स्वास्थ्य मुल्यांकनमा सुदूरका ५ जिल्ला उत्कृष्ट दशमा

मा प्रकाशित


बिरा गडाल
बैतडी, चैत ४  स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७१÷०७२ मा कार्य सम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा अछाम, बैतडी, कञ्चनपुर, डोटी र बझाङ्ग उत्कष्ट दशमा परेका हुन ।

देशभरमै पाल्पा गत बर्ष झै पहिलो स्थानमा रहेको छ । ७ नम्वर प्रदेशका ९ जिल्ला मध्ये अछाम ८८ दशमलव १ अंक प्राप्त गर्दै दोस्रो,बैतडी ८६ दशमलव ८ अंक ल्याउदै चौथो, ८५ दशमलव ८ अंक ल्याउदै कञ्चनपुर सातौं, ८५ दशमलव ६ अंक ल्याउदै डोटी आठौं र ८५ दशमलव २ अंक ल्याउदै बझाङ्ग नवौ स्थानमा रहेका छन ।

गत बर्षको तुलानामा अछाम चार स्थान माथि उक्लदै दोस्रो स्थानमा छ । गत बर्षको कार्य सम्पादन मुल्यांकनमा छटौं नम्वरमा थियो । बैतडी गत बर्ष १५ औ स्थानबाट माथि उक्लेर चौथो स्थानमा पुगेको हो । कञ्चनपुर गत बर्ष २२ औ स्थानम थियो । यो बर्ष उक्लेर सातौं स्थानमा पुगेको हो । डोटी गत बर्ष १९ औं नम्वरमा थियो भने यो बर्ष आठौं स्थानमा पुगेको छ । यस्तै गत बर्ष २५ औ स्थानमा रहेको बझाङ्ग यो बर्ष नवौ स्थान पुग्न सफल भएको छ ।
गत बर्ष उत्कृष्ट दशमा अछाम र डडेल्धुरा मात्रै परेका थिए । गत बर्षको मुल्यांकनमा आठौं स्थानमा रहेकोे डडेल्धुरा यो बर्ष ३१ औं नम्बरमा रहेको छ । गत बर्षको तुलनामा उप्त जिल्ला पछि परेको हो ।

सुदुरका अन्य जिल्लाहरु बाजुरा १९ आंै, कैलाली २४औं, दार्चुला २७ औं, डडेल्धुरा ३१ औ नम्बरमा रहेका छन ।

कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यालयमा उपस्थिति, रिपोर्टिङ, लगायत मुल्यांकन टोलीले तयार पारेको ३५ वटा सूचकबाट प्राप्त अंकका आधारमा उत्कृष्ट जिल्ला छनोट गरिएको हो । कार्य सम्पादन मुल्यांकनको आधारमा डोल्पा सबैभन्दा कमजोर जिल्लाको रुपमा रहेको छ । उत्कृष्ट दशमा सुदुरका ५ जिल्ला बाहेक पाल्पा, म्याग्दी, दाङ, काभ्रे र सुर्खेत परेका छन ।

सुदुरपश्चिमका सबै जिल्लाले स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरिरहेको क्षेत्रिय स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९ जिल्ला मध्ये देशभरमै उत्कृष्ट दशमा पाँच जिल्ला पर्नु सुदूरका सबै स्वास्थ्य संस्थाले गुणस्तरिय स्वास्थ्य सेवाको लागि चालेको कदम भएको क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत बन्दना भट्टले बताइन । पुर्णखोप, पुर्ण संस्थागत सुत्केरी नमुना स्वास्थ्य जिल्ला लगायतका क्रियाकलापमा सक्रियताले उत्कृष्टता हासिल गरेको उनले बताइन ।

सुदूरका सबै जिल्लामा प्रायः बिशेषज्ञ बाहेकका अन्य सबै दरबन्दी पुर्ण छन । जिल्लाको नेतृत्व गरीरहेका स्वास्थ्य प्रमुखहरु पनि केही गरौ भन्ने जोश जागर बोकेकाले उत्कृष्ट दशमा पाँच ओटा जिल्ला पर्न सफल भएको जनस्वास्थ्य अधिकृत भट्टले बताइन ।

हरेक जिल्लामा गुणस्तरिय स्वास्थ्य सेवाको लागि स्वास्थ्यकर्मीहरु अहोरात्र खटिएको क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका क्षय–कुष्ठ निरीक्षक मजोज ओझाले बताए । यस अघिका क्षेत्रिय स्वास्थ्य निर्देशक परशुराम श्रेष्ट पनि प्रत्येक जिल्लामा गई अनुगमन गर्ने र सुधार गर्नुपर्ने ठाँउमा सुझाव सल्लाह दिन सधै तयार रहने भएकोले पाँच जिल्ला उत्कृष्ट दशमा परेको क्षय–कुष्ठ निरीक्षक ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: