चैत महिना शुरुभएसंगै सुदूरपश्चिमभरी भिटौलो गर्ने चलन अनुसार दीदीबहिनीहरुलाई भेट्ने कार्यक्रम जारी रहेको छ । खास गरेर बैतडी, दार्चुलातिर माइती पक्षले दीदी बहिनीहरुलाई भेट्ने चलन रहेको स्थानीय जानकाहरुले बताएका छन् ।
बिहे भइसकेकी छोरी बहिनीहरुलाई माइती पक्षका तर्फबाट दाजुभाईहरुले भेट्ने चलन रहेको छ । पहिला पहिला गहुँको पिठोलाई घिउमा भुटेर भेट्न जाने चलन रहेको भएपनि पछिल्लो समयमा त्यसमा भने परिवर्तन हुँदै गएको दार्चुलाका संस्कृतिप्रेमी गंगासागर जोशीले जानकारी दिनुभयो ।
चैत महिनाभरी अनिवार्य रुपमा दीदी बहिनीलाई भेट्नै पर्ने चलन रहेको उहाँले बताउनुभयो । यो महिनाभरी एकरात दीदी बहिनीको घरमा बास बस्ने गरेर भेट्ने चलन रहेको उहाँले बताउनुभयो । यसले दाजुभाई र दिदी बहिनीको सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने जोशीको भनाई छ ।
दाजुभाई नभएकाहरुका दीदीबहिनीहरुलाई नजिकका दाजुभाईहरुले भेट्ने चलन रही आएको छ । अहिले ग्रामिण क्षेत्रदेखि शहरी क्षेत्रसम्म दीदी बहिनीहरुलाई भेट्न जानेको चहल पहल बढेको छ ।
भिटौलो संस्कृति आत्मीय सम्बन्ध बढाउने चलन भएकाले यसलाई संरक्षण र विस्तार गर्नुपर्नेमा संस्कृतिका जानकारहरुले बताएका छन् ।