DHO

प्रतिनिधितन्त्र विरुद्ध प्रविधितन्त्र

thumb

गणतन्त्र नेपालको सम्विधान २०७२, कार्यान्वयन हुनका लागि तिन चरणको निर्वाचन आवश्यक छ । ति निर्वाचनहरु सम्पन्न गर्न सर्वप्रथम स्थानिय तह देखी प्रादेशिक तह सम्मका सिमानाहरु निर्धारण हुन आवश्यक छ । जव सम्म तिन तहको सिमाना निर्धारण हुन सक्दैन तव सम्म यस सम्विधान वमोजिम तिन चरणको निर्वाचन पनि हुन सक्दैन ।

राज्यको मुल कानुन यानि सम्विधान हामी सवैको सरोकारको विषय हो । किनकी सम्विधान कार्यान्वयन नहुँदा सम्म संक्रमण काल लम्विरहन्छ र जति संक्रमण काल लम्विन्छ त्यतिनै राजनीतिक जटिलताहरु उत्पन्न भई रहेका हुन्छन र तिनै जटिलताले कानुनको उलंघनलाई वढाइ रहेको हुन्छ । कानुनको उलंघन र राजनीतिक जटिलतामा टाँसिएर भ्रष्टाचार, वेराजगार, गरीवी र आतंकहरु वढ्न थाल्दछन, जसले प्रतिनिधि नेताको भन्दा जनताको जीवन चक्रलाई वढी प्रभाव पार्दछ र परिरहेको पनि छ । त्यसैले विकास र प्रगतिका लागि, शान्ति र सम्वृद्धिका लागि र कानुनी राज्य स्थापनाका लागि संविधान कार्यान्वयन जरुरी छ ।

khagendra pant

खगोयक्ष पन्त

तर के हाम्रा यि र ति प्रतिनिधिहरुले २०७४ साल माघ ७ गते सम्म सम्विधानलाई कार्यान्वयन गर्न सक्लान् त ? जवकी हामीहरु सवैको कामना त के छ भने २०७४ साल माघ ७ गते सम्म तिनै तहको निर्वाचन सम्पन्न होस र संक्रमणकालको अन्त्य भई राज्य सुशासन तर्फ अगाडी वढोस । तर हामीहरुको कामनाको के अर्थ छ र ? यही राजनीतिक धरातलमा वसेर यदि हामीले कामनाको अर्थ खोज्न थाल्यौं भने वरु यो अनर्थ हुन सक्छकी, विभिन्न राजनीतिक दलहरुको अथवा प्रतिनिधि नेताहरुको पक्ष र विपक्षमा तर्क वितर्क भई रहन सक्छ, सडकमा नारा जुलुस लागि रहन सक्छ अथवा सोसियल मिडियाहरुमा कसैलाई देवता र कसैलाई राक्षस वनाउने प्रतिस्पर्धात्मक प्रयत्न भई रहन सक्छ, पत्र पत्रिका, रेडियो र टेलिभिजनमा थरिथरिका वहस र समाचाहरु सम्प्रेषण भई रहन सक्छ र उस्तै परे नेपाल वन्द चक्का जाम, हड्ताल, अन्सन र आन्दोलन पनि नहोलान भन्न सकिदैन ।

त्यसैले हामी त विवादै नगरौं किनकी राजनीतिक निर्णय लिने अधिकार हामीहरुको हातमा छैन । त्यो अधिकार त हामीले छनौट गरेर पठाएका वा नेताले खटाएका प्रतिनिधिहरुको हातमा पुगि सकेको छ । त्यसैले उनिहरुनै विवाद गरुन वा सम्वाद गरुन वा जे गरुन वाध्य भएर त्यो स्वीकार्नु मात्र हामीहरुको वसमा छ । यदि अस्विकार गर्ने हो भने पनि कित झण्डा कित डण्डा कित वन्दूक समातेर कुनै राजनीतिक दलको कार्यकर्ता वन्दै सडकमा उत्रिनु पर्ने वा भुमिगत हुनु पर्ने सम्मको वाध्यता मात्र हाम्रा लागि निर्विकल्प छ ।

आजका दिन सम्मको राजनीतिक खेल हेर्दा नत स्थानिय तहको सिमा निर्धारणमा प्रतिनिधि नेताहरु सहमत हुन सकेका छन नत प्रदेशको सिमा निर्धारणमा चित्त वुझाउन सकेका छन । कोही प्रतिनिधि नेताहरु सम्विधान संशोधन भनेर चिच्याई रहेका छन भने कोही संशोधनको विरोधमा उत्रेका छन । जुनसुकै वाटो र वहानामा भएपनि आँखिर सत्ता प्राप्तिका लागिनै राजनीतिक दलहरु घम्साघम्सी गरिरहेका छन । तर समय रोकेर रोकिदैन र यस्तै यस्तैमा विति जाला २०७४ माघ ७ गते, अनि कोही नेता र तिनका कार्यकर्ता भन्नालकी माघ ७ गते वित्दैमा आकास खस्दैन अनि तिनका विपक्षी नेता कार्यकर्ता भन्लानकी हैन आकास खस्छ । आँखिर जे भए पनि हाम्रा लागि त आकास खसेको खस्यै छ ।
हो हामी सक्छौं त केवल रगत र पसिना वगाउन । हिजो पनि वगायौं आज पनि वगाई रहेका छौं तर जति वगे पनि, जति वगाए पनि सुन्दर जीवन जीउने आशा निराशा भन्दा माथी उठ्न सकेन । अनि त्यही निराशामा निस्वासिएर, वेदनामा छट्पटिएर केवल कल्पना गछौं एक त्यस्तो प्रतिनिधि शासकको जसले छुमन्तर गरेर सवै समस्या र व्यवधान पार लगाउन सकोस । कोही आई देओस, कोही जन्मी देआस, कसैले वनाई देओस, कसैले वचाइ देओस, यस्तै यस्तै स्तुतिकल्प जप्दै मरी मरी वाँचिरहेका छौं । कस्तो मानव समाज ? कस्तो जीन्दगी ? कस्तो आशा ? कसै अरुको भरौसा र परनिर्भरतामा परी आफुलाई भुल्नु पर्ने र अर्काको आशा राख्नु पर्ने । त्यो पनि केवल आफ्नै लागि । आँखिर यो परनिर्भरता किन र कहिले सम्म ?

प्रतिनिधि ! प्रतिनिधि !! प्रतिनिधि !!! पार्टीले टिकट दिएर जनताको मतदानवाट निर्वाचनमा चुनिएर आएका प्रतिनिधि, पार्टीलाई आर्थिक सहयोग गरे वापत समानुपातिक समावेशीका नाउँमा टप्किएर आएका प्रतिनिधि, दलका नेताहरुले नातावादको फेरो समातेर ल्याएका प्रतिनिधि, संघ र संगठनका प्रतिनिधि, दलितका प्रतिनिधि, जनजातिका प्रतिनिधि, मधेसीका प्रतिनिधि गुट गुटका प्रतिनिधि उपगुट र झोलेगुटका प्रतिनिधि । जता हे¥यो त्यतै प्रतिनिधिको तडक भडक छ । गाउँको एक वडा देखी लिएर राज्यको सत्ता केन्द्र सम्म प्रतिनिधिहरुको रजाई छ । योजना चाहियो त यिनलाई विन्ती विसाउनु पर्छ, रोजगारी चाहियो त यिनका पछि पछि दगुर्नु पर्छ, झै झगडा र विवाद भयोकी यिनैलाई गुहार्नु पर्छ, सरकारी अड्डामा सेवा लिन होस अथवा सिंहदरवार भित्र त झन छिर्नकै लागि पनि यिनको पूच्छरनै वन्न पर्छ । प्रतिनिधि वेगर न कुनै सरकारी अड्डामा सर्वसाधारणको काम हुन्छ नत न्याय र राहातनै प्राप्त हुन्छ । सायद राष्ट्र सेवक कर्मचारीहरुलाई लाग्दो हो जनता भनेकानै प्रतिनिधि हुन ।

अरु प्रतिनिधिहरुको त कुरानै नगरौं तर तिमीले मतदान गरी छानेर पठाएका प्रतिनिधि माथी तिम्रो पहुँच कतिको छ ? के उ तिम्रो प्रतिनिधित्व गर्न सक्षम छ ? हिजोका प्रतिनिधिको पनि कुरा नगरौं, आज जसलाई तिमीले प्रतिनिधि छानेर पठाएका छौै तिनीहरु माननीय भए, मन्त्री भए, प्रधानमन्त्री भए । राज्यवाट भि आई पि सुविधा पाए । तिनीहरुको सुविधा र सुरक्षामा तिम्रै पसिनाको पैंशा खर्च भयो । तिनका ओरीपरी एक भजनमण्डलीको झुण्ड वन्यो जसले उनिहरुलाई आम मानिस भन्दा तिमी ठूलो हौ, तिमी महान हौ भनेर गुणगान गायो अनि जसको परिणाम उसले तिम्रो प्रतिनिधि हुँ भन्ने भावना विर्सेर तिम्रो शासक हुँ भन्ने अहंकारमा संचालित हुन थाल्यो किनकी आँखिर उ पनि एक मान्छेनै हो जसलाई मानविय स्वार्थले अहमता जगाई दियो । जव उसमा अहमता जाग्योे तव उसले तिम्रो प्रतिनिधित्व गर्न सक्षम भएन र जसको परिणाम वर्तमानमा भोगिरहेका छौ । यो त एउटा सामान्य र असल मान्छेमा लागु हुने सत्यता हो, अँझ जो आफ्नै लागि मरिहत्ते गरेर लागेका छन तिनको कुरा त नगरेकै वेस ।

तिमी राष्ट्रका टाउके प्रतिनिधि देखी लिएर गाउँका टोले प्रतिनिधि सम्मको व्यवहार, आचरण, योग्यता हेर त के पाउन्छौ ? तिमी शक्तिशालि र सम्वृद्ध छौ भने तिमी प्रति उनिहरुको व्यवहार स्वार्थवस असल होला तर तिमी कम्जोर र गरिव छौ भने उनिहरुले तिम्रो वास्तानै गर्दैनन् । आचरण हेर्ने हो भने न झुटो वोल्न र ठग्न डराउन्छन, न झगडा गर्न र मारपिट गर्न डराउन्छन, ठूला नेताको चाकरी र चाप्लुसीमा हराउन्छन आफु संगका लाई दवाउन्छन र आफु भन्दा तलका लाई फकाउन्छन । योग्यता हेर्ने हो भने कति वर्ष जेल वसेको हो, कति समय जंगल पसेको हो, कति आन्दोलन र हड्तालमा सहभागि भयो, कति लाई मारपिट ग¥यो र कतिलाई गालि वेज्जति ग¥यो भन्ने व्यहोराले मान्यता पाउन्छ । विषयगत योग्यता भएका, सोझा सिधा, असल नियतका र जनताको हितमा केही गर्ने विचार वोकेका त राजनीतिमा सफलनै हुँदैनन् ।

वाध्यताले भनौं वा नियतिले भनौं हामी पनि प्रतिनिधि छनौट गर्दानै नाता कुटुम्वको सम्वन्ध हेर्छौ र तिनलाई आफ्ना स्वार्थका तानावानाहरुले वेर्छौ । नहुने कुराको आश गर्छौ र उनिहरुकै वोरीपरी वास गर्छौ । त्यसैले नत प्रतिनिधि रोज्ने हाम्रो मनसुवा असल छ नत प्रतिनिधिले हामीलाई खोज्ने मनसुवानै असल छ । कानुनको उलंघन गर्नका लागि प्रतिनिधि चाहिएको छ, अपराध गरेर पनि वच्नका लागि प्रतिनिधि चाहिएको छ, भ्रष्टाचार गर्न र तस्करी गर्न प्रतिनिधि चाहिएको छ । प्रतिनिधिलाई पनि झण्डा, डण्डा र वन्दुक समात्न पोख्त, नारा र जुलुसमा खटिने भोट संगै नोट पनि दिने र भोट नदिने संग धम्काएर पनि लिन सक्ने मानिसको आवश्यकता छ । समग्रमा हामी र प्रतिनिधि दुवैको मनोदशामा खोट छ र जसको परिणाम सोझा सिधा सर्वसाधारणलाई चोट छ ।

हामीले देखेकै छौकी प्रतिनिधि हुनका लागि जो जे जस्तो प्रयत्न गरिरहेका छन त्यो प्रति उत्पादक छ । ति कहिले झण्डा समातेर नारा लगाउनमा व्यस्त देखिन्छन कहिले डण्डा समातेर आन्दोलनमा देखिन्छन त कहिले वन्दुक समातेर जंगल पस्न पनि वेर लागाउँदैनन् । कोही भूगोलको कुरा गरिरहेका छन, कोही जातियताको कुरा गरिरहेका छन, कोही क्षेत्रियताको कुरा गरिरहेका छन, कोही धर्मको कुरा गरिरहेका छन, कोही फेरी मार्ने र मर्ने कुरा गरिरहेका छन तर ति कोही पनि प्रविधिको प्रयोग गर्न खोजिरहेका छैनन् । जवकी आम मानिस संग जोडिन र प्रजातन्त्र स्थापना गर्नका लागि प्रविधिको प्रयोग अवका लागि उपयुक्त विधि हुन सक्ने प्रशस्त सम्भावना छ ।

विधिको शासन स्थापना गर्ने हो भने जनमतको कदर हुनै पर्छ । जनताको नाउँ त सबै राजनितिक दलहरुले नमन गरी रहेका हुन्छन । जनताका लागीनै भनेर अनेकौं राजनितिक चरित्र देखाई रहेका हुन्छन । तर अव त्यसको अर्थ खोज्नु पर्छ । कसरी सामाजिक व्यवस्थामा जनमतको नेत्रित्व कायम गर्ने भन्ने सम्बन्धमा आधारहरु खोज्नु पर्छ र ति आधारहरु विस्वसनियतापुर्ण हुनु पर्दछ । वास्तवमा विज्ञानको विकासले वा नयाँ प्रविधिको विकासले हरेक क्षेत्रमा विकास र परिवर्तनको गति तिव्र रुपमा अगाडी बढाएको छ । कम्प्युटर, ईमेल, ईन्टरनेटहरुको प्रयोगले आधुनिक, वैज्ञानिक र विश्वसनिय तरिकाले मानिसहरुका भावना, चाहाना, योजना र विविध क्रियाकलापहरुलाई व्यक्त गर्न सकिने अवस्था विद्यमान छ । केवल हामीले त्यसलाई समाजमा कार्यान्वयन गराउनु मात्र वाँकी छ ।

त्यसैले राजनितिमा पनि बैज्ञानिक प्रविधिको प्रयोग गर्न सकिए समाज अँझ सुख, शान्ति र सम्वृद्धिमय हुने थियो । किनकी विश्वभरीनै जे जस्ता कुराहरुले सामाजिक रुपमा दुःख, अशान्ति र आतंक फैलिएको छ त्यो अज्ञानताका कारण फैलिएको हो र त्यो अज्ञानता भनेको जनमत के हो भन्ने जान्न नसकी उत्पन्न भएको एक प्रकारको राजनितिक भ«म हो । यदि प्रविधिको प्रयोगले त्यस्ता भ«महरुका सम्वन्धमा जनमतको स्पष्ट नतिजा देखाउने संयन्त्रको विकास हुन सके मात्र राजनितिमा हाल सम्म भईरहेका वर्वर युगीन अभ्यासहरुको औचित्य पनि समाप्त हुने थियो ।

यदि प्रविधिको प्रयोगलाई व्यवस्थित, विकसित र विश्वासिलो वनाउँदै जनमत देखाउने संयन्त्रको रुपमा प्रयोग गर्न सक्यौं भने अथवा प्रविधिको प्रयोग समाज संचालनका लागी गर्ने प्रयत्न गर्न सक्यौं भने प्रतिनिधिको आवश्यकतानै पर्ने थिएन । एक दिन प्रतिनिधिको ठाउँमा प्रविधि स्थापित हुने थियो र त्यसले जनमत के हो त भनेर गरिने राजनीतिक प्रयत्नलाई हिंसा हुनवाट वचाउनमा सहयोगनै गर्ने थियो । जनताका लागी भनेर गरिने राजनीतिक हिंसात्मक प्रतिस्पर्धाको पनि अन्त्य हुने थियो । त्यसपछि तन्त्रका नाउँमा, सिमानाका नाउँमा, शासनका नाउँमा, सिद्धान्त र धर्मका नाउँमा जनमत यही हो अथवा आवश्यकता यही हो भनेर भईरहने युद्ध, हडताल, आन्दोलन, बन्द, चक्काजाम, विद्रोह जस्ता हिंसक कर्म गरीरहनु पर्ने थिएन । नत मतदानका नाउँमा समय र पैंसाको दुरुपयोग हुने थियो । यो सव तव हुने थियो जव प्रत्येक मानिस समाजको मुल कानुन वनाउन र लागु गर्न सहभागि हुन सक्ने थियो र त्यो हुनका लागि प्रविधिको विकास र प्रयोगनै निर्विकल्प माध्यम हो ।

तिमीलाई एउटा प्रश्न गर्छु, तिमीलाई प्रतिनिधिमा विश्वास छकी प्रविधिमा ? मलाई त प्रतिनिधि भन्दा प्रविधिमा वढी विश्वास छ किनकी उ झुटो वोल्दैन, उसमा निहित स्वार्थ हुँदैन, उसका लागि आफ्नो र पराया भन्ने हुँदैन र उ तिमीले भनेको हुवहु कार्यान्वयन पनि गर्दछ किनकी उ परिचालित हुन्छ तर व्यक्ति जव प्रतिनिधि छनौट भएर जान्छ तव उसले तिमीलाईनै नचिन्न सक्छ, उ मानिस भएकाले व्यक्तिगत स्वार्थ हुन्छ, उ झुटो पनि वोल्छ, उसको लागि कोही आफ्ना छन र कोही पराया पनि छन । आफ्नो भजन गाउने र पछि पछि धाउनेको उसलाई खाँचो छ किनकी उ स्वचालित छ ।
एउटा अर्कौ पनि प्रश्न गर्छु, तिमीलाई प्रतिनिधिको आवश्यकता कहिले पर्छ ? जव तिमी स्वयम् उपस्थित हुन सक्दैनौ अथवा तिम्रो पहुँच पुग्दैन भने तिमीलाई प्रतिनिधिको आवश्यकता पर्न सक्छ । तर यदि तिमी आफैं उपस्थित हुन सक्दछौ र तिम्रो पहुँच पुग्न सक्छ भने किन तिमीलाई प्रतिनिधिको आवश्यकता पर्ला ?

आज समाजमा यान्त्रिक संजालको यस्तो जालो फैलिएको छकी जो विगत एक दशक अगाडी सम्म पनि निकै साँगुरो थियो । अहिले आएर पुरानो पुस्ताका केही मानिसहरु वाहेक सवै मानिस यन्त्रिक सामाजिक संजालमा जोडिदै गईरहेका छन । नयाँ पुस्तामा त यसको प्रयोग वालकले होस सम्हाले देखीको नै वन्दै गईरहेको छ ।

आज तिमी घण्टौं नेटमा वसेर अमेरिका वा विदेशमा भएका आफन्त संग कुरा गरि रहेका हुन्छौ । तिम्रा परिवार र छिमेकी भन्दा फेसवुकका साथीहरु संग धेरै समय विताई रहेका हुन्छौ । अँझ कति मान्छेहरु त इमेल इन्टरनेटवाटै आवश्यक वस्तुको खरिद विक्रीमा पनि संलग्न छन । विरेकी छोरी फेसवुकवाट लभ परेर विहे गर्न सक्छे, धनेको छोरा विदशेको कम्पनीमा मेल गरेर नौकरी पाउन सक्छ भने तिमी को संग कहाँ टाडा छौ र ? आज तिम्रो पहुच र उपस्थिति कहाँ असम्भव छ र ? त्यसैले आज हरेक क्षेत्रमा तिमी स्वयम उपस्थित हुन सक्छौ र तिम्रो पहुँच पनि स्थापित हुन सक्छ तर किन तिमीलाईनै वाँच्नका लागि चाहिने आधार अथवा मूल कानुन निर्माणमा तिम्रो पहुँच हुनु पर्दछ भन्दा असम्भव देख्छौ ?
हो अत्याधुनिक प्रविधिको विकास नभै सकेको युगमा प्रतिनिधिको आवश्यकता थियो । अँझ त्यो भन्दा पनि पर जाने हो भने इतिहासको एक कालखण्डमा त प्रतिनिधिको पनि आवश्यकता थिएन, राजामाहाराज भए पुग्दथ्यो । तर त्यो समयको कल्पना गरेर आज वाँच्न सकिदैन ।

त्यो वेला सानो आकारको जनसंख्या थियो तर अहिले ७ अरव नाघि सकेको छ, त्यो वेला त हात्ति घोडा, उँट सवारीका साधन थिए तर आज मोटर गाडी र जहाज सवारीका साधन भएका छन । त्यो वेला चिठ्ठीपत्र संचारका साधन थिए तर अहिले फोन र इमेल इन्टरनेट संचारका साधन भएका छन । त्यो वेला पशु पालन र कृषि उत्पादन मुख्य पेशा थियो तर अहिले उद्योग धन्दा व्यापार व्यवशाय मुख्य पेशा भएका छन । त्यो वेला परम्परागत भेला र नाचगान मनोरञ्जनको मुख्य साधन थियो तर अहिले फिल्म र इन्टरनेटनै मनोरञ्जनका मुख्य साधन वनेका छन । त्यो वेला डाँडापारी पुग्दा दिन ढल्किन्थ्यो तर अहिले एक दिनमै धर्ति परिक्रमा गर्न भ्याईन्छ । प्रविधिको उच्चतम प्रयोग संगै सेवा तथा आवश्यकताको विविधिकरणले हिजो भन्दा आज व्यक्ति समाज प्रति परनिर्भर हुँदै गई रहेको छ त्यसैले पनि परनिर्भरतालाई पारस्पारीक हित अनुकुल वनाउन पनि प्रविधियुक्त राज्य संचालन संयन्त्रको आवश्यकता पर्छ ।

हो, परम्परागत समयमा राजामहाराजाले शासन गरे हामीले रैति हुन स्वीकार ग¥यौं । जव परम्परागत समाजवाट आधुनिक समाज वन्न थाल्यो तव प्रतिनिधिले शासन गरे हामीले नागरिक हुन स्वीकार ग¥यौं तर अव त अत्याधुनिक समाज वनि सकेको छ भने किन आफैं शासन गर्न स्वीकार नगर्ने ? किन प्रतिनिधिका ठाउँमा प्रविधिको प्रयोग नगर्ने ?
प्रतिनिधिको आवश्यकता तव थियो जव म दिन भर खेतमा काम गरिरहेको हुन्थे कहिले अनिकाल पर्दा करको दर नवढोस भनेर सरकारलाई हार गुहार गर्न महिना दिन लगाएर आफु एक्लै जान सम्भव थिएन । आफु लेखेपढेको थिईन चिठ्ठीपत्र पढ्न पनि प्रतिनिधिको आवश्यकता पर्दथ्यो ।

त्यो वेला समययनै त्यस्तै थियो, कानुन कार्यान्वन गर्ने निकाय कम्जोर थिए र परम्परागत कानुनद्धारा समाज संचालन हुन्थ्यो जसमा वलिया, निडर, टाँढावाँठा, वोलक्कड, वुझक्कड र घुमन्तेहरुको खाँचो थियो । त्यो वेला प्रतिनिधिको मात्रै हैन घोडा, खच्चर, गधा, कुकुर जस्ता जनावरहरुको पनि आवश्यकता थियो तर आज ति सवै आवश्यकता विस्थापित भै सकेका छन कसैले शौखले ति जनावरहरुलाई प्रयोग गर्लान तर तिनीहरुको प्रयोगको ठाउँमा मोटर गाडी जहाजहरु विकास भै सकेका छन । अथवा त्यो युगकोनै अन्त्य भइ सकेको छ तर किन प्रतिनिधिका ठाउँमा प्रविधि स्थापित हुन सकिरहेको छैन ?

संसार विज्ञान प्रविधिमय भई सकेको छ त्यसैले अवको युगका लागी निरक्षरको परिभाषा केवल लेख्न र पढ्न नजान्ने भन्नेमा मात्रै सिमिति गर्दा अपुर्ण हुन्छ । अवको निरक्षरको परिभाषा न्युनतम प्रविधिको प्रयोग संग जोड्नु पर्दछ । जस्तै समान्य रुपमा मोवाईल चलाउन नजान्ने र म्यासेज पठाउन नजान्नेलाई निरक्षर भन्न सकिन्छ । यदि तिमी मोवाइल चलाउन जान्छौ र म्यासेज पठाउन जान्छौ भने तिम्रो प्रतिनिधित्व प्रविधिले किन गर्न नसक्ने ? त्यसैले प्रविधि तिम्रो प्रतिनिधित्व गर्न सक्षम छ तर तिमीले प्रविधियुक्त संसार भित्र प्रवेश गर्न मात्रै वाँकी छ ।

हो आज सम्म सवै मानिस कम्प्युर संजाल संग जोडिएका छैनन् । तर समयको परिवर्तन र विज्ञानको विकास संगै आम मानिसहरु कम्प्युटर संग जोडिदै जानेछन भन्ने कुरामा शंकानै छैन । अव आउने नयाँ पुस्ता त प्रविधिको भरपुर उपयोग गरिरहेको हामी देखिरहेका छौं, तिनीहरुलाई प्रतिनिधिको मतलवनै छैन तर प्रविधिको आकर्षणवाट छुट्टिन सकिरहेका छैनन । त्यसैले अवको उत्तम विकल्प भनेको प्रतिनिधितन्त्रलाई विस्तापित गरी प्रविधितन्त्र स्थापना गर्नुनै हुनेछ ।

प्रविधितन्त्र स्थापनाका लागि सुसुप्त रुपमा सामाजिक जागृति नछाइरहेको पनि होईन । आजभोलि टेलिभिजन होस वा अन्य रेडियो र पत्र पत्रिकाहरुमा किन नहोस हरेक समाचारमा जनताको मत सर्वेक्षण गरिन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फोन, फ्याक्स, ईमेल, ईन्टरनेट, एस.एम.एस. वा चिट्ठी पत्रको माध्यमबाट मत प्राप्त गरी जनमत प्रस्तुत गर्ने गरिन्छ । यस विधिले जनताको प्रत्यक्ष सहभागिता हुन सक्ने विधिको विकास गर्नमा सहयोग पनि पुगेको छ । यस अर्थमा संचार जगतलाई बैचारिक क्रान्तिको अग्रणीका रुपमा स्वीकार्नु र सम्मान दर्शाउनु बैचारिक क्रान्तिकारीहरुको कर्म पनि हो र धर्म पनि हो ।

तर संचार माध्यमहरुले प्रस्तुत गरेका जनमतहरुको राजनीतिमय समाजमा आज सम्म कुनै अर्थ छैन र महत्व पनि छैन तैपनि यस प्रयत्नको अभ्यास वैचारिक क्रान्तिका लागी उपयुक्त पृष्ठ हो र यसरी वैज्ञानिक विकासलाई संचार प्रविधिले अधिक्तम प्रयोग गरी जनमत लिनु परिवर्तन तर्फको सकारात्मक क्रान्ति पनि हो । यसलाई सामाजिक पृष्ठमा स्थापित गरि सक्नु आम मानवको भलाईमा छ त्यसैले जनमतको सामाजिक महत्व स्थापित गर्ने प्रयासमा सक्रिय रहनु सबैको समान कर्तव्य हो ।

हामीलाई प्रविधियुक्त संसार भित्र प्रवेश गराउने र हाम्रो विचारको महत्व दर्शाउने कार्य यिनै प्रतिनिधि नेताहरुवाट हुनु पर्दथ्यो । राज्यवाटनै हरेक व्यक्तिलाई नदोहोरिने गरी प्रविधियुक्त संजाल संग जोडिनु पर्दथ्र्यो र जनमतको नेत्रित्व स्थापित गराउने विधिको विकास र विस्तार गरिनु पर्दथ्यो अनि मुल कानुनको निर्माण र कार्यान्वयनमा हाम्रो वैधानिक उपस्थिति सूनिश्चित गरिनु पर्दथ्यो तर त्यस्तो हुन सकिरहेको छैन ।

हाम्रा प्रतिनिधि नेताहरु त हामीलाई अँझै पनि मार्न र मर्नका लागि आवेग पैदा गराउन मात्रै खोज्दछन, हाम्रो विचार हैन रगत माग्दछन, आन्दोलन, हड्ताल जस्ता सामुहीक हिंसामा प्रयोग गर्न चाहान्छन अनि प्रतिनिधिको नेत्रित्व स्थापनार्थ निर्वाचनमा भाग लिन र मतदान गर्न हौस्याउन्छन र यसैलाई तिम्रो अधिकार हो भनेर अवमुल्यन गर्दछन । के मेरो घर परिवार, परिवेश र समाजलाई मेरो रगत चाहिएको छकी मेरो विवेक र मेरो विचार चाहिएको छ ? यदि मेरो विवेक र मेरो विचार चाहिएको छ भने यि वर्वर युगिन राजनीतिक प्रयत्नलाई क्रान्ति हैन हिंसा भनेर चिन्नु आजको वाध्यात्मक आवश्यकता हो, जसले प्रतिनिधितन्त्रका विरुद्ध प्रविधितन्त्रलाई स्थापना गर्नेछ ।

प्रविधितन्त्र स्थापना गर्नु भन्दा अगाडी प्रविधि प्रयोगका लागि उपयुक्त हुने सामाजिक पृष्ठ अथवा व्यवस्था स्थापना गर्न जरुरी छ । त्यो सामाजिक व्यवस्थालाई वैचारिक समाज भनौं, जसमा विभिन्न तहका विचार समुहहरु निर्माण गरौं । पहिलो तहको विचार समुहमा २०० देखी ३९९ जना सहभागि वनौं ताकी जसको विचमा सम्पर्क कायम गरिरहन कुनै झण्झट उत्पन्न नहोस र प्रविधिको पहुँच नपुगेका मानिसहरुका विचमा पनि परम्परागत भेला हुन वा सम्पर्क कायम गर्न सहज होस ।

दोश्रो चरणमा यिनै ११ देखि २१ वटा पहिलो तहको विचार समुहको प्रतिनिधित्व हुने गरी दोश्रो तहको विचार समुह गठन गरौं । पछि क्रमै संग ११ देखी २१ वटा दोश्रो तहको विचार समुहको प्रतिनिधित्व हुने गरी तेश्रो तहको विचार समुह गठन गरौं । यसै प्रक्रियाले अन्तिम तहको विचार समुह गठन हुनेछ । जसले वहुमतका आधारमा सरकार संचालन गर्नेछ र दुई तिहाई मतका आधारमा कानुन संशोधन गर्ने छ । व्यक्तिगत, समुहगत र सम्पुर्णगत विचारको अवस्था स्पष्ट पार्नका लागि मात्रै विभिन्न तहका विचार समुह निर्माण गर्नु पर्ने हुन्छ किनकी कुनै भूगोल वा क्षेत्र वा धर्म वा सम्प्रदायमा भिन्न विचार पनि स्थापित भएको हुन सक्छ र जसलाई मूल कानुन संग नवाजिने गरी कार्यान्वयन गर्न पाउनु उनिहरुको अधिकार हो ।

यदि हामीले आपसी सहमतिमा विचार समुह गठन गर्दै गयौं भने नेपालको सन्दर्भमा प।हिलो तहको विचार समुहको संख्या न्युनतम् ५० हजार वाट अधिक्तम १ लाख सम्म हुनेछन । त्यस्तै दोश्रो तहको विचार समुहको संख्या न्युनतम ४ हजार ५ सयबाट अधिकतम ९ हजार सम्म हुनेछन । त्यसरीनै तेश्रो तहको बिचार समुहको संख्या न्युनतम् ४ सय देखी अधिकतम् ८ सय सम्म हुनेछन । त्यस्तै चौथो तहको विचार समुहको संख्या न्युनतम ३५ देखी अधिक्तम ७० सम्म हुनेछन । पाँचौ तहको विचार समुहको संख्या न्युनतम ३ देखी अधिक्तम ६ वटा सम्म हुनेछन र अन्तिम तहको रुपमा छैटौं तहको बिचार समुह रहेको हुनेछ । यसरी पहिलो तहको विचार समुह देखी अन्तिम तहको विचार समुह सम्मको सामाजिक संरचनागत संजाललाई बैचारिक समाज भनिने छ । यसरी वैचारिक समाज भित्र सबै तहका बिचार समुहहरुको संख्या न्युनतम ५५ हजार देखी अधिकतम् एक लाख दश हजार सम्म रहेका हुनेछन ।

पहिलो तहको विचार समुहनै सम्प्रभु सत्ता सम्पन्न अथवा सार्वभौम हुनेछ । उसले आफुले गरेका सवै निर्णयहरुलाई मत प्रतिशतका आधारमा छुट्याई कार्यान्वयनका लागि दोश्रो तहको विचार समुहलाई आदेश दिने छ र दोश्रो तहको समुहले हुवहु कार्यान्वयनका लागि तेश्रो र तेश्रोले चौथो समुहलाई आदेश दिँदै अन्तिम तहको विचार समुहमा प्रत्येक मानिसको विचार स्थापित हुनेछ र अन्तिम तहको विचार समुहले प्राप्त विचारहरुको वहुमतलाई कार्यान्वयन गर्न सरकारलाई आदेश दिई रहनेछ । सरकारले पनि नियमित क्रियाकलाप वाहेक कुनै निर्णय गर्न वा विषेश प्रकृतिका विषयहरुमा अन्तिम तहको विचार समुह संग अनुमति लिई रहनेछ । यसरी गठन भएका विचार समुह भित्र कोही अधिकार सम्पन्न प्रतिनिधि हुने छैनन् केवल कर्मचारी हुनेछन, जसले आदेश कार्यान्वयन गर्नेछन ।

शासन व्यवस्थामा हैसियत राख्ने जनमत यही हो भनेर देखाउने ऐना जस्तो संयन्त्र बनाउँदा सुरुवातमा बिचार समुहको गठन गर्नै पर्छ र प्रविधिको प्रयोग अधिक भन्दा अधिक गर्नु पर्छ । तर यसो गर्दा एकै व्यक्ति पुनः नदोहोरीने गरी निश्चित कोडको प्रयोग गर्नु पर्छ र व्यक्तिको परिचयलाई पनि भूगोलमा मात्रै सिमित गरिनु हुँदैन । हुन पनि विकासक्रम संगै मानिस अव एक स्थानमा मात्रै अडिन सक्दैन । त्यसैले अव मानिसको सम्पर्क ठेगाना भनेको भौगोलिक मात्र हुन सक्दैन । अव मानिसको सम्पर्क ठेगाना भनेको आई.डी नं. वा ईमेल वा फोन नं. जस्ता प्रविधियुक्त अन्य संयन्त्रहरु हुँदै गई रहेका छन र जाने छन । र यस अभियानको हकमा पनि डिजिटल कार्डको प्रयोग गरिने छ ।

डिजिटल कार्ड प्रयोग गर्दा हालका लागि व्यक्तिको नागरिकताका आधारमा विवरण तयार गरिने छ । डिजिटल कार्ड लिएका व्यक्तिहरुको व्यहोरा कम्प्युटरमा सुरक्षित राखिने छ र भविष्यमा कसैले यस्तो कार्ड लिन चाहेमा कम्प्युटरमा भएको रेकर्ड संग भिडान गरिने छ । यसले गर्दा एक व्यक्ति पुनः दोहोरिन पाउने छैन । र विचार समुहलाई व्यवस्थित गर्ने अन्य अभ्यासहरु पनि भईरहेका हुनेछन ।

वैचारिक समाज भित्र व्यक्ति, संघ, संगठन आदि कसैको अस्थित्व पनि समाप्त हुँदैन र कसैलाई निषेध गरिएको पनि हुँदैन । कानुन शक्तिशालि हुन्छ र सर्व व्यापक हुन्छ । व्यक्ति, संघ, संस्था, संगठन आदि सवै कानुन वमोजिम संचालित भई रहेका हुन्छन । जस्तै विभिन्न राजनीतिक दलहरुले समाज रुपान्तरणका लागि जनजागरण र चेतनाको विकास र विस्तार गर्नमा सहयोगीको भूमिका निभाई रहेका हुनेछन । एउटा गरीवको झुपडीमा किन भोक छ, किन रोग छ, किन शोक छ र किन उ प्रविधिको पहुँच भन्दा टाडा छ ? यि कुराहरुको निवाकरण गर्ने दायित्व राजनीतिक दलको हुन पुग्नेछ ।

जसका लागि उसले जनताको आँगनलाई आफ्नो कर्मभूमि वनाउने छन । कुनै पनि राजनीतिक दलमा सत्ता र शासनको मोह वाँकी रहने छैन । सत्ता संचालन गर्ने त विधिको शासनले हो राजनीतिक दलले होईन भन्ने सत्यता समाजमा स्थापित हुनेछ जसको कारण राजनीति पेशा नभएर स्वैछिक सामाजिक सेवाको क्षेत्र वन्न पुग्नेछ । तव राजनीति गर्नेको सामाजिक प्रतिष्ठा उभो लाग्न थाल्नेछ । तव मात्रै अत्यन्त व्यक्तिगत स्वार्थ वोकेका लोभीपापीहरुको जमातवाट राजनीति मुक्त हुन सक्नेछ र तव राजनीति गर्नेहरु भनेका परोपकारी, उदार हृदयका सन्त र आदर्श पात्र हुन भन्ने सामाजिक भावनाको विकास हुन थाल्नेछ ।

वैचारिक समाजमा आम मानिसको समान प्रभाव कायम भए पछि विधिको शासनले मुल कानुन वनाउने छ र समय अनरुप समाज परिवर्तन गरिरहने छ । विदेशी वा अन्य कसैको स्वार्थमा कुनै दवाव पैदा हुने छैन । कसैका स्वार्थ सम्वोधन गरि दिनु पर्ने अथवा माग पुरा गराई दिनु पर्ने वाध्यता पनि रहने छैन । आफु, आफ्नो परिवार, परिवेश र समाजको हित प्रयोजनका लागी वर्वर युगिन परम्परा अथवा राजनीतिक प्रक्रिया कायम राखी राख्न पनि आवश्यक हुने छैन । आँखिर किन हामी सडकमा उत्रिने ? किन आफ्नै व्यापार व्यवशाय वन्द गर्ने ? किन आफ्नै सम्पत्ति टोडफोड गर्ने र आफ्नै सन्ततीलाई मार्न र मर्न पठाउने ? भन्ने चेतनाको विकासले त्यस्ता क्रियाकलापहरुलाई अपराध घोषणा गर्ने छ जसले ९० प्रतिशत हिंसालाई नियन्त्रण गर्न सफल हुनेछ । दुई चार जना चतुर वा उर्छिंखलको हातवाट सत्ता वाहिरिने छ । आम जनताका विचमा जातियता, क्षेत्रियता त के संघियताले पनि महत्व पाउने छैन । यि र यस्ता विषयहरु आम मानिसवाट अस्विकृत हुनेछन ।

हो यदि प्रक्रियागत रुपमा प्रविधिको प्रयोगले विधिको शासन संग हामीलाई जोड्ने संयन्त्रको विकास र विस्तार गर्न सकियो भने एक दिन हामीलाई प्रतिनिधिको हैन प्रविधिको आवश्यकता पर्ने छ । त्यसैले मत के भन्छु भने परम्परागत राजनीतिलाई अत्याधुनिक प्रविधि संग फ्युजन गराईयो भने प्रजातन्त्र स्थापना हुन्छ र जसले मानवतन्त्र स्थापना गर्ने पक्षमा पाईला चलाउन सक्दछ । अहिले विश्वमा जे व्यवस्था छ र जसलाई हामी प्रजातन्त्र भन्छौं त्यो त केवल प्रतिनिधि तन्त्र मात्रै हो । प्रतिनिधि चुनेर शासन गर्न पठाउनु अनि त्यसैलाई प्रजातन्त्र हो भन्नु आजको चेतनाका लागि भ्रम मात्र हो । अँझ मानवतन्त्रको कुरा गर्ने हो भने त राज्य, राजनीति, शासन र सिमानावाट शासितले स्वतन्त्रता पाउनुनै मानवतन्त्रको सुरुवात हो ।

हरेक कुराको सुरुवातमा अवश्यनै विभिन्न जोखिमहरु हुन सक्छन । सामाजिक व्यवस्थामा प्रविधिको प्रयोग गर्दा पनि जोखिम होलान तर ति जोखिमहरु देखेर त्यतातिर नवढ्नु केवल मुर्खता मात्रै हो । आज एक ड्राइभर गाडी चलाउन्छ उसको हातमा सयौं यात्रुहरुको जीन्दगी हुन्छ तर हामी गाडी चड्छौं हवाई जहाज चड्छौं र हामी कहिलै दुर्घटनामा पनि पर्छौ तर पनि मोटर गाडी नचढ्नुको विकल्प अव सम्भव छैन । वरु दुर्घटना न्युनिकरणमा पनि प्रयत्न गरिरहेका छौं । हुन सक्छ भोलि ड्राइभर वा पाईलट विना मोटर जहाज उडाउन सकियोस वा आफ्नो प्रविधियुक्त सवारी आफैंले चलाउन सकियोस त्यो प्रयत्न अवश्य रहने छ । त्यसैले आज जसरी हामी मोटरगाडी वा जहाज जस्ता यातायातका साधनलाई ईन्कार गर्न सक्दैनौं त्यसरीनै प्रविधि प्रयोगको प्रयत्नले हामी मुल कानुन वनाउँ र त्यसलाई प्रयोगमा ल्याउँ जोखिम होलान तर तिनको न्युनिकरण गर्दै जाउँ ।

एक दिन सवै मानिस प्रविधिको प्रयोग गर्नै पर्ने अवस्थामा पुग्ने छन । प्रविधि भित्र प्रवेश नगरी सुरक्षित हुन नसकिने अवस्थाको सृजना हुनेछ । प्रविधिको प्रयोग गर्नु भनेको प्रविधियुक्त संसार भित्र प्रवेश गर्नु हो । प्रविधियुक्त संसार भित्र प्रवेश गरि सके पछि मानिस मानिस विचको दुरी समाप्त हुनेछ । एक मानिस सजिलै चाहेको अर्को मानिस संग जोडिन सक्ने छ । मानिसका हरेक क्रियाकलापहरु प्रविधि भित्र संचालित हुन थाल्ने छन । व्यापार व्यवशाय शिक्षा, मनोरन्जन देखी लिएर आर्थिक तथा प्रशासनिक कामहरु पनि प्रविधि भित्रै संचालन हुन थाल्ने छन । नियम कानुनको प्रयोग गर्न पनि प्रविधिको उपयोग हुनेछ । खेतवारीको काम, घरको काम देखी लिएर उद्योग, कलकारखानाहरु समेत सवै कामहरु प्रविधिको प्रयोग द्धारा हुँदै जानेछन । जो संग जति वढी सूचना र प्रविधि हुनेछ त्यो त्यतिनै सम्वृद्ध र शक्तिशालि वन्नेछ । मानौंकी श्रीष्टीमा वैचारिक प्राणी मानिसलाई नियन्त्रण गर्न प्रविधि (काल्पनीक प्राणी) को उत्पत्ति हुनेछ । त्यसैले प्रविधि भित्र आफ्नो लागि पृष्ठ वनाउन प्रयत्न गरौं ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • भ्यालेन्टाइन डे यानि प्रणय दिवस
  • गणतन्त्रका गद्दार हैनौ भने तुरुन्त निर्वाचन गर
  • महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई
  • सरकारको सरप्राइज : जनता जिल्ल
  • ‘त्रिदेशीय साझेदारी’ किन चाहँदैन भारत ?
  • प्रतिनिधितन्त्र विरुद्ध प्रविधितन्त्र
  • बौद्ध दर्शनका प्रमुख मान्यता
  • संविधानका ३६५ दिन