कथा र कहानीमा मात्र सिमित डुङ्ग्राकोट राज्य

मा प्रकाशित


नारायण भण्डारी
बैतडी जिल्लाको पाटनमा अबस्थित डुग्राकोट राज्य संरक्षणको अभाबमा ओझेल पर्दै गईरहेको छ । समयमै यसको संरक्षण हुन् नसकेका कारण यस क्षेत्रमा संरचना पूर्णरुपमा बिलिन हुदै गईरहेका छन् । प्राथमिक स्रोतहरुको संरक्षण समयमै गर्न सकिएन भने बचेका स्रोतहरु पनि नष्ट हुने अवस्थामा छन् ।

नारायण भण्डारी
नारायण भण्डारी

इतिहास लेखनकार्य त्यति सहज छैन् जति इतिहासलाई विगतको खाली स्मरण मात्र मान्ने गरिन्छ, यदि यसका लागि प्राथमिक स्रोतको संरक्षण नगर्ने हो भने माध्यमिक स्रोतको आधारमा मात्र प्रमाणित गर्न एवम् विश्वासनीय बनाउन गाह्रो हुने मात्र नभई भावि सन्ततीका लागि इतिहास मेटिन पुग्दछ । यदि समयमै यस राज्यको दरबार क्षेत्रको संरक्षण गरिएन् भने अहिले बचेका केहि प्राथमिक स्रोतहरु हराएर, मेटिएर जाने सम्भावना छ ।

नेपाल सिंगो मुलूक विभिन्न स–सना राज्यमा विभाजित हुने क्रममा कर्णाली र गण्डकी क्षेत्र बाइसी, चौबिसी राज्यमा खस राज्य टुक्रिन गएको कुरा इतिहासका पानाहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ ।

इतिहासमा उल्लेख भई आए अनुसार बाइसी राज्यहरु मध्ये शक्तिशाली राज्यको रुपमा रहेको हालको डोटी जिल्ला तत्कालीन राज्यको मौसमी राजधानीका रुपमा रहेको दिपायल, अजैमेरु, उकुबाकु, जोराईल बाहेकको प्रमुख विशेषता बोकेको तर इतिहासमा नाम मात्र उल्लेख गरिएको वर्तमान अवस्थामा पनि उक्त राजधानीको स्थलगत अध्ययन गर्न सकिने तर स्रोत साधनहरु उल्लेख नभएको पाईएतापनि विभिन्न कथा कहानीको रुपमा मात्र सीमित रुपमा रहेको डुग्राकोटलाई परिचित गर्न खोजिएको छ । डोटी राज्यका संस्थापक राजा निरपाल भएको र अन्तिम राजा दीप शाह थिए ।

एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरुको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरुमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरुको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रुपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रुपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ ।

शैनिक किल्ला
शैनिक किल्ला

१४ हजार ७ सय घर भएको डोटी राज्य जुम्ला पछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरुमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ । यो ऐतिहासिक स्थल पाटन न.पा. वडा नं. १२, महाकाली अञ्चल बैतडी जिल्लामा रहेको छ । विशाल नेपालको एकीकरण पूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.सं. १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्यको इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्राकोटको नै । यस क्षेत्रमा हाल ब्राह्मण (अवस्थी) क्षेत्रीहरुमा कठायत, दलितहरुको बसोबास रहेको छ ।

भण्डारीहरुको यस राज्य संग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन न.पा. कै वडा नं. १३ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, पन्त, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरु रहेका छन् । चन्दहरुको स्वतन्त्र राज्यकायम हुने क्रममा यस डोटी राज्यका शासकको रुपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रुपमा रहेको र तिनीहरुले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरुको प्रयासबाट अन्त्य भएपछि चन्दहरुको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरुमा कठायत, पन्त, भट्टराईहरुले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ ।

dungrakot5
किल्ला र कोटमा जाने बाटो

यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड. हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ । महाकाली अञ्चल, बैतडी जिल्ला पाटन न.पा. वडा नं. १२ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रुपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट ।

त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आबश्यक देखिन्छ । डुग्राकोट डोटीको राजधानी मात्र नभई यसको सम्बन्धमा बैतडी जिल्लाका पाटन भेगमा बस्दै आएका भण्डारी र तिनका सहयोगी कठायत, भट्टराई जातिसंग समेत रहेको छ ।

dungrakot1
सुरुंग

प्रसंगबस डोटी राज्यका तत्कालीन शासक शाहको अस्तित्व समाप्त भएपछि दीप चन्द, खीप चन्द (खेम चन्द) ले समेत मौसमी राजधानीको रुपमा स्थापित डुग्राकोटमा नै बसोबास गर्ने गरेको र सो कोटका मन्त्रीको रुपमा रहेका भण्डारी बीचको बैमनुष्यतालाई घटना र क्षेत्रसंग जोडिएको थियो ।

नेपाल राज्यमा बाईसी, चौबिसी राज्यको बिलिन हुनु पूर्व डुग्राकोटका शासकका पहरेदारको रुपमा स्थानीय पाटन न.पा. वडा नं. ११ मा बस्ने पहरी र नगाडीबाटा बस्ने भट्टहरुको सहयोगीका रुपमा भूमिका रहेको प्रसंग पनि आफ्नो ठाउंमा महत्वपूर्ण नै देखिएको थियो ।

खीप चन्द तत्कालीन शासकको रुपमा डुग्राकोटमा बस्ने क्रममा एक दिन स्थानीय जलेवा माझीले सुर्नणागाडबाट माछा मारेर कोटमा राजाको दर्शन गर्न गएको र माछा दिए बक्सिस पाउने प्रलोभनमा उक्त माछा राजाको दरवारमा दिए पछि माछा सफा गर्दा माछाको पेटमा लामो सुन्दर कपाल निस्किएको थियो ।

कपाल निकै सुन्दर भएको र त्यसमा पनि निकै लामो कपाल देखेर खीप चन्द अचम्मित भए र यति राम्रो लामो सुन्दर कपाल भएकी आईमाई को रहेछन् पत्ता लगाउनु पर्यो भनि आफ्ना सहयोगीहरुलाई अह्राएका थिए । उक्त कपाल आफ्नी दरवारकी मन्त्रीकी श्रीमतीको भएको थाहा पाए पछी मन्त्रीलाई मार्न लगाएर भण्डारीको गर्भिणी श्रीमती लाई विबाह गर्न सोच राख्न पुगे ।

dungrakot3
सुरुंग

उता मन्त्रीलाई मारेको र निजका एक मात्र छोरा र ती लामो कपाल भएकी महिला निजकी आमा भएकोमा योजना बनाएर राजाले छोरालाई शिकार खेल्न डोटी लगेको थियो । पछि डुग्राकोट फर्किने बेलामा निज भण्डारीको हत्या गरि मृगको मासु लिएर फर्केकोमा पाप धुरीबाट कराउंछ भने झै राजाले आफ्नो राज्यबाट फिर्ता भएपछि त्यहांका भद्र भलादमीहरुलाई दरवारमा खान बोलाउने चलन रहेकोमा खीप चन्द श्री भण्डारीकी रानी र स्थानीय भलादमीहरुलाई दरवारमा निम्तो पठाएका थिए । भण्डारा (भोज भतेर) खाने बेलामा मृगको मासु भन्दा अर्को मासु मीठो भएको कुरा भण्डारीको रानीले भन्दा खीप चन्दले किन राम्रो नहोस् भनेर मासु देखाउन खोज्दा आफ्नै छोराको हातको औंलामा रहेको औंठीबाट चिनेको र छोरालाई मारेर मासु खुवाएको रहेछ भन्ने थाहा पाएछ ।

आफ्नो श्रीमानलाई पनि मारि सकेको र छोरालाई पनि शिकार खेल्ने निहूमा लगी मारेकोले आफ्नो बंश समेत नाश हुन लागेकोमा के गर्ने भनि निज भण्डारीकी रानीले आफ्ना माईती भनिने कठायतहरुलाई सो सम्बन्धमा छलफल गर्न लगाएकोमा कचहरी बसेको कुरा खीप चन्दले थाहा पाएको हुंदा उनी राति नै कोटबाट भागेर पाटन न.पा. वडा नं. ११ नगाडीबाडामा बसेको र राति त्यहि भोज खुवाएको रहेछ ।

स्थानीय भट्टराई जाति प्रत्येक दिन गाउं गाउंमा श्लोक भन्दै अन्न माग्दै जाने चलन रहेकोमा संजोगबश उक्त दिन नगाडीबाडा पुगेको र आफ्नो लठ्ठी मलको थुप्रो (पर्साको खात) मा गाडेकोमा गाउंबाट फर्किदा लठ्ठी समात्न खोज्दा लठ्ठीसंगै पात्लो (टपरी) आएकोले निजबाट खीप चन्द नगाडीबाडामा बसेको रहस्य खुल्न गएको थियो । यसरी आफ्नो बारेमा जानकारी भएकोले सहयोग जुटाउंदै खीप चन्द भट्टराईकै पानि घट्टमा लुक्न पुगेकोमा कठायतहरुले खीप चन्दलाई मारेको र निजकी श्रीमती बच्चा पाउने अवस्थामा रहेकोमा निजलाई समेत दरवारमै भाला रोपी मारि दिएको थियो ।

dungrakot2
सुरुंग

उता दीप चन्दको यस सम्बन्धमा खासै भूमिका नदेखिएकोमा आफ्ना वैरीको रुपमा राख्न हुन्न भन्ने सल्लाह अनुसार मृग आएको बहाना गरि दीप चन्दलाई दरवार बाहिर निकाल्ने योजना भण्डारी खेमाले बनाएकोमा योजना अनुसार नै मृग आएको हल्ला गर्दै मार मार भन्ने आवाज दरवार नजिक खैलाबैला भएको सुनेर शिकार खेल्न तम्सिने दीप चन्द पनि दरवारबाट बाहिर निस्किएको तर निजकी रानीले बाहिर ननिस्कनु भन्दा भन्दै दीप चन्द बाहिर निस्केका थिए । केहीबेर पछी आफ्ना पतिको हत्या भएको देखेर रानी पनि बहोस भई मृत्यु भएको थियो ।

अब शक्तिशाली भण्डारी कठायतबाट चन्दका आसेपासेहरु डराएकोले उनीहरु तहांबाट अन्यत्र गएका थिए । श्रीभण्डारीकी रानीले मार फर्काउन लागेकोमा कठायतहरुलाई आफ्नो दरवारदेखि डुगरा (डुङरा) सम्मको भूमि दिएको कुरा स्थानीय पाटन न.पा. 12, मा बस्ने कठायतहरुले नै भन्ने गरेको पाईएको छ ।

यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए । पहिला देखि नै यस कोटको नजिकै चिहान रहेको थियो र दरबारको नजिकै चिहान हुादा राती साझ आफुलाई अप्ठेरो भएको कुरा राजाले आफ्ना ब्राह्मणलाई राखेको थियो । पन्त ब्राह्मण तन्त्रमन्त्र पनि गर्दथे र उक्त चिहानलाई अन्तै सारी दिन भनि पन्त ब्राह्मणलाई भने पछि तन्त्र मन्त्र द्धारा स्वर्गेनीपिपलमा रहेको चिहानलाई सराई हाल रहेको तिपरीगाढ भन्ने ठाउमा पुर्‍याएको कुरा सुन्नमा आउछ ।

यस घटना र क्षेत्रका बारेमा इतिहासमा केवल डुग्राकोटलाई मौसमी राजधानीको रुपमा उल्लेख गरिएको र शाह पश्चात्का शक्तिशाली शासकहरुमा चन्दको स्थान माथि रहेको पनि उल्लेख भएको पाईएको छ भने केवल मौसम अनुसार स्थान फेर्दै ऐस आराम गर्ने स्थलको रुपमा मात्र प्रयोग भएकोले पनि त्यत्ति चर्चामा रहेको नदेखिए तापनि यसको आफ्नै महत्व रहेको कुरा भने बृद्धहरुको भनाई र उक्त कोटमा निर्माण भएका सुरुड्डलाई हेर्दा सत्य तथ्य कुरा विश्वास गर्नु पर्ने देखिन्छ ।

dungrakot4
पाटन न.पा. ११ नगरबाटामा दीप चन्दको स्मृतिमा बनाईएको मन्दिर

यो घटनामा त्यति चर्चामा नरहेको तर मारिन पुगेको दीप चन्दको स्मृतिमा बनाईएका मन्दिर (पिजास) स्थापना गरिएका छन् र जसले चन्दहरुलाई सताएका थिए, उनीहरुले नै ती मन्दिरमा पूजा गर्ने गरेको आजसम्म पनि प्रचलन रहेको छ । अत: पछि नेपालको एकीकरण भएपछि यी मौसमी राजधानीको खासै अस्तित्व नरहेको भए तापनि ऐतिहासिक महत्व भने उकुबाकू, अजैमेरु, दिपायल, डुग्राकोट, जोरायलको अस्तित्व लोप गएको देखिएको पाईदैन् ।

डुङग्राकोटकै नामबाट यहांको गाउं तथा खोलाको नाम राखिनुले पनि यस सम्बन्धमा थप जानकारी दिलाउछ । हाल त्यस कोट क्षेत्रमा भण्डारीकी कुनै पनि स्वास्नी मान्छे नजाने गरेको र किन हो भन्दा पहिला श्रीभण्डारीकी रानीलाई तत्कालीन राजाले विबाह गर्ने योजना बनाएको र मन्त्रीलाई मारेकोले उक्त कोटमा नजाने चलन रहेको हो भन्ने गरिन्छ ।

तत्कालीन समयमा कोटमा पहरेदारको रुपमा रहेका पहरीहरुले हाल उक्त कोटमा भोग चलन गर्दै आएको देखिन्छ ।

  1. भग्नावशेषको रुपमा सुरुड्डहरु देख्न सकिने अवस्थामा रहेको पाईन्छ ।
  2. आसपासका गाउं तथा स्थानीय बग्ने खोलाको नाम क्रमश: सुन्दरकोट, डुग्राकोट, कोटखोला राखिएको पाईन्छ ।
  3. किल्लाको रुपमा प्रयोग गरिएका ऐतिहासिक स्थलहरु जस्तै महत्व बोकेको र चारैतिरबाट सुरक्षित रहेको पाईन्छ ।
  4. चन्दहरुको आपपासका गाउंहरुमा बस्ती भएकोले पनि आवश्यक परेमा सहयोग लिन सजिलो होस भनि मौसमी राजधानीको रुपमा छनोट गरेको पाईन्छ ।
  5. यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए ।
  6. दिपायल, अजैमेरु, जोरायल, उकुबाकूको तुलनामा रमणीय स्थल टापू भएको देखिन्छ ।
  7. दीप चन्दको स्मृतिमा मन्दिरको स्थापना गरेको पाईन्छ ।
  8. चन्दहरुलाई आज पनि राजा वा बाब सहेब भन्ने गरेको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: