स्वास्थ्य क्षेत्र सुधारका लागि एक घर एक दिन एक रुपैया बचत अभियान संचालन हुने

मा प्रकाशित


भगीरथ अवस्थी
बैतडी, फाल्गुन २४, बैतडीको स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर प्रयासमा लागि रहेको जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नयाँ अभियानको शुरुवात गर्ने भएको छ ।

स्वास्थ्य सुधारका क्षेत्रमा सबै नागरिकलाई हिस्सेदार बनाउन एक घर एक दिन एक रुपैया बचत अभियान शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको मुख मात्र ताकेर नहुने भएकाले स्थानीय नागरिकलाई त्यसमा सहभागि गराउन यो अभियान शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

जिल्लामा रहेका प्रत्येक घरधुरीमा प्रति दिन एक रुपैया बचत अभियान संचालन गरेर संकलन भएको रकमलाई स्वास्थ्य क्षेत्रको सुधारका लागि खर्च गर्ने गरी नीति बनाइने उहाँले बताउनुभयो । स्थानीय स्वास्थ्य संस्था र गाविसको सहकार्यमा अभियानलाई अगाडि बढाउने सोच बनाएको उहाँले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधि, स्वास्थ्यकर्मी लगायतको अभाव नहोस र स्थानीय आवश्यकता अनुसार स्वास्थ्य सेवा परिपूर्ती गर्न सकियोस भन्ने उद्देश्यका साथ यो अभियान शुरुवातको तयारी भएको हो ।

अभियान संचालनका लागि जिल्लामा रहेका प्रत्येक स्वास्थ्यका प्रमुखहरुसंग छलफल भइसकेको बताउँदै अभियानलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा थप छलफल भइरहेको उहाँले बताउनुभयो । प्रत्येक घरमा बचत गरेको रकम कसरी एकीकृत गर्ने र त्यसलाई कसरी परिचालन गर्ने भन्ने बिषयमा कार्यविधि बनाएर अगाडि बढ्ने आफूले सोच बनाएको उहाँले बताउनुभयो ।

जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने, स्वास्थ्यको नमूना जिल्ला घोषणा गर्ने अभियान शुरुवात भइसकेककाले ती अभियानहरुलाई समेत टेवा पुर्याउन नयाँ अभियान शुरु गरिएको डा. अवस्थीको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले एक दिन एक घर एक रुपैया बचत अभियान संचालन गर्ने तयारी गरेकाले बैतडीको स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण टेवा पुग्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।

यो अभियानमा सबैले सहयोग गरेमा स्वास्थ्य क्षेत्र सुधारका लागि अरुको मुख ताक्ने अवस्थाको अन्त्य हुने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: