Facebook Twitter Google+ Google+
DHO

कविता : ह्विलचेयर

Bhuwan NistejAdvertise Here

भुवन निस्तेज

ऊ सायद हिंड्न सक्थ्यो होला
या सायद सिक्न सक्थ्यो होला हिंड्न
तर त्यसो भएन
उसले अप्ठ्याराहरू सामु घुँडा टेक्यो
या आत्मसमर्पण गर्यो विषम परिस्थितिहरू सामु
या उसले असहजताहरू सहज परित्याग गर्यो … ।

जे गरेको भए तापनि
उसले सहजतासित सम्भावनाहरू साट्यो
उसले चुनौतीहरू समर्पणमा विसर्जन गर्यो
र, सहर्ष स्वीकार गर्यो
‘दयालु’ले दिएको ह्विल चेयर ।

ह्विल चेयर, जसका कारण उसले
थामिने, उभिने, वा हिंड्ने कष्ट उठाउनु परेन
ह्विल चेयर, जसका कारण उसले
आफ्ना तिघ्रा र नलिहाडका अस्थि ढाँचालाई
दिनु परेन अतिरिक्त तनाव
ह्विल चेयर प्रदत्त सुविधाले
सहज एवं कष्ट-मुक्त थियो उसको गतिशीलता ।

हो त्यो ‘दयालु’ले दिएको
र उसले सहर्ष स्वीकारेको व्हील चेयरले
सहर्ष परित्याग गर्न लगायो
सम्भावना उसले आफ्नै खुट्टामा उभिन सक्ने
सम्भावना उसको स्वायत्त गतिशीलताको
र, सम्भावना उसको सार्वभौम तंग्राईको ।

ह्विल चेयर, जसका बदलामा
उसले सुम्पिदियो सधैंका लागि
आफ्ना अस्थिहरूको बल,
आफ्नो हृदय भित्रको शौर्य,
र, आफ्नै खुट्टाले जमिन टेक्ने तीव्र आकांक्षा
उसका अस्थिहरूकै बलले
सुरक्षित रहिराखे कैयन घर आँगनहरू
उसका शौर्यको प्रभासमा
निश्चिन्त आफ्ना आँगनहरूमा खेलिरहे
कैयन गाउँका बालकहरू .. ।

र, त्यसका बदलामा उसले प्राप्त गरिरह्यो
सहज गतिशीलताका सामान्य सुविधाहरू
उसका ह्विल चेयरका टायरहरूमा
स्वचालित हावा भरिदिने
‘दयालु’को स्वचालित संयन्त्र ।

ऊ दंग परेर रमाई रह्यो
र मनमनै सोचीरह्यो
वाह ! क्या गजबको ह्विल चेयर
अद्भुत, आविश्वसनीय, अतुल्य
के नै चाहियो र हिंड्न, उभिन ?
किन नै चाहियो र तिघ्रामा बल ?
किन चाहिए यी खुट्टा, यी नलिहाडहरू ?
बरु विज्ञान र प्रविधिले बन्नु पर्छ
अझ उन्नत, स्वचालित र अकल्पनीय सुविधासम्पन्न
आधुनिक ह्विल चेयरहरू
ऊ भन्न थालेको थियो-
अब भविष्यका समुन्नत ह्विल चेयरहरूले नै
पुरा गराउने छन् बुद्धत्वको यात्रा
अबका अति विकसित व्हील चेयरहरूले नै
खोल्ने छन् विपुल ब्रह्माण्डको रहस्य
हाम्रो समग्र भविष्य जेलिएको छ
ह्विल चेयरहरूको भविष्यसंग ।

ह्विल चेयर
जो वास्तवमा पूर्ण रूपमा बाहिर थियो
उसको नियन्त्रण भन्दा
र परिचालित थियो
टाढा बसिराखेको ‘दयालु’का इच्छा आवेगले
उसले त बुझ्न समेत सकेको थिएन
या चाहेको नै थिएन बुझ्न
यो ह्विल चेयरको संरचना रहस्य
बरू ह्विल चेयरले पो खोतली सकेको थियो
उसको यावत अन्तर कुन्तर
उसले न यसका टायरहरूमा हावा भर्ने सीप सिकेको थियो
न यो बिग्रिहाले जोर्ने जिनिस सिकेको थियो ।

हो त्यही भएर नै
जब आज उसको यात्रा
चिल्लो कालो पत्रे सडकबाट मोडिएको छ
दुर्गम गाउँका दुरुह, उबड-खाबड गोरेटाहरूमा
आज फुस्केको छ यो ह्विल चेयरको हावा
र भाँचिएको छ यसको डण्डी
अनुपस्थित छ आज ‘दयालु’को सर्वव्यापी संयन्त्र
र सामान्य अर्चना विधिमा त्रुटि देखाएर
रुष्ट भै रमिता हेरिराखेको छ ‘दयालु’
ऊ किंकर्तव्यविमूढ भएर अत्तालिएको छ
चाहेर पनि उभिन सकिरहेको छैन ऊ
आज आफ्ना गोडाहरूमा
किनभने उसले उहिल्यै
बन्धकी राखिसकेको छ आफूभित्रको
आफ्नै खुट्टामा उभिन सक्ने आत्मविश्वास
उसका हाडहरू खुकुला भैसकेका छन्
र उसको शौर्य दूर देशमा
रातभरि पराइको ढोकामा पहरेदारी गरेर
निदाएको छ एकाबिहानै
जसको आभा बेचिएको छ
र प्रभासित गर्दैछ कसैका घर
उसका अस्थिहरू भित्रको दृढताले
पर्खाल बनेर बचाएको छ अरूकै आँगन ।

आज ऊ उभिन खोज्दैछ तर सक्दैन
घोकिएका र जपिएका विचारहरू जस्ता
खोक्रा हाडहरू लिएर
उसका तिघ्रा र नलिहाडहरू
मात्र मासुका डल्ला भैसकेका छन्
गड्यौलाको जिउजस्ता
र उसको हृदयबाट
सूर्य दर्शनपछि
पातले रातभरि बोकेको शीतविन्दु बिलाएझैं
बिलाउन पुगेको छ उसको आत्मविश्वास
उसले आफ्ना स्वायत्त गतिशीलताका सम्भावनाहरू त्यागेर
अपनाएको ह्विल चेयरको
दीर्घ यात्राको स्मृतिले रन्थनिएको उसले
ब्रह्मनालमा भेट्टाएको छ आफ्नो स्वाभिमान
ऊ घरि आफ्नो आत्मविश्वास वाष्पिकरण हुनबाट रोक्न खोज्दैछ
र घरि मृत्युशय्यामा पुगेको स्वाभिमान ब्युझाउन खोज्दैछ
र मनमनै आव्हान गर्दैछ आफ्ना अस्थिहरूको ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी