Facebook Twitter Google+
DHO

सुरु भयो ‘गौरा’को चहलपहल

Gaura Parva

भीमदत्तनगर, ५ भदौ । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल सुरु भएको छ । यसवर्ष गौरा पर्वको सुरुआत भदौ ७ गते पञ्चमीका दिनदेखि हुने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई साताअघिदेखि नै सुरु भइसकेको छ ।

महेन्द्रनगरमा हरेक दिन साँझ खुल्लामञ्च, संविधान चोकलगायतका स्थानमा विभिन्न संस्थाको पहलमा गौरा खेल्नेको भीड लाग्न थालेको छ । गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, घमारीलगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् । यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने चलन पनि यहाँ विद्यमान छ ।

त्यसैगरी महाकाली साहित्य संगमले पनि यहाँ गौरा महोत्सवको आयोजना गरेर देउडाको रौनकलाई अझ बढाएको छ भने खप्तड समाजले पनि गौराका अवसरमा देउडा प्रतियोगिता गरिरहेको छ । तीन दशकदेखि महाकाली साहित्य संगमले महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गर्दै आएको संगमका अध्यक्ष वीरबहादुर चन्दले बताए ।

गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा ‘विरुडा’ अर्थात् पाँचथरिका गेडागुडी भिजाएर राख्छन् । गौरा र शिवको पूजामा अक्षताका रूपमा प्रयोग हुने ‘विरुडा’ भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रूपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्छन् ।

पूजाको कार्यक्रमपछि विरुडालाई सबैले प्रसादका रूपमा ग्रहण गर्छन् । तराईमा कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला गौराको रौनकमा रमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • के-के छन् वडा अध्यक्षका काम, कर्तव्य र अधिकार ? (जानकारीसहित)
  • स्थानीय निर्वाचन कुन जिल्लामा कहिले हुँदैछ?
  • पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उम्मेदवारी दर्ता
  • बौद्ध दर्शनका प्रमुख मान्यता
  • प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण दललाई बेलौरीको खुलापत्र
  • प्रधानमन्त्रीले आज जनताका नाममा सम्बोधन गर्ने
  • मौलिकता हराएको तीज
  • टुँडिखेलमा गौरा पर्वको भव्य रौनक (फोटो फिचरसहित)