Facebook Twitter Google+ Google+
DHO

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा सुरु

deuda3Advertise Here

भगीरथ अवस्थी,
बैतडी, ७ भदौ ।

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । गौराको पहिलो दिन आज ब्रतालु महिलाहरुले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाएका छन् । जसलाई बिरुडा भन्ने गरिन्छ । ब्रतालु महिलाहरूले तामा तथा पित्तलको भाडामा विरुडाको रूपमा गहुँ, गहत, मास, केराउ र गुराउँस भिजाउने चलन रहिआएको छ ।

सोमबार बिरुडा भिजाएपछि भोलि नजिकको धारा, तलाउ तथा कुवामा गएर बिरुडा धुने चलन रहिआएको छ । बिरुडा भिजाएपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिएको पण्डित विष्णुदत्त पन्तले बताउनुभयो ।

Gaura Parva

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी, फाग आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात गौराष्टमीका दिन व्रत बसेर महिलाहरू बिहानैदेखि गौराखलोमा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुले बताएका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

गाउँगाउँमा गौराको रौनक

गौरापर्व सुरु भएसँगै सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढेकोे छ । सुदूरपश्चिमेलीहरुले दशैं भन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएकाहरू पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरुबाट गौराका लागि घर फर्किएका छन् ।

गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । गौरा पर्वको प्रमुख आकर्षण ठाडो खेल, ढुस्को,धमारी, फाग डेउडा हो । यी खेलहरुमा पौराणिक कथा देवी देवताका गाथा धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृति विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ ।

deuda 12

गौराको मुख्य आकर्षणको रूपमा ठाडोखेल, चैत, धमारी, ढुस्को पनि रहेका छन् । यी चीजहरुमा परापूर्व कालका इतिहाससमेत समेटिएको पाइन्छ । श्रुतिका आधारमा भनिने यी इतिहासहरु पछिल्लो समयमा भने लोप हुँदै जान थालेका छन् ।

ज्योतिषहरुबीच मतभेद

यसैबीच गौराका बिषयमा ज्योतिषहरुबीच मतभेद भएको छ । कतिपयले सोमबार नै पञ्चमी सुरु भएकाले आजको दिनलाई विरुडापञ्चमी भनेका छन् भने कतिपयले मंगलबार मात्रै बिरुडा पञ्चमी हुने जनाएका छन् । अठोला ज्योतिष डिल्लीराज जोशीका अनुसार सूर्योदयमा गौराको सुरुवात गर्नुपर्ने भएकाले मंगलबार नै विरुडापञ्चमी रहेको छ ।

उहाँले मंगलबार नै पञ्चमी र षष्ठी तिथि परेको बताउनुभयो । उता पण्डित दयाकृष्ण पन्तले भने पञ्चमी सोमबार सुरु भएकाले सोमबार नै बिरुडापञ्चमी भएको दाबी गर्नुभयो । मंगलबार षष्ठी र बुधबार अमुक्ता भरण सप्तमी भएको उहाँले बताउनुभयो । यस्तै ज्योतिष कृष्णानन्द अवस्थीका अनुसार पनि सोमबार नै बिरुडापञ्चमी परेको छ ।

Deuda 13baitadi

बिरुडा भिजाउन सोमबार नै उपयुक्त भएको उहाँले सुझाउनुभयो । धारा गौरा र बिरुडा पञ्चमी एकैदिन नमाउने प्रचलन अनुसार सोमबार नै बिरुडा पञ्चमी परेको उहाँको दाबी छ । गौराका बिषयमा बेलाबेला ज्योतिषहरुबीच मतभेद हुने गरेको छ । उनीहरुले आफ्नो क्षेत्रमा आफू अनुकूल नै गौरा मनाउनसमेत सुझाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • संविधान संशाेधनमा बृहत् छलफल हुँदै, साेमबार मतदान हुने
  • संविधान संशोधनको विपक्षमा राप्रपा
  • पत्रकार महासंघको अधिवेशन तयारी अन्तिम चरणमा
  • प्रदेश र केन्द्रको चुनाव मङ्सिर ४ र २१ मा एकैपटक गर्ने तयारी
  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा
  • प्रदेश नं. २ मा लागु भयाे निर्वाचन अाचारसंहिता