Facebook Twitter Google+
DHO

समस्या नियतिमा होइन नियतमा छ

नगेन्द्रराज पौडेल

२०४४ सालमा तत्कालीन माध्यमिक बिद्यालय निरीक्षकको रुपमा शिक्षा सेवामा प्रवेश गरेका नगेन्द्रराज पौडेल हाल सोही सेवाको उपसचिवका रुपमा जिल्ला शिक्षा कार्यालय तनहुँमा कार्यरत छन् । विमर्श, नयाँ झिल्को, बाँकेको युगधारा साप्ताहिकलगायत् राजधानी र मोफसलका हिमाली आवाजसमेतका अनेकौ पत्रिकामार्फत् पत्रकारिता गरेका उनी जागिरे जीवनमा थोरै समयमा धेरै जिल्ला पुगी कार्यालय चलाउनेमध्ये एक हुन । स्पष्टवक्ताका रुपमा चिनिने पौडेल रुखो बोलेकै भरमा पनि कतिपटक दु:ख पाएको गुनासो गर्छन् । प्रस्तुत छ सीधारेखासँगको कुराकानीका आधारमा उनले व्यक्त गरेका विचारहरुको असम्पादित अंश:

“२०६५ सालमा मनाङमा जि.शि.अ. थिएँ । मुस्ताङ सरुवा भयो, त्यो पनि जि.शि.अ. गुमाएर । मुख्य सचिव माधव घिमिरे मुस्ताङ आएको बेला पारी सिडिओले कार्यालय प्रमुखको बैठक गरे । संयोगले म पनि गएँ । उनले सोधे के समस्या छन् ? सब हाकिमहरु मौन, मानिलिऊँ कुनै समस्या नै छैनन जस्तो गरी चुप रहे । मैले भनें ‘समस्या धेरै छन्, सरबाट समाधान हुने कुरामा मलाइ पत्यार छैन तैपनि सर निवृत भएपछि उमेश मैनाली (पुर्व सचिव) का झैं लेख लेख्न काम लाग्छ समस्या सुन्नुस’ भनेर समस्याको फेहरिस्त सुनाइदिएँ । मनाङ्बाट मुस्ताङ सरुवा अर्थात् हिमाल टु हिमाल कुन नियममा छ? शिक्षकहरुको तालिममा खाजा ३५ रुपैया, के आउँछ मुस्ताङमा ३५ ले? सरले सिडिओको पाहुना नभएर किनेर खानुस १ कप रातो चियाको कति पर्छ? अनि ३५ ले हामी के कस्तो खाजा ख्वाउने? लगायतका आधादर्जन समस्या मैले सासै नफेरी सुनाएँ।”

पौडेल शैक्षिक तालिम केन्द्र बैतडीमा कार्यालय प्रमुखको रुपमा आए । बैतडीका बारेमा आफ्नै अनुभव छ उनको । “भन्नेहरु पेलेऊँ भन्दा हुन तर मैले बैतडेली संस्कृति, रहनसहन र त्यहाँका मान्छेहरुमा रहेको निख्खर आत्मीयतासँग साक्षात्कार गर्ने मौका पाएँ । भारतको पिथौरागढ हुँदै दार्चुलासम्म र डडेल्धुराको उग्रतारादेखि डोटीको शैलेश्वरीसम्मको दर्शन गर्ने अवसर पाएँ । यस मानेमा बैतडी मेरो लागि बरदान नै सावित भयो ।”

कार्यालय व्यवस्थापन उनको पहिलो प्राथमिकता हो रे । बैतडीमा आएपछि तालिम केन्द्रमा टेलिफोन, नेटको असुविधालाइ चिर्दै उनले पिनाकल कम्प्युटर एकेडेमीमा दिनहँु ल्यापटप बोकेर जान्थे, बिहानभरि त्यहंी बसेर ल्यापटपमा काम गर्थे । उनी थप्छन् “कुनै पनि प्रशिक्षकहरुसँग ल्यापटप थिएन, बस्नका लागि कुर्ची र टेबुल थिएन र कार्यालयमा टेलिफोन, नेट सबैथोकको अभाव । गजबको अवसर मिल्यो मेरो लागि गंगाजलले सूर्यलाइ अर्घ । सरकारी बजेटमा यी सबै कुराको व्यवस्था गरियो, प्रशिक्षकहरु ल्यापटप पाएकोमा फुलेल भए, आज पनि उनीहरु त्यही ल्यापटप र अफिसकै नेटबाट म सँग च्याट गर्छन् । आफ्नो व्यवस्थापनले दीर्घकालपर्यन्त काम गरेको देख्दा मलाई खुसी लाग्छ ।”

बैतडीमा राम्रैसँग बसिरहेको बेला पर्सा सरुवा भएछ उनको । “जान्न भनांै अर्कोपटक बैतडी टाढा भो भन्न नपाइने जाऊँ काँडामाथि खालिखुट्टा दौड प्रतियोगितामा भाग लिनु जस्तो कठिन परिवेस । ६ महिनाका बीचमा त्यहाँ पनि ल्याण्डलाइन टेलिफोन, एडएिसएलसहित नेट, महिला र पुरुष शौचालयको व्यवस्था मिलाइयो, सहकर्मी साथीहरुको राय र सुझावका आधारमा । एकजना प्रशिक्षक त नियुक्ति भएदेखि त्यो बेला (म जानुपुर्व) सम्म एउटा पनि कक्षा लिएका रहेनछन् । ‘तालिम केन्द्रमा जागिर खानु भनेको तालिम दिनु हो, पढाउनु हो भन्नुस कुन पिरीयड दिऊँ तपाइलाई’ मैले सोधें, त्यसपछि शिक्षण सुधार योजनाको सेसन जहिले पनि उनैको भयो, निकै राम्रो दखलता हासिल गरे उनले यो शीर्षकमा । पहिलोपटक उनलाइ काम दिन पाएकोमा मलाई आजसम्म पनि गर्व छ ।”

उनी अगाडि भन्छन् “अफिसको सेवा सुविधा बाँडेर लिने हो र काम गर्ने मान्छेलाइ साधन र स्रोत दिनुपर्छ भन्ने कुरामा म साधै अडियल रहें । तालिम केन्द्रको प्रमुखबाट हटाइएर रौतहटमा विद्यालय निरीक्षकका रुपमा एकजना आए । म त्यहाँ जि.शि.अ. थिएँ । तपाइसँग ल्यापटप छ कि छैन मैले सोधें । छैन भन्ने उत्तर आएपछि तुरुन्त एउटा ल्यापटप भरपाई गरेर दिन लगाएँ । केही समयपछि मेरो सरुवा भो, उनी पनि त्यहाँबाट सरुवा भएर अन्यत्र गएछन् अस्ति भेट हुँदा गुनासो गरे ‘सरले त शुरुमै ल्यापटप दिनुभएथ्यो, अहिले त गएको वर्षदिन भयो अझसम्म दिएका छैनन सर’ । यही त हो नि अरु र ममा अन्तर मित्र मैले भनें । जुम्ला तालिम केन्द्रमा प्रशिक्षकहरु साधारण फलामे कुर्चीमा बस्थे, विना नेमप्लेट । सबैका लागि नेमप्लेट झुण्डाइयो र घुम्ने कुर्ची सबैको सल्लाहमा व्यवस्था गरियो ।

त्यो बेलाको खुसी आज पनि बिर्सन सकिदैन, अर्थात् पुण्य कामको अवसर मैले नै प्राप्त गरें । जुम्लामै सबै काम ल्यापटपबाट फत्ते गर्ने एकजना सिद्दहस्त प्रशिक्षक रहेछन् । निवेदन धरि कम्प्युटरबाटै टाइप गरी पेश गर्थे । मैले सोधें ‘तपाइको ल्यापटप निकै राम्रो छ नि, कहिले लिनु भएको हो अफिसबाट?’ ‘कहाँ सर यो त मेरो निजी हो नि १० बर्ष भो काम गरेको मैले पनि मागेको छैन अफिसले पनि दिएको छैन’, म अचम्ममा परें उनको जवाफ सुनेर । यतिको काम गर्ने ह्याण्ड्सलाइ साधन नदिनु? मैले जुन ब्राण्ड मन पर्छ त्यही किनेर ल्याउनुस र स्टोर दाखिला गरी सामान बुझ्नोस, घरको साधनले अफिसको काम नगर्नुस मलाइ पाप लाग्छ भन्दै पेश्की दिएँ । नभन्दै उनले टोसिबा कम्पनीको ब्राण्डेड ल्यापटप ल्याए । आज त्यसैबाट अफिसको काम गर्छन् रे ।

मतलब मैले मेरो निजी खर्चबाट एक कप चिया कसैलाइ खुवाउनु परेन तर म्यानेजरका हिसाबले साधन र स्रोतको सही परिचालन गर्ने हो भने स्टाफमा उत्प्रेरणा आउँछ र बढी काम लिन सकिन्छ भन्ने हो । दु:खको कुरा सबैलाइ ल्यापटप दिने म अहिले मेरा लागि ल्यापटप अफिसले दिएको छ कि छैन नसोधिदिनुहोला ।” उनले भावुक हुँदै भने । उनी थप्छन् “वस्तबमा कुनै पनि जि.शि.का. वा तालिम केन्द्र यतिसम्म दरिद्र छैनन जहाँ काम गर्ने हयाण्ड्सलाइ साधन दिन नपुगोस । अर्थात ल्यापटप, टेबुल वर्करका लागि २ कप रातो चिया र आवश्यक परेको बखत ल्याण्डलाइनबाट फोन गर्न (अफिसियल) मिल्ने र पुग्ने रकम सरकारले व्यवस्था गरेकै हुन्छ । तैपनि कतिपय अफिसमा हाकिमले कतिबेला चिया अर्डर गर्ला र उसको कोठाभित्र छिरौला भनेर बस्नु पर्ने अवस्था नआउनु पर्ने हो । टेलिफोनको साँचो जनैमा लुकाउन पर्ने अवस्था कुनै पनि अफिसको छैन, समस्या नियतिको नभएर नियतको हो ।”

निजामतीको आफ्नै मूल्य मान्यता र समय सीमा हुन्छन रे । उनी भन्छन् “कुनै पनि कर्मचारी भोलि म पनि ५८ पुग्छु र त्यो बेला जनता नै हुने हो भन्ने सोच राख्ने हो भने सार्वजनिक प्रशासन र यसका सेवा प्रदायकहरु सदैव आदरणीयमा दर्ज हुन्थे तर म सालाखाला मान्छेभन्दा पृथक हुँ भन्ने तमकका कारण निजामतीको सेवा निवृत जीवन कष्टकर बनेको पाइन्छ । एउटा शिक्षक, प्राध्यापक वा डाक्टर निवृत पछि पनि उत्तिकै सम्मानित हुन्छ जति सेवामा छँदा थियो, तर निजामतीलाइ निवृतपछि मरेको मान्छेलाइ जुम्राले छाडेसरह सबैले छाडछन् किन? यसको उत्तर सेवामा छँदै खोज्ने हो भने कुनै पनि पद ठुलो र सानो हुन्नँ, कुनै पनि संगठनमा विवाद देखिदैन र आदर्श प्रशासन त्यहाँ लागु भएको देख्न सकिन्छ । तर थोरै मान्छेहरु मात्र यसो गर्छन् ।

अफिसको गाडी, क्वाटर, आएको लजिष्टिक सपोर्टको बजेट वा कार्यालय व्यवस्थापनका कुरा एकजना व्यक्तिको स्वविवेकमा टुंगिने परिपाटी नै आत्मघाती प्रवृत्ति हो, जसले ५८ बर्षसम्म त कोले देला, तर ५८ पछि यही ठाँट, ऐस, आराम वा रवाफ प्राप्त हुन नसक्दा औसत जीवनसमेत बाच्न नपाएका दृष्टान्त धेरै छन ।”

अचम्मको कुरा त के पाइयो भने आफू म्यानेजर हुँदा सबैका लागि घुम्ने कुर्ची र ल्यापटपको व्यवस्था गरेकोमा फुलेल हुने पौडेल स्वयं आफू भने समान्य काठे कुर्चीमा बसेको र कम्प्युटरको अभावमा हस्तलिखित उपाय अप्नाएको पाइयो । आखिर किन यस्तो? रकमको अभाव वा म्यानेज गर्ने सीपको अभाव? अर्थात् नियति कि नियत? हामी यस प्रश्नको उत्तर क्रमश: खोज्दै जाने छौ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)