DHO

असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव

असिम केदार धुरा

भानदेव बडू

भनिन्छ, शिव-भक्तिको रंग चढेपछि मानिसले असीम शान्ति पाउँछ, किनकि महामना शिव आफ्नो भक्तलाई सदा आशिर्वाद दिन्छन् र आफ्नै शरणमा राख्छन् । यस्ता शिवस्थलहरू थुप्रै भेट्टिन्छन्, जो अतिव प्राचीन हुन् र चामत्कारिक पनि छन् । यदि तपाईं पनि शिवस्थलमा रमाउन चाहनुहुन्छ भने आउनुहोस् आज यस्तै एउटा विशिष्ट क्षेत्रको भ्रमण गरौँ ।

Bhandev Badu

हाम्रो गन्तव्य सुदूरपश्चिमको सिमान्त जिल्ला बैतडीमा अवस्थित ग्वाल्लेककेदार धाम क्षेत्र र त्यसको पूर्वी पार्श्वमा रहेको असीम केदारको मन्दिर हो । करिब सातसय वर्ष पुरानो यो मन्दिरको महत्त्व यहाँको चहलपहलबाट पनि प्रमाणित हुन्छ । केदार शैलीमा निर्मित यो मन्दिरका गुठियार बडू ब्राह्मणका पुर्खाहरूले हालको स्थानमा मन्दिर स्थापना गरेको भए पनि असीम केदार देवता यस क्षेत्रकै प्राचीन शक्तिशाली देवता मानिन्छन् । यहाँका तत्कालीन शासक वंशीय ठकुरीहरूको मन्दिर निर्माणमा ठूलो भूमिका रहेकाले पर्व विशेषमा हुने यहाँको पुजाआजामा उनीहरूको लागि विशिष्ट स्थान तोकिएको छ । अद्यापि पुराना घटनाहरूसंग सम्बन्धित प्रचलनहरूका बारेका कयौं किम्बदन्तिहरू यस भेगमा प्रचलित छन् ।

 

चारैतिर हरियाली

Asim Kedar hariyali

कुनै विशेष रैथाने वनस्पतिलाई लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदूर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाई ग्वाल्लेक केदार, निगालोलाइ निंगलाशैनी भगवती, मेललाई मेलौली भगवती, देवदारलाई डागेश्वरी, जाइफललाई समैचीको प्रतीक वृक्ष मानिन्छ । यसैगरी हरेक स्थानीय देवताहरूलाई प्रकृतिसँग जोडिएको हुन्छ । यिनै मान्यताहरूबाट ससम्मान जोगाइएको हरियो पहाडको बिचोबिच हुँदै दशरथचन्द राजमार्ग बैतडीको देहिमाण्डौमा पुगेपछि ग्वाल्लेक केदारधामतिरको पैदल हरित यात्रा शुरु हुन्छ । पहाडहरूको मनोरम दृश्य अवलोकन गर्दै असीमकेदारको मन्दिरतर्फ पैदल भ्रमणमा जाँदा ८ कि.मी जति हिँड्नु पर्दछ। । निर्माणाधीन देहिमाण्डौ सलेना सडकको डोरो थपिदै जाँदा हाल देहिमाण्डौबाट यहाँसम्मको सडक यात्रा १२ कि. मी. मा पुगेको छ । बाटोमा दुई-तिन पुराना गाँउ देखिनेछन् जो विस्तारै शहरी सभ्यतातिर पाइलो बढाउँदै छन् । ग्रामीण नेपालको नैसर्गिक परिदृश्य र ग्रामीण जन-जीवनलाई नजिकबाट हेर्ने यो राम्रो मौका हुन सक्दछ । यदि तपाईं वर्षा ऋतुमा यहाँ आउनु भएको छ भने यो यात्रा अझ शानदार हुनेछ किनकि सडक-बाटो वरिपरिको हरितिमाले अर्कै लोकको झझल्को दिनेछ । कुहिरोभित्र लुकामारी गरिरहने प्रकृतिको लिलाले पानी दिने देवताको रूपमा प्रचारित असीम केदार यात्रा सधैंको लागि संस्मरणीय बन्नेछ ।

हरिया पहाडका फेदीमा छ असीमकेदारको माण्डौं

झरिका महिनामा यो मन्दिरले हरियो च्यादर ओढेका पहाडको फेदमा रहस्य र रोमान्च पैदा हुने गरी खास प्रभाव पारेको हुन्छ । मन्दिर अवस्थित दोभानमा दुईवटा नदी मिसिएका छन् । धरावती र गौवर्धिनी गोदावरी । लोकभाषामा धारी र गोदा गाड । मान्यता के छ भने जतिसुकै पानी वर्षे पनि ग्वाल्लेक धामबाट निश्रृत गौवर्धिनी सधैं सुकिली र शान्त हुन्छिन् तर धराधाममै जन्मेकी धारावती भने थोरै पानी पर्दा पनि गडगडाहटको आवाजका साथ मन्दिरको दक्षिणी पार्श्वमा ताण्डव गर्न थाल्छिन् । यो मन्दिर गाऊँ भन्दा डेढ दुई कि.मी. टाढा एकान्त ठाउँमा छ । हरिया पहाडको फेद र दुई नदीको दोभान अनि एक तमासको नैसर्गिक एकान्त । मन्दिरस्थल भावोत्पादक त छ नै, रहस्यमय पनि छ । गाउँबाट यहाँ पुग्न कच्ची पैदल बाटो हिँड्नु पर्छ । यो सानो उपत्यकाको खोला किनारमा ऊभिएका वृक्षहरुको लहरदार दृश्य हरिया खेत, हरियो जंगल हुँदै शिखरको वनस्पतिविहीन चट्टानमा गएर सकिन्छ । किम्बदन्ति के छ भने कुमौं (कुमायू) को अठौति मल्ल भन्ने कुनै विधर्मी सेना नायकले यस सोराड भेगका देवताहरूसँग पौठेजोरी गर्दै असीम (ससालिंग) देवतालाई दोभानमा भए बगाइदिने धक्कु लगाएको थियो रे । फलत: तत्कालीन युद्धस्थल रहेको ऐचेकाँडाको डाडाबाट असीमकेदार यहाँ सरेका थिए ।

यहाँ मन्दिरको छेवैबाट बग्ने गौवर्धिनी गंगाको शुद्ध पानीमा पादप्रक्षालन गरी श्रद्धालुहरू मन्दिरमा पुग्दछन् । लगभग प्रतिवर्ष भारी वर्षातका बेला नदीमा पानि भरिए पनि यहाँको जलराशी कहिले धमिलो नहुनुलाई आश्चर्य नै मान्नु पर्दछ । यहाँको शिवलिंगलाई फुटलिंग भनिन्छ । जमिनमा उम्रिएको यो प्राकृतिक प्रस्तर-लिंगको आकारमा यदाकदा बृद्धि पनि हुने गर्छ रे । यसो भएमा विशेष किसिमको ढुङ्गाबाट यो लिंगलाई बार्नु पर्ने विधान रहेको छ ।‍

असीम केदार मन्दिर

कुन मौसममा यहाँको यात्रा ठिक हुन्छ ?

सामान्यत: शिवजीको दर्शनको लागि पर्व विशेष कुरिरहनु पर्दैन । त्रिगुणातीत भोले बाबाको पुजा पाठको निम्ति कुनै विशेष अनुष्ठान पनि आवश्यक छैन । तर भाद्र र माघ महिनामा पर्ने विशेष पर्वहरूमा यो यात्रा उपयुक्त हुन्छ । वडा दशै, चैते दशै, गौरा पर्व, न्वागी (नयाँ अन्न) चढाउने पर्व या स्थानीय जाँतको बेला परेछ भने अझ राम्रो हुनेछ । श्रावण महिनामा त बत्ती बाल्नेहरूको लर्कोले यो यात्राको विशिष्टता बताउँछ ।

अन्य दर्शनीय स्थानहरू

मन्दिर र यसको वरपर थुप्रै दर्शनीय स्थलहरू छन् । आधुनिक सुविधाहरूको सन्दर्भमा यहाँको यात्रा अप्ठ्यारो मानिन सक्दछ । तर नैसर्गिक प्राकृतिक वातावरण र पर-पश्चिम नेपालको शानदार प्राचीन संस्कृतिलाई नजिकबाट हेर्ने अर्थमा यो भ्रमण उल्लेखनीय रहने छ । ग्वाल्लेकपर्वत केदारको मुख्य वासस्थान हो तर बगडाको दोभानमा दर्शनका लागि मन्दिर बनाइएको हो भन्ने यथार्थ केदारको एउटा गीति गाथामा समेत प्रष्ट्याइएको छ । गीतको बोल भन्दछ :

काँ रे गुसाइका रै राज स्थान, काँ रे रोकिया काला खाम
शिखर गुसाइका रै राज स्थान, बगडा रोकिया काला खाम ।
गुसाई—–बगडा रोकिया काला खाम ।।

यो मन्दिरबाहेक मूल गाँउको शीर्षमा समेत फलाँट भनिने रैथाने वृक्षको फेदमा आदिम शिलाहरूबाट मात्र निर्मित केदारको सानो मन्दिर स्थापित छ । गाउँको दक्षिणको उच्च समस्थली ऐचेकाँणाको मनोरम डाडामा असिमी केदारको पुरानो स्थापना स्थल रहेको छ । अठौति मल्लसंगको युद्धमा केदारले घुंडा धस्दा पर्न गएका ठूला-ठूला खाडलहरुले यो ठाउँको महत्त्व अझै प्रमाणित गरिराखेका छन् । दाहिने घुंडाले पारेको भीमकाय खाडलको बिचोबिच एउटा गुफा छ । भनिन्छ, यो गुफा सुरनैया किनारको सलेनासम्म पुग्दछ । यस आधारमा यसको लम्बाइ कम से कम दश किलो मिटर हुन आउँछ । गुफाकै आगनमा सानो प्राकृतिक ताल संरक्षणको पर्खाइमा छ । किम्बदन्ति सुनिन्छ, यसैको छेउछाउमा अत्रि अनुसुयाको आश्रमहरु थिए । आश्रमको यज्ञकुण्डबाट निस्किएका भस्मावशेषहरू भसमबाटा भनिने दक्षिणी ढलानमा भेट्टिन्छन रे । पंक्तिकार के ठोकुवा गर्न सक्दछ भने यो स्थानमा पुगेपछि महर्षि अत्रीकै शब्दमा “भाव-बल्लभ भगवान” को चमत्कार देखेर रोमान्चित नहुने कोही होओइन ।

यसबाहेक हाल यस श्रीकेदारको आलमा बस्ने बडू ब्राह्मणका पुर्खाहरुले लडाइमा मारि धपाएका पूर्ववर्ती मट्टे बडबाब (माटोका धनी ठूला बाजे) को संझना स्वरुप बनाइएको स्थापना स्थलहरु र सङौणकोटका आततायी ठगुरी लछिचन्दलाई मारेको स्थान लाछमारे ऐतिहासिक दृष्टिकोणले हेर्न लायक छन् । भिन्नाभिन्नै अर्थमा गौवर्धिनी गंगाको शिरो भागतिर वारिपारि पर्ने दूधजस्तै श्वेत जल बग्ने दुदपोखरी र दुर्घटना भई प्रतेक वर्ष रगत (लोइ अर्थात् लहु) बगने भिर (भिटो) या लोइभिटाको महत्व पनि कम नहोला । यसै गरी सुधो गाइले बाघसंग लडाइ गर्दा ढुङ्गामा परेका गाइका पैतालाका छाप (खोज) रहेको गाइखोजको देउराली होस् या खापरे मारी धपाउदाको खुशियालीमा विजय दुन्दुभि बजाइएको दमाउहाण्णाको डाडो होस्, दृश्यावलोकनका लागि राम्रा गन्तव्य हुन सक्दछन् । अतिवृष्टि या अनावृष्टि रोक्न लौह किला हालिने भन्तोलिको थुम्कोको आफ्नै विशिष्टता छ । ग्वाल्लेककै दक्षिणी पार्श्वमा रहेका काला चुच्चे ढुङ्गाको लामवद्द लहरदार दृश्यलाई तालिमे पल्टनको जत्था बताएर पन्ध्रौ शताब्दीका प्रतापि डोटेली राजा नागी मल्ललाई तत्कालीन बडू बंश नायक प्रतापदेवले झुक्याएका कथाहरुलाई ती शिलाखण्डहरुले अझै भनिरहेजस्तो लाग्दछ । मष्टामाणौ, थरौट, कैलपाल स्थान, देवखोली गुफा, बुढिकेदार स्थलजस्ता कतिपय स्थानको वर्णन लेख-विस्तार भयले यसै खेपमा राख्न नसकिएको हो ।

हेर्न र बुझ्न लायक धेरै कुरा छन् यहाँ

पुराना परम्पराहरुलाई जीवित राखेका कतिपय प्रथा, परम्परा र रीतिरिवाज यहाँ हेर्न पाइने भएकोले यो यात्रालाई सांस्कृतिक यात्रासमेत भन्न सक्नुहुन्छ । जाँत बरियाँतमा नाचिने छलिया नाच, तरवार नाच, धामी नाच्ने चअलो, गौरा पर्वमा खेलिने ठाडो खेल, हत्जोण्या खेल, ढुस्को र चालीजस्ता नृत्यहरु एवम् रुनसिङा (रणसिंहा) दमाउ, ढोलङा भोकर र विकुलजस्ता परम्परागत बाजाहरू यहाँ हेर्न सक्नुहुनेछ। सुरम्य वन प्रान्तरमा वन्य जीवनलाई नजिकबाटै हेर्न पाइने नै हुन्छ । यहाँ आखेट भने परम्पराबाटै बर्जित रहेको छ ।

खाने र बस्ने व्यवस्था

साधारण तर पौष्टिक खाना यहाँको अर्को विशेषता हो । खानपानको परम्परागत तरिकाहरू यहाँ देखिने छन् । आधुनिक होटेल र रेष्टुराँको सुविधा नपाइए पनि केही घण्टाको पूर्व सूचना भए स्थानीयहरुले राम्रो खानपिन र वसोवासको जोहो मिलाउन सक्दछन् । हाल मन्दिर परिसरमा नै अतिथिगृहसमेत निर्माण भएको छ । मीठो आतिथ्यबाट लाग्ने मोहिनी यस भेगकै अर्को आकर्षण हो । खानाका लागि सुदूरपश्चिममा प्रचलित कुनै पनि खानाको प्रवन्ध सजिलै हुन सक्दछ ।
सत्य, शिव र सुन्दरको खोजीमा यो यात्रा

सुसंस्कृत प्राचीन समाजको महत्त्व बुझ्नु छ भने यस्ता अपेक्षाकृत दुर्गम गाउँको भ्रमण अध्येताहरुलाई राम्रो अवसर हो । सौभाग्य वा दुर्भाग्य, जे भनौं, हाम्रा ग्राम्याञ्चलहरुलाई आधुनिक सभ्यताले अझै सम्पूर्ण विदिर्ण गरिसकेको छैन। ग्राम्य पर्यटनले अधिक समय, धैर्य, निष्ठा, श्रम र साधनको माग गर्दछ । बाहनहरुमा गुडेर पाइने झलकभन्दा यो पर्यटनले पाइलैपिच्छे नयाँ जीवन-दर्शन दिनेछ । त्यसैले यसको महत्त्व टुक्रे दृष्यहरुको छायांकनभन्दा समष्टिमा बुझिनु पर्दछ ।

मानसिक शान्ति र आध्यात्मिकतालाई समग्र स्वास्थ्यको निम्ति अनिर्वचनीय विषय मानिरहेको समकालीन विश्वमा भौतिकताको भागदौडबाट केही दिन टाढा रहन खोज्नेहरुलाई पनि यस्ता स्थान राम्रा गन्तव्य हुन सक्दछन् । पुराना तिर्थयात्राका उपक्रमहरुलाई पनि नयाँ अर्थमा परिभाषित गर्नु पर्दछ । यहाँका वन्य प्रान्तमा अवस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र विशिष्ट उदाहरण दिने हैसियत राख्दछन् ।

अधिकांश बाहुन-क्षेत्री र केही दलितहरु बस्ने यहाँको समाजमा दुई अढाइ सय वर्षको गोर्खाली शासनले षडयन्त्र र फोस्रा आश्वासनका केही कथा-अकथाहरू बाहेक थप केही दिएकोजस्तो लाग्दैन । किशोर वयमा स्वत: जुङ्गा उम्रिएजस्तै समयको परिवर्तनका असरहरु देखिने नै भए । यसै कारणले यहाँ अचेल नूतन परिवर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक विविधताले गर्दा यो स्थान नजानिँदो गरी भरिपूर्ण छ । यो क्षेत्रको भ्रमण सत्य, शिव र सुन्दरको सन्निकट रहने देखिन्छ । शुभम् !

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट
  • अपिनाम्पा संरक्षण क्षेत्र : पर्यटकको एक गन्तव्य
  • पातालभूमेश्वर : एक रहस्यमय सत्यता
  • पर्यटकको पर्खाइमा पातालभुमेश्वर (फोटो फिचर)