Facebook Twitter Google+ Google+
DHO

गणतन्त्रका गद्दार हैनौ भने तुरुन्त निर्वाचन गर

thumbAdvertise Here

अरे महामुर्ख नेताहरु हो । यो के गरि रहेका छौ ? किन एैन मौकामा अनिर्णयको वन्दी वनिरहेका छौ ? व्यवस्थापिका संसद चल्न नसकेर थला परेको छ । के ताल हो तिमीहरुको ? आ आफ्नै हट कायम गर्न जोडवल चलाइ रहेका छौ । यो संसद मात्रै थला परेको हैन महामुर्खहरु हो, यो त गणतन्त्रनै थला परेको हो । सम्विधान कार्यान्वयनका लागि अत्यावश्यक कानुन वन्न सकी रहेको छैन । तिमीहरु आ आफ्नै अहंकार र जीद्धीको डम्फु मात्र वजाई रहेका छौ । वाँदर प्रवृत्ति देखाउँदै गणतन्त्रको च्यादरलाई कोही यता तान्छौ कोही उता तान्छौ । तिमीहरुको चाल चलन देख्दा तिमीहरुको यही अहंकार र अज्ञानताले गणतन्त्र च्यातिएर काम नलाग्ने हुन सक्छ, ख्याल गर ।

के साँच्चीकै अव संसद चल्ने छैन ? उसो भए निर्वाचन लगायतका गणतन्त्रलाई मज्वुत वनाउने कानुनहरु पनि वन्ने छैनन ? अनि के निर्वाचन पनि हुने छैन ? अरे मुर्ख हो, समय कसैलाई पर्खिँदैन भन्ने कुरा सम्झाई रहनु नपर्ला । तिमीहरुका लागि त एक दिन मात्रै हैन एक एक घण्टाको महत्व हुनु पर्ने हो तर महिनौं विति सके तिमीहरुमा त्यो गम्भिरता पैदा भएको देखिदैन । वास्तवमा भन्ने हो भने गणतन्त्रलाई अगाडि वढ्न नदिएर तिमीहरुलेनै घोक्¥याएर राखेका छौ ।

खगोयक्ष पन्त

खगोयक्ष पन्त

स्थानिय निकायको निर्वाचन होला, जन प्रतिनिधिहरु छनौट होलान, तिनले राज्य सत्तालाई स्थानिय तहमै जनताको पहुँचमा पु¥याउलान । जनताका मतवाट चुनिएर जनताकै सन्तान राज्य प्रमुख र सरकार प्रमुख होलान । भ्रष्टाचार नियन्त्रण होला, शुसासन कायम होला, विकास र प्रगतिका अवशरहरु सृजना होलान भन्ने सुखद कल्पनालाई के आम जनताले मनको लड्डु सम्झेर घिऊ संग खाए हुन्छ त ?

के तिमीहरुमा कमन सेन्स पछि छैन र ? तिमीहरु जुन विषयमा विभाजित भएर अनिर्णयको वन्दी वनि रहेका छौ के ति कुराहरु गणतन्त्र भन्दा महत्वका छन त ? पहिले के संस्थापन गर्ने ? गणतन्त्रकी संघियता ? जवकी गणतन्त्रनै संघियताको आधार हो र पृष्ठ हो । पहिले गणतन्त्र हुन्छ अनि मात्र संघियता हुन सक्छ भन्ने सत्यतामा हेक्का राख ।

जानि जानि किन वुझ पचाई रहेका छौ ? संघियताका कुरालाई त विज्ञको अध्ययन र निश्कर्ष माथी जन अनुमदनको प्रक्रिया मार्फत ढुक्क संग समय लिएर पनि व्यवस्थीत गर्न सकिन्छ । तर के निर्वाचन नगरी गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ त ? कदापि सकिदैन । त्यसैले गर्नु पर्ने त निर्वाचन हो किनकी गणतन्त्रको विज निर्वाचन मार्फतनै जन धरातलमा उम्रिने हो । त्यसैले सवैले केन्द्रीत हुनु पर्ने निर्वाचनमै हो तर जो निर्वाचनमा केन्द्रीत हुन चाहान्न अथवा संघियता नभई हुँदैन भन्छ त्यो सम्झ गणतन्त्रको गद्धार हो ।

जवकी सम्विधानले पनि निर्वाचन गर्नै पर्छ र गर भनि रहेको छ । सम्विधानले त अँझ यदि स्थानिय तहको नयाँ संरचना तयार नभएको अवस्थामा पुरानै स्थानिय निकायको निर्वाचन गर्न सकिन्छ भनेर समेत भनेकै छ । त्यसैले सम्विधानले समेत निर्वाचनलाईनै पहिलो महत्व दिएको छ भने तिमी कसरी सम्वैधानिक व्यवस्थालाई नजर अन्ताज गर्न सक्छौ ? चाहे जो सुकै राजनितिक दलको सरकार होस तर सरकारले समयमानै निर्वाचन गराउनुको विकल्प छँदै छैन ।

अरे विपक्षीहरु हो, तिमीहरुले पनि सरकारलाई दिने सहयोग वा दवाव भनेको संसद चलाउनका लागिनै हुनु पर्दथ्यो किनकी निर्वाचन तिम्रा लागि पनि त्यत्तिकै महत्वको छ जति गणतन्त्र चाहानेका लागि छ । गणतन्त्र नरहे तिमीहरु कहाँ रहन्छौ र ? त्यसैले आँखा खोल । निर्वाचनका लागि आवश्यक कानुन वनाउनु वाँकीनै छ त्यसैले सरकारलाई निर्वाचन सम्वन्धी विधेकहरु छिटो ल्याउनका लागि दवाव देउ । अनि सम्विधानले तोके वमोजिम निर्वाचन होस भन्ने मान्यतामा अडिन वन । संसदको सर्वोच्चताका लागि लड्ने प्रयत्न गर । यदि तिमीलाई मन नपरेको विधेक प्रस्तुत हुन्छ भने पनि प्रकृयालेनै पार लगाउ । समयमा निर्वाचन हुन नसके सरकार मात्रै हैन विपक्षीहरुलाई पनि त्यही भंगालोले वगाई लाने छ भनेर हेक्का त होला नी ?

अरे विपक्षीहरु हो, तिमीहरुले संशोधनको विधेकलाई देशको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डतामा प्रश्न उठाउने ढंगले आउको छ भन्छौ भने पनि अथवा सम्विधान विपरीत छ भनेर भन्छौ भने पनि अथवा प्रदेशको सिमांकन हेरफेरको अधिकार यो रुपान्तरित व्यवस्थापिका संसदलाई छैन भन्ने अडान राख्छौ भने पनि त्यसको निकास संसद वाहेक अन्यत्र खोज्नु भनेको के वाटो विराउनु हैन र ? अहंकारीहरु हो ।

चाहे जे जस्ता सुकै मुद्धाहरु उठान हुन त्यसको निकास दिने वैधानिक वाटो भनेको व्यवस्थापिका संसदनै हो भनेर विपक्षीले किन वुझ्न सकिरहेको छैन ? कित वुझ पचाई रहेको होकी, वुझि नसक्नु छ । विपक्षी आफैं भनि रहेको छ की यस विधेकलाई पराजित गर्न चाहिने प्रयाप्त संख्या हामी संग छ । त्यो संख्या संसद अवरोधका क्रममा हामीले देखाई सकेका छौं भनेर घमण्ड पनि गर्छ तर किन संसदिय प्रक्रियामा सामेल हुने हिम्मत गरी रहेको छैन ?

अरे विपक्षीहरु हो, तिमीहरुले के का लागि संसद चल्न नदिएको हो ? एकातिर सम्विधान संशोधन हुनै सक्दैन भन्ने अनि अर्को तिर सदननै चल्न नदिने, कस्तो मजाक हो यो ? तिमीहरुलाई सम्विधान संशोधन हुन्छकी भन्ने पीर होकी संशोधन हुँदैन भन्ने पीर हो वा त कुनै तेश्रो पिरलो हो ? वुझ्न गाह्रो छ । किन सरकार र विपक्षी एक अर्काका लागि आत्मघाति कदम सम्म उठाउन तयार हुँदैछन ? जवकी परिस्थिति यस्तो छ ।

म यो आम जनताका लागि भन्दा पनि केवल तिनै नेता र कार्यकर्ताका लागि भनि रहेको छु जो गणतन्त्रमा रमाउन चाहान्छन । गणतन्त्रमा हालिमुहाली गर्न चाहान्छन । गणतन्त्र लाईनै आफ्नो उर्वर भूमि मान्दछन । किनकी भोलि गणतन्त्रनै नरहे फेरी तिनै नेता र कार्यकर्ता झण्डा, डण्डा र वन्दुक वोकेर जनताका ति सूदुर वस्तीहरुमा तिरविराउन थाल्ने छन र जसको परिणाममा आम जन जीवननै प्रभावित हुनेछ । त्यसैले अव त्यस्तो नहोस भनेर कामना गर्नु मेरो पनि अधिकार र दायित्व होकी भन्ने सम्झन्छु ।

तर याद गर, अव फेरी गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आए तिमीहरुलाई जनताले साथ दिने छैनन, स्वीकार गर्ने छैनन । वाँदर लखेटझैं लखेट्ने छन ख्याल गर । त्यस पछि त तिमीहरुको जीवनमा त के तेश्रो पुस्ता पछिकाले पनि गणतन्त्रका लागि ठूलै वलिदान दिनु पर्ने हुन सक्छ । त्यसैले समयमै सचेत वन ।

अरे प्रचण्ड तिमी त चेत खाउ । तिमी त केही सम्झीने कोशिस गर । आँखिर मनमा जसले जति कल्पना गरेको भए पनि, परिवारमा, समुदाय र समाजमा जतिसुकै गफ गरेको भए पनि, सिद्धान्त र आदर्शको आलेखै घोकेको र लेखेको भए पनि गणतन्त्र स्थापनाको लागि नेपालमा व्यवहारिक र सैद्धान्तिक अभ्यास तिमीले सुरुवात गरेका हौ, त्यसैले तिमी त जिम्मेवार वन । होईन भने गणतन्त्र तिम्रो देखाउने दाँत मात्रै रहेछ भनेर वुझ्न जनतालाई धेरै समय लाग्ने छैन ।

प्रचण्ड, तिम्रो नाउँ लियोकी मलाई आश्चर्य लाग्छ, किनकी तिमीमा कसरी भौतिक सम्पत्तिको भूत चढ्यो होला । कसरी तिमी जंगलवाट शहर पसे संगै दलालहरुको धेरावन्दीमा प¥यौ होला ? यदि तिम्रो ईच्छा नहुँदो होत तिमी विक्ने थिएनौ त्यसैले तिमी विकेकै हौ पनि । हुनत तिमी एक मध्यम वर्गवाट यहाँ सम्म आई पुगेका थियौ र कुनै वेला तिमीलाई पनि भौतिक सम्पत्तिको आवश्यकता थियो होला तर राजनीतिमा लागेर जे तिमीले आर्जन गरेका छौ त्यसको अगाडि कुनै अरु भौतिक सम्पत्तिको मुल्यले तिमीलाई लोभ्याउन सक्ला भन्ने मैले त कल्पना सम्म गरेको थिईन । यदि साँच्चीकै भनौं भने तिम्रो जस्तो राजनीतिक उचाई मैले पाएको भए आफ्नो पैत्रिक र पुस्तेनी भौतिक सम्पत्ति त के अरु सव थोक पनि राज्यका अगाडि कुर्वान गरी दिन्थे ।

राजनीतिका भ¥याङहरु चढ्दै तिमी सर्वहारा वर्गका नाउँमा यसरी प्रस्तुत भयौंकी तिमीले हरेक मोर्चामा त्यसको नेत्रित्व लिन सफल भयौ । त्यो वेला साँच्चिकै तिमीलाई सर्वहारा वर्गको क्रान्तिले समाजमा सकारात्मक प्रभाव पर्छ भन्नेनै थियो होला हैन र ? र पर्दथ्यो पनि यदि तिमीले आफ्नो उचाईको सौदा भौतिक सम्पत्ति संग नगरेको भए । प्रचण्ड पथलाई लिलाम नगरेको भए । तर प्रभाव जे जस्तो परे पनि यो अवस्थाको जिममेवार तिमीनै हौ । तिम्रै नेत्रित्वमा भएको हिंसात्मक क्रान्तिले समाजको राजनीतिक मूल प्रवाहलाईनै वदली दियो । ईतिहास देखि गाडिएको राजतन्त्रको समुल वंश नाश भयो र नेपाल गणतन्त्रात्मक राज्य वन्न पुग्यो । त्यसको मुख्य कारक तिमीनै हौं त्यसैले यस परिवर्तनलाई जति संस्थागत गर्न सक्यो अथवा गौरवाम्भित गर्न सक्यो त्यति तिमीलाईनै फाईदा छ । त्यसैले सवै विति सकेको छैन अँझै समय छ । तिमीले गणतन्त्र कार्यान्वयन गर्न सक्छौ भने तिम्रा सवै गल्ति र कम्जोरी माफ हुन सक्ने छन । के विचार छ ?
यदि तिमीले इमानदारीका साथ आफ्ना सवै स्वार्थहरुलाई तिलान्जली दिएर यस सम्विधानको कार्यान्वयनमा दत्त चित्त भएर लाग्यौ भने आम जनताले तिमीलाई सहयोग र समर्थन पनि गर्ने छन किनकी जनतालाई एकातिर सुख, शान्ति र सम्वृद्धिको हतारो छ भने अर्को तिर भोलि फेरी अर्को हिंसामा आफ्ना सन्ततीहरु शहीद नवनुन भन्ने कामना पनि हरेक जन जनको मनमा जीउँदै छ ।

त्यसैले याद गर प्रचण्ड, यदि अहिले गणतन्त्र संस्थागत हुन नसकी कुनै अर्को राज्य सत्ता स्थापित भए त्यो राज्य सत्ताको पृष्ठभुमिमा र अनि ईतिहासमा त तिमीनै सवै भन्दा वढी वदिनाम हुने छौ र कलंकित हुने छौ । तिमीलाई विदेशी दलाल भनिने छ । विदेशीको ईसारामा हजारौं नेपालीको हत्या गर्ने हत्याराको आरोप लाग्ने छ । आफ्नो सुख भोकका लागि विदेशीको पैंसामा उत्पात मच्याउने गद्धार भनिने छ ।

त्यति मात्र कहाँ होर प्रचण्ड ? यदि कुनै कालखण्डमा फेरी गणतन्त्रको नारा घन्किए पनि ति योद्धाहरुले पनि तिम्रै नाउँ लिएर जनताका माझमा क्ष्यमा माग्नु पर्ने परिस्थिति सृजना हुनेछ । जसले उनिहरुलाई समेत लज्जित वनाउने छ र तिनिहरु पनि आफु चोखिन तिमीलाईनै गालि गर्ने छन । तिमीलाईनै सराप्ने छन । भन्ने छन, उ कुपात्र थियो, उ दलाल थियो, उसले नेपालीको सार्भौमता माथी वलत्कार गरेको थियो, उ गणतन्त्रको योद्धा हैन विदेशीको एजेण्ट थियो आदि आदि लान्छना प्रशस्तै लाग्ने छन । अव त्यस्ता अवशरवादी गद्धारहरुको पहिचान गर्न चेत खुलि सकेको छ भनेर गणतन्त्रवादीहरुनै तिमीलाई एक महाभुलको संज्ञा दिने छन । तिमी नत यताको रहने छौ नत उताको । तिमी कतैको रहने छैनौ । तिमी घरको न घाटको हुनेछौ प्रचण्ड, ख्याल गर ।

तिम्रो त्यो अपमानित ईतिहास सुनेर तिम्रा सन्तती कहिलै खुसी र खुसी हुन सक्ने छैनन् । तिम्रो अपमान शव्द शव्द उनिहरुका लागि वाँण वन्ने छन । तिमीले थुपारी दिएको धन सम्पत्तिले पनि तिम्रा सन्तानहरुले त्यो आनन्दता खरिद गर्न सक्ने छैनन् जो वुवा वाजेको गर्विलो ईतिहासले दिन सक्दथ्यो । त्यसैले तिमी के प्राप्तिका लागि के गुमाई रहेका छौ गहीरो मनन गर ।

जिम्मेवार वन्न तिमीलाई गाह्रो पनि छैन किनकी सम्विधान तिम्रो साथमा छ । यदि तिमीले यसको उचित प्रयोग गर्न जान्यौ भने यसले तिम्रो रक्षा गर्ने छ । तिम्रो रक्षक भनेको यही सम्विधान हो । सम्विधानलाई जति कार्यान्वयन गर्न सक्यौ त्यतिनै त्यसले तिमी माथीका अनगन्ति प्रहारहरुलाई निषेद गर्न सक्छ । त्यसैले केवल तिमीले त सम्विधान कार्यान्वयन गर्नु मात्र हो । तिमी जति सम्विधानको कार्यान्वयन गर्दै जानेछौ त्यतिनै तिम्रो शक्ति वढ्दै जाने छ । यदि तिमीले जन्माएको शिशु गणतन्त्रको रक्षा गर्नु छ भने, उस प्रतिको माया ममता र आस्था छ भने सम्विधानको कवजले सुसज्जित निर्वाचनधारी योद्धा वन्ने प्रयत्न गर । सक्छौ ?

अन्य कुरामा अल्झिनका लागि तिमी संग समयनै छैन । संघियता तत्काल कार्यान्वयन नभएता पनि गणतन्त्र रहन सक्छ तर समयमा निर्वाचन हुन नसके गणतन्त्रनै नरहन सक्छ । किनकी निर्वाचनको अभ्यासवाट जनअनुमोदन भएको स्थानिय सत्ताले मात्र प्रतिगमनलाई जरावाटै कम्जोर वनाउन सम्भव छ नकी तिमीहरुका भाषण र भिषणहरुले । त्यसैले चुनावनै गणतन्त्रको सवैभन्दा शक्तिसालि हतियार हो । त्यसैले तत्काल चुनावको वातावरण वनाउ हैन भने प्रतिगमनको प्रदुषण वढ्दै जानेछ ।

सर्व प्रथम त तिमी आफुवाटै सम्विधान कार्यान्वयनको अभ्यास सुरुवात गर किनकी जव सम्म तिमी आफैं सम्विधान बमोजिमको कर्म गर्दैनौ भने अरुलाई गर भन्नुको कुनै अर्थ छैन । कसैवाट त्यो आशा नराखे हुन्छ । सम्विधान घोषणा भएकै दिन देखि लागु हुने मुल कानुनको दस्तावेज हो भन्ने मान्यता माथी विश्वास गर । जसले तिमीलाई आगामि दिनका लागि मज्वुत वनाउने छ । तिमी सम्विधानले तोके वमोजिमको मन्त्री मण्डल वनाउ । चुस्त दुरुस्त र पारदर्शी भएर प्रस्तुत होउ । त्यस पछि सम्विधान वमोजिम जे जे गर्न जहाँ जहाँ जुन जुन कानुनको अभाव भएको छ त्यो पुर्ण गर्ने प्रार्थमिकतालाई निशाना वनाउ । सम्विधानको कार्यान्वयनमा जो सुकै र जस्तो सुकै वाधा आओस त्यसलाई निषेद गर । तिमी उत्साह र इमानदारीताका साथ सवै दलहरु संग छलफल गरेर सम्विधानले भने वमोजिम निर्वाचनको मिति घोषण गर । तिमी सवैलाई प्रष्ट वताइ देउकी तिम्रो पहिलो प्रार्थमिकता निर्वाचन हो संघियता हैन भनेर ।

तिम्रा लागि अन्तिम पटकनै भए पनि अवशर र सम्भावना प्रशस्त छन किनकी स्थानिय तह पुनर संरचना आयोगको प्रतिवेदन आइ सकेको छ । अनि निर्वाचन आयोग पनि निर्वाचन गर्न तयार छ । त्यसैले अरु कुनै झमेलामा नपरेर निर्वाचनको मिति घोषण गर र सोही वमोजिम स्थानिय तहको निर्वाचन पनि गर ।

कहीँ कतै कुनै भौगोलिक क्षेत्रमा निर्वाचन नहुने स्थीति आए पनि त्यहाँ जनताको सुरक्षामा विशेष व्यवस्था गर । मतदातालाई सुरक्षा सहयोग गरेरै भए पनि निर्वाचन गर । यदि आयोगलेनै कुनै स्थानिय तहको संरचना तयार नगरेको भए पनि ति स्थानमा दोश्रो चरणमा चुनाव हुने गरी भए पनि निर्वाचन गर । किनकी तिम्रो सवैभन्दा ठूलो जीम्मेवारी भनेको निर्वाचननै हो त्यसैले यदि निर्वाचनका हरेक अवरोधहरु माथी तिमीले विजय पाउनु छ भने अथवा तिमी सुरक्षित हुन चाहान्छौ भने निर्वाचनको वहानमा चढेर यात्रा प्रारम्भ गरी हाल, ढिलो नगर ।

तिमीले निर्वाचन गर्न खोज्दा तिम्रो सत्ता र शासनमा अशर पर्दछ र जसको कारण तिमीले सरकारको नेत्रित्व छोड्नु पर्ने अवस्था आउन्छ भने पनि पछि नहट । सरकार छाडि देउ तर गणतन्त्र स्थापनार्थको प्रयत्नलाई नछाड । तिमी तत्काल त्यो राजनितिक दललाई समर्थन गरी हाल जो तिमीले भनेको शर्तमा अगाडी वढ्न स्वीकार गर्दछ । किनकी गणतन्त्र रहे मात्र तिमी रहन सक्छौ भन्ने हेक्का राख्न तिमीलाई आवश्यक छ ।

र अन्त्यमा, तिमीले पुष १५ सम्ममा निर्वाचनको घोषण गर्न सकेनौ भने त्यस पछि तिमी कहिलै निर्वाचनको घोषणा गर्न योग्य हुने छैनौ किनकी प्रतिगमनको ज्वार उठि सकेको छ । पुरानो राज्य सत्ताले खुला चुनौति दिई सकेको छ । तिमी दायाँ वायाँ कतै ध्यान नदेउ । अरुले के भन्छन वाल मतलव नगर, तर सम्विधान जे भन्छ त्यसका लागि हर सम्भव प्रयत्न गर । अव त वुझ, सम्विधानले के भन्दैछ ? निर्वाचन गर भन्दै छ । वस । अस्तु ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ
  • मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ
  • ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ?
  • लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट
  • ‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी
  • प्रतिगमन कि ऐतिहासिक निर्वाचन, फैसला जनताको
  • प्रजातन्त्र दिवस र यसको सार्थकता
  • भ्यालेन्टाइन डे यानि प्रणय दिवस