Facebook Twitter Google+ Google+
Dipawali
DHO

कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)

s1Advertise Here

राजेन्द्र तारकिणी

बाक्लो न बाक्लो कुहिरोको च्यादरभित्र । सुइँसुइँ बाजा बजाउँदै चल्ने बतास । डाँडामाथि थुरथुर कँपाउने चिसो भयो । एउटा सर्टको भरमा थिएँ म । साथमा थिए मित्र दीपसागर प्यासी, ढकबहादुर बस्नेत र उनको फुर्तिलो सानो छोरो । जम्माजम्मी चारजनाको टोली थियो हाम्रो । हाम्रो जस्तै ससानो टोली बाँधेर हजारौँ जन उक्लिएका थिए सतीदेवीको भाल खसेको यो चन्द्रागिरि डाँडामाथि ।

चल्तीको सेल्फी पुस्ता अर्थात् अधिकांश युवायुवतीहरू पनि छोटा र पातला लुगामा थिए । सब आआफ्नो मनमौजीमा । तर धेरैको मनमा भने मौसमले धोका दिएकोमा गुनासो गुम्सिँदै थियो । क्लिक–क्लिक सेल्फी जन्माइरहेको सेल्फी पुस्ता कुहिरोबाटै फुत्तफुत्त s111पानीका अणु हाम्फाल्न थालेपछि भने ओत लाग्न तँछाडमछाड भयो । बन्दै गरेको भ्युटावरको ग्रान्ड फ्लोर र फस्र्ट फ्लोरमा धुमधामले रेष्टुरेन्ट चलिरहेको थियो । मानिसहरू त्यहीभित्र अटेसमटेस भएर ताताताजा परिकारको शरणमा पुगे । तर अचाक्ली महङ्गो भनेर आफ्नै जिब्रो टोक्नेहरू पनि त्यहीभित्र कोचिए । कोही हात बाँधेर काँप्दै बसे, कोही खाँदै र गफ लाउँदै ज्यान तताउँदै बसे । सम्भ्रान्त वर्गदेखि अशान्त वर्ग सबै थिए त्यहाँ । भजनमण्डली र धर्मभीरुदेखि नेता, पत्रकार, प्रेमिल जोडी… अनेक थिए ।

राजेन्द्र तारकिणी

राजेन्द्र तारकिणी

शनिबार अघिल्लो रातिदेखि नै पानी परेर काठमाडौंको मौसम चिसिएको थियो । दिउँसो मौसम सफा होला र चन्द्रागिरिको चुचुरोबाट काठमाडौं सहर र सहरेतर दृश्य पान गरौँला भनी हामी बिहानै लाग्यौँ थानकोटको पाखोतिर । जसै त्यहाँस्थित ‘बटम स्टेसन’बाट केवलकारका चिल्ला डिब्बाभित्र बसेर सललल माथि गगनचुम्बी डाँडाका चुचुरातिर झुण्डिएर बग्यौँ, लाग्यो– हामी त कुहिरोको सहरभित्र पो हराइरहेका छौँ ।
बिजुलीका तारमा बहने करेन्टझैँ हामी केवरकारमार्फत् बहिरहेका थियौँ । उन्मुक्त थियो संसार । तर, चारैतिरबाट कुहिरोको बाक्लो जत्थाले घेरिदिँदा मौसम क्लियर होला भन्ने हाम्रो आशा शीतको थोपाझैँ चिसो मात्र भएन, विलाउँदै गयो । बादल र कुहिरोको ‘कूल डान्स’सँगै झरी नै वर्षियो । बस्, दिनभरि हामी कुहिरोका कागसरह भयौँ, तैपनि यो अुनभूति अभूतपूर्व थियो । चिसो हावा चलिरहने, तीव्र रूपले कुहिरो मडारिरहने, छिनमा घाम लागेजस्तो हुने तर तुरुन्तै बादलको घेराबन्दीमा परेर सूर्य बेपत्ता हुने । अनि पानीका थोपा धर्तीको (प्रेमिकाको ?) स्पर्शका लागि ओर्लिने । गज्जबको ‘कूल’ वातावरणमा बित्यो दिन ।
s4
राजधानीबासीका लागि अग्ला पहाड, हरिया वनजंगल, कुहिरोको बाक्लो पर्दा र प्रकृतिको स्वच्छ सौन्दर्य दुर्लभप्रायः भइसकेको छ । जताततै कंक्रिटका संरचना, धुँवाधुलो, कोलाहल, प्रदूषण आदि राजधानी काठमाडौं शहरको विशेषता नै भएको छ । यस्तो यान्त्रिक दैनिकीदेखि वाक्क भएर केही छिनका लागि भए पनि मानिसहरू स्वच्छ र प्राकृतिक हावापानीको खोजीमा भाँैतारिरहेका छन् । तीव्र रूपले बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण र मानिसको आधुनिक मनमौजी जीवनशैलीको फाइदा उठाउँदै काठमाडौँ वरपरका काँठ र डाँडापाखातिर अहिले मनोरञ्जनका लागि विभिन्न पार्क, रिसोर्ट, गुम्बा, फनपार्क आदि खुलिरहेका छन् र यो क्रम बढ्दो छ । र, मनोरञ्जन एउटा आधुनिक व्यापार–व्यवसायको रूप भइसकेको छ । यसैको एउटा नमुना हो– चन्द्रागिरी केवलकार र चन्द्रागिरी डाँडामाथि निर्माणरत फनपार्क, पिकनिक स्पट, भ्युटावर, होटल तथा रेष्टुरेन्ट । जहाँ हामी परम्परा र आधुनिकता एवं प्रविधिको अनौठो ‘फ्युजन’ पाउन सक्छौँ ।
s3
त्यही डाँडामाथि धर्मकर्ममा आस्था राख्नेहरूका लागि मन्दिरको समेत निर्माण गरिएको छ । भालेश्वर महादेव नाम दिइएको उक्त मन्दिर प्राचीन किंवदन्तीका हिसाबले समेत महत्वपूर्ण र तीर्थयात्रीहरूको लागि आकर्षणको केन्द्र बनेको छ । शिव अर्थात् ‘महादेव’ सर्वाधिक पुजिने र भजिने देउताका रूपमा हिन्दू समाजमा लोकप्रिय छन् । उनै महादेवले कुनै कालखण्डमा आफ्नी प्रेमिका सतीदेवीको लास काँधमा बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा आइपुगेको र यहाँ सतीदेवीको ‘भाल’ अर्थात् निधार पतन भएको स्वस्थानी कथामा पढ्न पाइन्छ । भाल पतन भएर उत्पन्न भएका महादेवलाई भालेश्वर भन्न थालिएकाले यस डाँडामाथि ‘भालेश्वर महादेव’को मन्दिर बनाइएको रहेछ । मन्दिरको दर्शन गर्ने उद्देश्य पनि यहाँ चढ्नुको एक सजिलो बहाना भएको छ ।
यो डाँडाको अर्को ऐतिहासिक विशेषता पनि छ । गोर्खाली राजा पृथ्वीनारायणको पहिलो नजर यहीबाट बिझेको थियो– कान्तिपुर, भादगाउँ र कीर्तिपुरमाथि । काठमाडौँ उपत्यकाको दृश्य यही डाँडाबाट नियालेका शाहले त्यसपछि नै यी शहर कब्जा गर्ने र नेपाल एकीकरणको अभिलाषा जागेको इतिहासविद्को भनाइ छ ।
s7
यो डाँडाबाट सगरमाथा लगायत हिमालहरूको दृश्य देखिनुका साथै काठमाडौं उपत्यकाको समस्त दृश्यपान गर्न सकिने बताइन्छ । तर, हामीलाई भने कुहिरोले यी सब हेर्न निषेध गरिदियो । काठमाडौंकै सर्वाधिक अग्लो डाँडा मानिने चन्द्रागिरि प्राकृतिक सौन्दर्यपानका लागि अनुपम रहेकोमा कुनै शंका छैन तर यहाँको मौसम प्रायः धुम्मिरहने र चिसो हुनाले उपयुक्त मौसम हेरेर चढ्नु ठीक हुने रहेछ ।
ऐतिहासिक, धार्मिक, प्राकृतिक महत्वका कारण चर्चामा रहेको चन्द्रागिरि डाँडामा केवलकारमार्फत् नौदेखि चौध मिनेटमै पुग्न सकिन्छ, थानकोटको बटमस्टेसनबाट । चन्द्रागिरि हिल्स प्रा.लि.ले झण्डै एक अर्बको लगानीमा सञ्चालनमा ल्याएको केवलकार पछिल्लो विकसित प्रविधिमा आधारित छ । केवलकारको भाडा सर्वसाधारणका लागि दुइतर्फी रु सात सय छ । यसमा अपांगता भएका व्यक्तिले पचास प्रतिशत र विद्यार्थीले पच्चीस प्रतिशत छुट पाउँछन् ।

तस्वीर : राजेन्द्र तारकिणी/सीधारेखा
प्रकाशित मिति : २०७३ भदौ १९ गते, अाइतबार

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट