डोट्याली भाषाको राठपाठ खोज्दै गर्दा

मा प्रकाशित


जगदीश ओझा

‘डोटी रामडो डडेल्धुरा अछाम रामडो साँफ्या
मुलाइपन उडाइ लैजा साइपालका डाँफ्या’ ।
माथि उल्लिखित उक्ति कुनै एक व्यक्तिको नभएर एक इतिहास, एक भूगोल र एक लोक साहित्यको नमुना हो । डोटी अहिलेको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको एक जिल्लामात्रै होइन, डोटी (डोटी खोला) डडेल्धुराको एक गाउँमात्रै होइन यो एक इतिहास अनि एक संस्कृति बोकेको क्षेत्र पनि हो । सामाजिक संस्कृति बोकेको क्षेत्र पनि हो । यस क्षेत्रको आफ्नो पहिचान छ । प्राकृतिक रूपले सुन्दर क्षेत्र, जसको ऐसितहासिक साँस्कृतिक सीमाङ्कन गर्दा गौरा र डेउडाको सम्बन्ध जोडिन्छ, हिन्दूत्व संस्कार अनि प्रकृतिसँगको प्रगाढता समेटिन्छ । भूगोल हेर्दा दक्षिणको २० कोशे मैदान, उत्तरको अपी नाम्पाको सिरान अनि काली कर्णालीको सिञ्चन क्षेत्र (भूखण्ड) लाई ऐतिहासिक डोटी राज्यले सङ्केत गर्दछ, जसको केन्द्र कुनै बेला डोटी÷डडेल्धुरा थियो ।

आफ्नै भाषा, भेष अनि परिवेशमा हुर्कँदैको मानवीय संचारको माध्यम भाषा हो । यसै क्षेत्रमा सौरसेनी प्राकृत हुँदै विकसित भाषा जसले सम्वत् १०३८ का दामुपालका अभिलेखबाट लेख्य स्वरूप प्राप्त गरेको भाषा हो– डोट्याली । डोट्याली लोक जीवनको एक समृद्ध भाषा हो, यसले यस क्षेत्रको संस्कृतिलाई एक हजारभन्दा बढी वर्षदेखि अघि बढाउँदै आएको छ । सिँजाली र कुमाउनी भाषासँग निकटतम सम्बन्ध भएको यो भाषा आफँैमा एक स्वतन्त्र अस्तित्व जोगाउँदै बाँचेको लोकभाषा हो । नेपाली भाषाको प्रतिशत घट्ने मानिसकता अनि वर र पर पश्चिमाको हेराइबाट हेपिएको अनि राज्यसत्ताबाट केही संरक्षण नपाउनु अनि अर्काको भाषा बोल्दा ठुलो ठहरिने अर्कालाई फैलाउन सहयोग गर्नुमा सान र आफ्नो प्रयोग र फैलाउने प्रयास सङ्कीर्ण ठान्ने आन्तरिक प्रवृत्तिको सिकार भएको यस भाषाले विगत ३० वर्ष यता र खास गरी २०४७ को परिवर्तनपछि मात्रै राष्ट्रिय भाषाको मान्यता पाएको देखिन्छ ।

विगतमा भाषिक भेद हटाउने विद्वान्हरूले टाकुराका आवाज मात्रै चियाए उकाली ओराली अनि गाड र लेक डुल्न पाएनन् अझै पनि डोटेलीको अस्तित्व स्विकार्नुभन्दा पनि नेपालीको प्रतिशत बढाउने चक्करमा धेरै छन् । नेपालीको भाषिका नै हो भन्ने हो भने पनि हामीले आफ्नो भाषा बोल्दा पाखे भनी गिज्याउने अनि ‘सुन त, यिनीहरू बङ्गाली हो कि कुन भाषा बोल्दै छन् भन्ने प्रवृत्तिले अझै प्रश्न तेस्र्याउँछ ‘यहाँ त गाउँ गाउँमा अलग अलग भाषा बोलिन्छन् कुन हो तपाईँको डोटेली ?’

डोट्याली ऐतिहासिक डोटी क्षेत्रको भाषा हो, भाषा विज्ञान अनुसार यसको मूल स्वरूप र संरचना एकै भेटिन्छ भने स्थानीय भेदको प्रश्न कसरी उब्जिन्छ ? पाल्पा, इलाम, रौतहट अनि सोलुको नेपाली एकै छ त ? अहिलेसम्म हामीले कथ्य भाषा मात्रै बचाउन सक्यौँ । हालैमात्र हामी लेख्यतिर लाग्दैछौँ अहिल्यै यो नै यसको मानक÷स्तरीय रूप हो भनी किटान गर्नुभन्दा पनि संरक्षण र विकासका निम्ति हात चलायौँ भने मानक रूप बन्दै गर्छ । त्यसै पनि कुनै पनि भाषाको एउटै रूप सधैँका लागि वा चीरस्थायी हुँदैन । दिव्योपदेशको नेपाली र शिरीशको फुलको नेपाली उही छैन ।

अङ्ग्रेजी हिन्दी, वा नेपालीसँग हामीले आफ्नो मातृभाषाको तुलना गर्नु अन्याय हुन्छ, अर्खी भाषा इतिहास हामीले पढ्यौँ, अर्काको शब्दकोशका पन्ना चहा¥यौँ, अर्काको व्याकरणका सूत्र रट्यौँ, उसको सेकोटेको ग¥यौँ, खै आफ्नोको लागि के ग¥याँै ? ‘हमरी भाषा अर्खोलै पडिदेऊ’ भन्ने कति वेला चितायौँ, हामी भन्न सक्थ्यौँ– ‘हाम्रो भाषाको आफ्नो इतिहास छ, आफ्ना भाषिक विशेषता छन् आफूलाई चाहिने जति लोक साहित्यको भण्डार छ, संस्कृतिसँगको अटुट सम्बन्ध छ । खै कति वेला हामीले यो अभिव्यक्ति दिन सक्यौँ त ?’

हाम्रो गाउँ गर्खाहरूको बोलीमा फरकपन छ तर बुझ्छौँ नि, केही शाब्दिक र उच्चारणगत विभेद भाषिकागत भेद होइन र ? आधुनिक लेख्य साहित्यको कुरा गर्दा बल्लतल्ल त हामी ‘गरगुली’ लाउँदै छौँ भने ‘एक ठाउँ बसी त्यही फन्को मारी गोड्दा पुरै आरी गोडिँदैन’ पाइला चाल्नु पर्दछ । कथ्य रूपमै दोस्रो भाषी मान्छेका सामु मातृभाषाको प्रयोग गर्न लजाउनु, हिच्किचाउनु वा के पो भन्छन् भनी सोच्नु आफ्नै हीनताबोध होइन र ?

आफ्नो भाषा, संस्कृति जोगाउने अधिकार सबैसित हुन्छ, जसलाई विस्तारवादी वा साम्राज्यवादीका रूपमा हामी सरापी रहन्छौँ, उसैको भाषा संस्कृति प्रयोग गर्नुमा शान ठान्छौँ यो कस्तो प्रवृत्ति हो ? आमाको दुध पिउनेले आमाप्रति नै गौरव गर्न नसक्नु राम्रो कुरा पक्कै पनि होइन । विश्व बन्धुत्वको संस्कार मात्रै हो, ज्ञान विज्ञान र प्रगतिका लागि एक आपसी लेनदेन वा सहकार्य आवश्यक हुन्छ । यसै सन्दर्भमा डोट्याली व्याकरणका रचयिता स्व.देवराज शर्माको भनाइ सम्झनै पर्दछ –

सिक्छु संसार कि भाषा अफनि उन्नति गद्दु हो ।
विसद्दु दजु कि भाषा डुब्दू, बुड्डू उजड्दु हो ।।
पहिलेको कुरा गर्दा त संस्कृत र अङ्ग्रेजी एउटै मूलका थिए । संस्कृतबाटै धेरै प्राकृत भाषा बने । डोट्याली, कुमिया, गडवाली सिँजाली एकैजस्ता थिए । पछि आएर यी भाषाहरूले आआफ्नो क्षेत्र निर्माण गरे, हिन्दीको नजिक भए पनि कुमाउनी वा गड्वाली भाषा हिन्दी भाषा हो भनिँदैन, डोटेली र सिँजाली दुबैको नेपाली तद्भव हो तत्सम हुन मौलिक संरचनामा ठुलो विभेद देखिनु हुन्नथ्यो, नेपालीको इतिहासका लेखकहरूले लेख्दा वा भन्दा डोट्यालीको अस्तिवलाई टाढै राखेको देखिन्छ ।

हालै को कुरा खरखर नेपाली बोल्ने नेपालमा मात्रै होइन बी.बी.सी. रेडियोमा समेत बोल्ने एक जना मित्रले छलिया नाच हेरे, देउडा हेरे ,खेल्न पनि प्रयास गरे, ज्यादै राम्रो लाग्यो पनि भन्न बाँकी राखेनन् तर छलियाको छेउटो र देउडाको गीतमा के भनियो भावार्थै पनि बुझ्न सकेनन् भने उनले डोट्याली भनेको नेपाली भाषा नै हो भन्न मिल्दैन।

सम्वत् १०३८ माइ दामु पालले लेखन्जा होस् कि १२४३ आदित्य मल्ल, सम्वत् १२७५ निरैपाल –कुमाउ बत्युल) वा १२८४ का डोटी उजली गाउँका अभिलेखको कुरा गर्दासम्म यस भाषाले मूर्तरूप लिइसकेको र त्यहीँबाट अगाडि बढेको नेपाली वर्तमान स्वरूपसँग डोटेलीको स्वरूप संरचना समान छ भन्न मिल्दैन । उसो त केही वर्षअघिसम्म नेपाली भाषाको व्याकरण शब्दकोश संस्कृतकै बाहुल्यतामा अडेको थियो तर नेपाली संस्कृत भाषा त भनिदैनथ्यो ।

वि.स. २०५७÷३÷९ सम्म पुग्दा भाषिका भेदका रूपमा छरिएको भए पनि राष्ट्रिय भाषाका रूपमा यसको अस्तित्व स्वीकारिएको छ । भाषिक आन्दोलनले एक खुट्को काटिसकेको छ, भाषिक आधार खडा गर्न साहित्य सिर्जना, व्याकरण लेखन, शब्दकोश निर्माण आम सञ्चारमा पहुँच भाषिक साँस्कृतिक क्षेत्र विस्तार एवम् प्रकाशनमा आएको गतिशीलतामा मूल्याङ्कन गर्न सकिने भएको छ । वर्तमान सन्दर्भमा डोट्याली भाषा संस्कृति एक आधारका रूपमा खडा भइसकेको छ “काली कर्णाली भोट मधेश एक प्रदेश’ को नारा घन्किन सक्छ या हामी पनि ‘स्वायत्त डोट्याली गणराज्य’ को माग उठान सक्छौँ, भाषिक साँस्कृतिक एक रूपता र भूगोलका हिस्साहरूबिचको सह सम्बन्ध राज्य पुनः संरचनाको महत्त्वपूर्ण पाटो हो ।

यस भूखण्डले नेपाली भाषा दिन सकेको छ, त्यसको संस्कृतिमा अहिलेसम्म जति योगदान दिन सकेको छ । त्यसको सोधभर्ना सुदूर पश्चिमले खोजेको छ र हामी आफँै न उठ्दासम्म स्वतः राज्यले हेर्दछ भन्ने कुरा नसोच्दा हुन्छ । पिछडिएको भाषालाई राज्यले पहिलो प्राथमिकतामा नराख्ने र बचेको हिस्सा लगाउने हो भने वा विखण्डित पार्ने हो भने एउटा अर्को आन्दोलनको जरुरत पर्ला ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: