Facebook Twitter Google+ Google+
DHO

ऐतिहासिक स्थल धौलकाँडाकोट

dahulAdvertise Here

नेपालको सुन्दर सुदूरपश्चिम क्षेत्रको एउटा पहाडी जिल्ला हो बैतडी । भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताले युक्त यो सुन्दर जिल्ला पर्यटकीय आकर्षणको केन्द्र पनि हो । यहाँ थुप्रै महत्त्वका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर रहेका छन् । तर व्यापक अध्ययन, अनुसन्धान, संरक्षण र प्रचार–प्रसारको अभावमा यहाँका कैयौँ महत्त्वपूर्ण स्थल ओझेलमा परिरहेका छन् ।

बैतडेली संस्कृति मूलतः डोटेली संस्कृतिभित्रै पर्दछ । तापनि यहाँका विभिन्न ठाउँ, इलाका, गर्खाहरूमा आ–आफ्नै किसिमको मौलिकपना भेट्न सकिन्छ । यस्तै अनेक सुन्दरताले भरिपूर्ण गर्खामध्ये ‘पुरचौँडी गर्खा’ पनि एक हो । यो क्षेत्र बैतडी जिल्ला सदरमुकामदेखि ज्यादै टाढा एवं विकट अवस्थामा रहेको छ । पुरचाँैडी क्षेत्रमै पर्ने दार्चुला तथा बझाङ्गको सीमानानेर अवस्थित ‘धौलकाँडा कोट’ एक ऐतिहासिक महत्त्वको सुन्दर स्थल हो । यो कोट बैतडी सदरमुकामदेखि उत्तरपश्चिम सिमानानेर पर्दछ । धौलकाँडा कोट भनिने यो टाकुरो प्राकृतिक सौन्दर्यले भरिपूर्ण त छ नै, यस क्षेत्रका अन्य गगनचुम्बी डाँडाहरूभन्दा पनि झनै अग्लो छ ।

राजेन्द्र तारकिणी

राजेन्द्र तारकिणी

झट्ट हेर्दा आकाशै छोएको जस्तो देखिने र ज्यादै अग्लो हिमाली चुचुराजस्तो लाग्ने यो टाकुराको चारैतिर घना जङ्गल र ठूल्ठूला भीरहरू रहेका छन् । टाढाबाट हेर्दा माथि टाकुरामा थोरै मात्र क्षेत्रफल होला भन्ने जस्तो लाग्छ, ठ्याक्कै सगरमाथाको चुचुराको क्षेत्रफलजस्तै । तर त्यहाँ गएर नै अवलोकन गर्दा जोकोही पनि आश्चर्यमा पर्ने गर्छन् । टाकुरामाथि ठूलो मैदानजस्तो समथर भू–भाग देखिन्छ, जहाँ अधिकांश ठूल्ठूला बूढा रूखहरूले घना गरी ढाँकिएको छ । ती रूखहरू अन्त्यन्त पुराना छन्, तर कति पुराना हुन् भन्ने खोजिनीति भइसकेको छैन ।

त्यस टाकुरामाथि प्राचीन राज्यको राजधानी रहेको भन्ने कुराको गाइँगुइँ सुन्न पाइन्छ । यस कुरालाई पुष्टि गर्ने थुप्रै आधारहरू पाउन सकिन्छ । त्यस कोटमा सोह्र कोठा भएको दरबारको भूइँतलाको भग्नावशेष अझै पनि स्पष्ट देख्न सकिन्छ । भत्किएको दरबारको बीचबीचबाट ठूल्ठूला बूढा रूखहरू उम्रिएको तथ्यबाट त्यो दरबार धेरै पुरानो हो भनी अनुमान गर्न सकिन्छ । बूढा रूखका कापमा जाँतो अडिरहेको दृश्य झन् आश्चर्यलाग्दो देखिन्छ ।

भग्न दरबारको चारैतिर बलिष्ठ पर्खाल रहेको छ । त्यस कोटमा देवताको पवित्र थान (मन्दिर) पनि रहेको छ । त्यसैले पनि त्यस टाकुरालाई पवित्र देवभूमि मान्नेहरू धेरै छन् । जन–साधारणहरू दिनहुँ त्यहाँ नित्य पूजापाठ गरिरहेका हुन्छन् । अनेक ध्वजा–पताका तथा नेजाहरूले सुशोभित उक्त देवभूमि अर्थात् मन्दिरक्षेत्रमा प्रवेश गर्ने जोकोहीले पनि त्यसको पन्ध्र मिटर जति टाढै जुत्ता–चप्पल खोलेर जानुपर्छ ।

साथमा फूलपाती, अक्षता लगेर चढाउनु जरुरी हुन्छ । अन्यथा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । पहिलेपहिले त त्यो टाकुरामा जान पनि मान्छे साह्रै डराउँथे रे । तर अचेल भने दिनहुँ पूजापाठ र घुमघाम गर्ने सर्वसाधारणदेखि शैक्षिक भ्रमण तथा वनभोजमा जाने विद्यार्थी तथा युवाहरूको ठूलो घुँइचो लाग्ने गर्छ ।

सुन्नमा आएको एक किंदन्तीअनुसार, धेरै समय पहिले एकजना राजा घुम्दै–घुम्दै यस क्षेत्रमा आइपुगेका थिए रे । यहाँका विशाल डाँडाकाँडाहरू र मनोरम सुन्दरता देखेर एउटा अग्लो डाँडाबाट यस क्षेत्रमा आफ्नो राज्य स्थापना गर्ने इच्छा राजामा पलायो रे । त्यसपछि सोही डाँडामा दरबार बनाई बसेका थिए रे । हुन पनि सर्वाधिक अग्लो डाँडा, चारैतिर घनघोर जङ्गल र ठूल्ठूला भीरहरू रहेको तथ्यबाट त्यहाँ प्राचीनकालमा राजा बसेको भन्न सकिने आधार रहेको छ ।

