Facebook Twitter Google+
DHO

बौद्ध दर्शनका प्रमुख मान्यता

thumb

दीपसागर प्यासी,

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन् । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति ।

बौद्ध दर्शन मुख्य रूपमा यी तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ- १. अनिश्वरवाद २. अनात्मवाद ३. क्षणिकवाद । यस दर्शनले पूर्ण रूपमा यथार्थमा जीवन जिउने शिक्षा दिन्छ ।

१. अनिश्वरवाद
बुद्धले ईश्वरको सत्तालाई मानेका थिएनन् किनभने दुनियाँ प्रतीत्यसमुत्पादको नियमबाट संचालित हुन्छ भन्ने उनको धारणा थियो । प्रतीत्यसमुत्पाद अर्थात् कारण-कार्यको । यस श्रृंखलाका धेरै चक्र हुन्छन्, जसलाई १२ भागमा बाँडिएको छ । त्यसैले यस ब्रह्माण्डलाई संचालन गर्ने कोही पनि छैन । न त कोही उत्पत्तिकर्ता छ, किनभने उत्पत्तिभन्दा अन्त्यको पनि भान हुन्छ । त्यसैले न कुनै सुरुवात छ न त अन्त्य नै ।

२. अनात्मवाद
अनात्मवादको अर्थ वास्तवमै ‘आत्मा छैन’ भन्ने लाग्दैन । जसलाई मान्छे आत्मा सम्झिन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह कहिल्यै पनि छुट्टिएर जडसित बाँधिन सक्छ र कहिल्यै पनि अन्धकारमा लीन हुन सक्छ ।

स्वयं हुनुको अर्थ जानेविना नै आत्मवान हुन सक्दैन । निर्वाणको अवस्थामा मात्रै स्वयंलाई जान्न सकिन्छ । मृत्युपछि आत्मा महा सुसुप्तिमा बिलाएर जान्छ । त्यो अनन्तकालसम्म अन्धकारमा रहिरहन सक्छ अथवा त्यसै बखत् नै अर्को जन्म लिएर सांसारिक चक्रमा फेरी सहभागी हुन सक्दछ । त्यसैले आत्मा तबसम्म आत्मा हुँदैन जबसम्म बुद्धत्व प्राप्त हुँदैन ।

3. क्षणिकवाद
यो ब्रह्माण्डमा सबै कुरा क्षणिक र नश्वर छ । स्थायी भन्ने कुनै कुरा पनि छैन । सबैथोक परिवर्तनशील छ । यो शरीर र ब्रह्माण्ड पनि त्यस्तै हुन्छ, जसरी घोडा, गद्दी र पाङ्ग्राको संयुक्त रूपलाई रथ भनिन्छ र यी ३ वटै कुरालाई अलग अलग गर्दा रथको अस्तित्व रहँदैन ।

माथि प्रस्तुत गरिएका तिन सिद्धान्तमा आधारित भएर बौद्ध दर्शनको रचना भएको हो । यी तीन सिद्धान्तमा भन्दा अगाडि बढेर थेरवाद, वैभाषिक, सौत्रान्त्रिक, माध्यमिक (शून्यवाद), योगाचार (विज्ञानवाद) र स्वतंत्र योगाचारको दर्शन निर्माण भएको पाइन्छ । यसैगरी बौद्ध धर्मका दुई प्रमुख सम्प्रदायबाट छ उपसम्प्रदाय बनेका छन् । यी सबैको केद्रीय दर्शन प्रतीत्यसमुत्पाद नै रहेको छ ।

निर्वाणलाई जीवनको चरम लक्ष मान्ने यो दर्शन चार आर्यसत्त्यमा केन्द्रित रहेको छ । भगवान् गौतम बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य यस प्रकार छन्-

१. संसार दुखमय छ
२. दुखको कारण छ
३. दुखको नाश सम्भव छ
४. दुखानाशको उपाय छ ।

आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ :-

१. सम्यक दृष्टि : सबै बस्तुको वास्तविकता बुझ्नु
२. सम्यक संकल्प : नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु
३. सम्यक वाक् : हानिकारक कुरा नगर्नु र झूट नबोल्नु
४. सम्यक कर्म : हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु
५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु
६. सम्यक व्यायाम : मनस्थितिलाई शुद्ध राख्नु
७. सम्यक स्मृति : म र मेरो भावनाबाट माथि उठ्नु
८. सम्यक समाधि : चार आर्यसत्यको मनन र आर्यसत्यमा श्रद्धा, आनन्द एवं शान्तिको चेतनाप्रति उदासीनता र शारीरिक एवं मानसिक सन्तुष्टिको अभावावस्ता आदि ।

सन्दर्भ सामग्री :
जनक दर्शन- डा. स्वामी रामानन्द गिरी
बौद्धादर्श- नारायण प्रसाद रिजाल
भारातीय दर्शन-परम्परा और आदिग्रन्थ- डा. हरवंशलाल शर्मा
The Buddha and his religion : Barthélemy Saint-Hilaire

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • प्रजातन्त्र दिवस र यसको सार्थकता
  • भ्यालेन्टाइन डे यानि प्रणय दिवस
  • गणतन्त्रका गद्दार हैनौ भने तुरुन्त निर्वाचन गर
  • महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई
  • सरकारको सरप्राइज : जनता जिल्ल
  • ‘त्रिदेशीय साझेदारी’ किन चाहँदैन भारत ?
  • प्रतिनिधितन्त्र विरुद्ध प्रविधितन्त्र
  • बौद्ध दर्शनका प्रमुख मान्यता