्शन पाइयो, सप्पै पाप पखालियो, गति परियो” भनेर भक्तिभावले हात जोडेर दर्शन गरे । म फुच्चेलगायत हाम्रो सम्पूर्ण माल्टाली मण्डलीले पनि रिट्ठो नबिराईकन त्यसै गर्यो । एउटै श्री ५ ‘महाराजाधिराज’ लाई ती बिचरीहरूले ‘महाराज’ बेग्लै र ‘धिराज’ बेग्लै भनेर दुई व्यक्तित्व बनाइदिएका थिए । त्यतिखेरको साढे छ वर्षे म बबुरोलाई के थाहा ! होला त नि भन्ठानेँ ।

त्यसको लगत्तै केही बेरमै हामीले आँखा झिम्म पनि नगरेर हेर्दा हेर्दै पारिपट्टि एउटा अनौठो दृश्य देखियो । ‘के त ?’ भन्दा मञ्चको दाहिनेतर्पm अर्थात् कान्तिराजपथको दक्षिणपट्टिको बुट्यानमा तन्मय भएर बाख्राको बथानलाई चराइरहेकी एउटी गोठाल्नी बूढीआमैका चर्दै गरेका दुइवटा घोर्लेघोर्ले लामकाने खसीलाई दुई जना सिपाहीले कानमा समातेर घिसार्दै ल्याई मञ्चको देब्रेपट्टि खोलाको बगरमा पु¥याएर खुकुरीले छ्याक्कै पारिहाले । एक वचन सोध्नु नओर्नु एक्कासी अर्काको माल त्यसरी मनपरीसित घिच्याएर लगी काटिदिएको घटनाले रन्थनिँदै “असत्ती मोराहरूलाई नमारिछाड्दिन” भनेर पछिपछि रुँदै र लौरो उज्याउँदै आएकी गोठाल्नी बूढीआमै हेरेको हेर्यै भइन् । त्यो दृश्य सारा दर्शकका लागि अत्यन्त पीडादायी थियो तर गजब के भने अरू त अरू स्वयं महाराजसमेत मुसुमुसु हाँसेर त्यस दृश्यबाट मनोरञ्जन गरिरहेका थिए । त्यसपछि अन्यायमा पिल्सिएर बर्बरी आँसु झारिरहेकी ती बूढी आमैलाई कसैले केही रुपियाँ दिएको थियो र उनी चुप लाग्न बाध्य भएर आँसु चुहाउँदै बाख्राको हुल भएतिर लागेकी थिइन् । ‘राजाको अगाडि बाबुको दुहाई !’ भन्ने उखान त्यहाँ त्यस बेला पूरै चरितार्थ भएको थियो । केही घण्टाको बगरबसाइपछि हाम्रो टोली मरीमरी उकालो लागेर मामाघर फक्र्यो ।

पछि २०२१–२२ सालतिर मेरै गाउँघर कलैयामा राजा महेन्द्र आएको बेलामा आफ्नो पढाइ–लेखाइसम्बन्धी समस्या हालेर राजालाई सम्बोधन गर्दै संस्कृत भाषामा एउटा निवेदन लेखी मञ्चमै चढेर वाचन गर्ने र त्यो निवेदन आयोजकमार्फत राजाका हातमा सुम्पने अवसर मिल्यो मलाई । राजा महेन्द्रलाई मैले प्रत्यक्ष देखेको त्यति दुईपल्ट नै हो ।

०१६ सालमा त्यस बगुवावेसीमा महेन्द्र किन गएका थिए र त्यहाँ उनले के के भने ती कुरा त म जम्माजम्मी साढेछ वर्षे बच्चोको चासो र मस्तिष्कको क्षमताभित्र पर्ने कुरै भएन तर बाख्रागोठाल्नी ती बूढी आमैसित सम्बन्धित त्यो मार्मिक घटना–प्रसङ्ग भने मेरा आँखामा आज पनि अभैm सजीव रूपमा झल्मलाइरहेकै छ ।

यसरी केही बेर राजा महेन्द्र्रसित गाँसिएको आफ्नो पुरानो स्मृतियात्रामा हराएर फेरि वर्तमानमा फर्केँ म । दुई घण्टाजतिमा उद्यानको भ्रमण–अवलोकन गरिसिद्ध्याएर फर्कने क्रममा हामी प्रवेशद्वारको छेउमै रहेको ‘सुक्लीपुर’ गाउँमा पुग्यौँ । त्यस गाउँको नाउँ पहिले ‘नुक्लीपुर’ वा ‘नक्कलीपुर’ थियो रे । यताको निकै पुरानो थारूगाउँ हो रे यो । अहिले त थारू जातिसँगै अरूअरू जातिको समेत छ्यासमिस बसोबास रहेछ । त्यसै सुक्लीपुर/नुक्लीपुर/नक्कलीपुर गाउँको एउटा चियापसलमा चिया खायौँ हामीले । चिया खाँदै गर्दा थाहा पाएँ त्यस उद्यानभित्र धूमपान र मदिरापान निषेधित रहेको कुरा । निकै खुसी लाग्यो त्यो थाहा पाएर । तर अचम्म ! अघि भर्खरै त्यहाँ घुम्दा आफूले एक–दुई विदेशी पर्यटक निषेधित पदार्थको स्वादमा निर्धक्कसित रमाइरहेकोे दृश्य देखेको थिएँ । अनि छक्क पर्दै त्यसबारे सहयात्री भाइहरूसित चर्चा गरेँ मैले । उनीहरूले सुनाए— “नेपाली पर्यटकलाई मात्र प्रतिबन्ध हो सर ! विदेशीलाई होइन ।” र “यस्तो किन त ?” भन्ने मेरो जिज्ञासाको जबाफमा उनीहरू पोखिए— “ल, विदेशीहरू त हाम्रा पाहुना हुन् नि, अनि फेरि उनीहरूबाट त डलर पनि प्राप्त हुन्छ संस्थालाई र त्यसबाट राष्ट्रको आमदानी बढ्छ, आर्थिक विकासमा टेवा पुग्छ, अनि त !”

उनीहरूको यस्तो उत्तर सुनेर कन्पारो रन्कियो मेरो । ‘ए, विदेशी पाहुना हुन् भन्दैमा तिनलाई जे गर्न पनि छुट ? प्रतिबन्धित वस्तुको प्रयोग गर्न पनि तिनलाई कुनै नियमले नछुने ? नियम जति नेपालीलाई मात्र ? उसोभए डलर अर्जनका निम्ति मनोरञ्जनका अन्य विविध अवैध सामग्री पनि किन नजुटइदिने त ? छिः डलरको वर्षा हुन्छ, आमदानी भित्रिन्छ भनेर आफैलाई पनि बेचिदिन पछि नपर्ने कतिसम्म तल्लो स्तरमा झरिसकेछौँ त हामी ? आफ्नो विवेक र विश्वासलाई बेचेर, चेतना र स्वाभिमानाई बेचेर, आपैmलाई बेचेर पाएको आमदानी के आमदानी ? धिक्कार ! आतिथ्यका नाउँमा हाम्रो यो कस्तो दासमनोवृत्ति ! के आर्थिक सम्पन्नता मात्रै सम्पन्नताको सम्पूर्णता हो ? आर्थिक विकासका नाउँमा कस्तो निर्लज्ज र घृणित चिन्तन ? किन यति प्यारो हामीलाई यो हीनता र लुच्चोपनको ग्रन्थि ? यसबाट कहिले पनि मुक्त हुँदै न हुने हो त हामी ?” यस्तैयस्ता कुकृत्यका निम्ति किरिया नै हालेको हो त हामीले ? यसरी रनन्न कन्सिरी रन्कियो मेरो, तर के पो नै गर्न सक्थेँ र म रन्किनु, फन्किनु र थन्किनुबाहेक ? उफ … ! आफ्नो पुर्पुरो समाएँ मैले ।

त्यसपछि उहीउही मोटरसाइकलमा अर्थात् सम थापाकोमा ‘पत्थर’ र लक्ष्मण गौतमकोमा ‘निर्मोही’ सवार भई कच्ची सडकमा बुङ्बुङ्ती उडेको धूलोको कुइरीमण्डलमा सर्वाङ्ग स्नान गर्दै बेलुका सत्तीबजारको ‘साहित्य वाटिका’ मै फक्र्याैँ हामी ।

भोलिपल्ट, माघ २९ गते बिहानको भोजनपछि प्रियाकै तत्परतामा स्थानीय गजलकार भाइ दिव्यसागर साउदको साथ लागेर विष्णुकान्तिपुरका धरतीहरूसँग साक्षात्कार गरी दिउँसो २ बजे सत्तीबजारको बसपार्कमा धनगढीको बस चढेँ म । बस नखुलुन्जेल साउदजीले सँगै बसेर आफ्ना निकै गजल सुनाए । अनि यात्राको मङ्गल कामना अर्पेर उनी आफ्नो गाउँ सूर्यपुरतिर कुदे टिनिन्न साइकलको घन्टी बजाउँदै । (निर्मोही व्यासको प्रकाशोन्मुख नियात्रा-सङ्ग्रह ‘रङैरङको तरेलीमा’बाट)

फोटो स्रोत : Beautiful Farwest of Nepal

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • ‘जियालो’ महाकाव्य लोकार्पण
  • चित्रा सिंह २७ वर्षपछि फेरि गायनमा क्षेत्रमा फर्किने
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला ४
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला ३
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला २
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला १
  • नेपाली लघुकथामा प्रथम विद्यावारिधि
  • कविता : ह्विलचेयर