किनभने यो टाकुरो सुरक्षाको दृष्टिले पनि आकर्षक र उत्तम रहेको देखिन्छ । स्थानीय भाषामा राजा बसेको स्थानलाई कोट भन्ने गरिन्थ्यो । बैतडी जिल्लामा रहेका केही चर्चित कोट (जस्तै ः शर्माली कोट, ढिक कोट, डिङ कोट, हाट कोट आदि) मध्ये यो पनि एक हो । त्यसैले यस टाकुरामा पनि राजा बसेको कारण यसलाई ‘धौलकाँडा कोट’ भन्ने गरिन्छ ।
एकदिन ती राजा कुनै कामले बाहिरी यात्रामा निस्किए रे । घुम्दै जाँदा कतै अन्यत्रै नगरमा पुगे रे । त्यहाँको अलि विकसित र फरक वातावरणले आकर्षित भई त्यतैतिर वर्षौँ राज्य गरी बसे रे ।

तर यस डाँडा र देवथानलाई चटक्क बिर्सेकाले राजाको दरबारमा अनिष्ट हुन गयो रे । अनि पछि ती राजा पुनः धौलकाँडा कोटको दरबारमा फर्केर देवताको थानमा फूल चुँडेर चढाएका रे । यसरी देवताको थानमा राजाले फूल चुँडेर चढाएकाले नै त्यस दिनदेखि यस क्षेत्रको नाम पनि ‘फूलचुँडी’ रहन गयो रे । पछि ‘फूलचँुडी’ को अपभ्रंश हुन गई ‘पुरचुँडी’ हुँदै ‘पुरचौँडी’ नाम बन्न गएको भन्ने सुनिन्छ । तर एउटा अर्को किंवदन्ती अनुसार, हालको पुरचौँडी क्षेत्रमा पर्ने जामाडी नदीको आसपासमा अचानक ‘प्रचण्डी’ नामकी देवीको उत्पति भएको थियो रे । पछि ‘प्रचण्डी’ देवीकै नामबाट अपभ्रंश हुन गई यस क्षेत्रको नाम ‘पुरचौँडी’ रहेको भन्ने तर्क पनि सुन्नमा आएको छ ।

जेभए पनि धौलकाँडा कोटको टाकुराबाट इतिहासको कुनै कालखण्डमा कुनै रजौटाले राज्य गरेको चाहिँ यथार्थजस्तै लाग्छ । तर कुन राजाले कहिलेदेखि कहाँसम्म कस्तो राज्य चलाएथे भन्ने कुराचाहिँ प्रर्याप्त खोज–अनुसन्धानको अभावमा पुष्टि हुन सकेको छैन । यदि खोज–अनुसन्धान गर्ने हो भने पर्याप्त प्रमाण र आधारहरू जुटाउन सकिने अवस्था चाहिँ छँदैछ ।
यहाँबाट टाढाटाढासम्म चारैतिर लहरै उभिएका र घुम्रिएका डाँडाकाँडाहरूको मनोरम दृश्य देखिन्छ ।

लेकदेखि बँेसीसम्म छरिएर रहेका सुन्दर वस्ती र दार्चुला–बझाङ्ग क्षेत्रमा पर्ने ‘गुँरास हिमश्रृंखला’को दृश्य पनि आनन्दसाथ अवलोकन गर्न सकिन्छ । यसपालि म शरद्को याममा त्यस क्षेत्रतिर जाँदा माथिल्लो टाकुराबाट देखिने हराभरा स्वर्गीय सुन्दर दृश्यहरूले भावविभोर भएको थिएँ । यसरी आनन्दमय दृश्यपान गरिरहँदा मैले सोचेँ, यस क्षेत्रलाई पदमार्गका रूपमा विकास गर्न सके र पर्याप्त अध्ययन र प्रचार–प्रसार गर्न सके राम्रै पर्यटकीय स्थलको रूपमा दरिन सक्थ्यो ! पुरचौँडी क्षेत्रकै विख्यात तथा विकासोन्मुख एक मात्र बजार रहेको ‘वसन्तपुर हाट’ क्षेत्र त्रिवेणीको किनारमा अवस्थित उर्वर फाँट हो ।

यहाँदेखि ढिकुल्लीको उकालो हुँदै श्री विणेश्वर महादेवको मन्दिर–क्षेत्रसम्म पैदलमार्ग विकास भएको छ । त्यसलाई अझै व्यवस्थित पार्न सकिन्छ । अनि विणेश्वर महादेवथानबाट ककरबार, भदलेको लेक हँुदै डाँडाको टुप्पैटुप्पा गैरीगाउँसम्म (गैरी गाउँमा सानोतिनो बजार विकास गर्ने) र त्यहाँबाट धौलकाँडा कोटको टाकुरासम्म व्यवस्थित पैदलमार्ग विकास गर्न सकियो भने यो मार्ग पूरा एक दिनका लागि राम्रै ‘ट्रेकिङ्ग क्षेत्र’ बन्ने थियो ।

यस्तो सुन्दर परिकल्पना मनभरि खेलाउँदै म गैरी गाउँको लेक हुँदै तलतिर झरिरहेको थिएँ ।

न्वादेउ— ६, पुरचौँडी, बैतडी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here


« (अघिल्लो)



सम्बन्धित सामग्री

  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट